कर्णाली प्रज्ञा प्रतिष्ठान गठन गर्न सांसदहरुको माग

post-advert

काठमाडौं, २९ पुस । कर्णालीका सांसदहरुले कर्णाली प्रज्ञा प्रतिष्ठान खोल्न सरकारसँग माग गरेका छन् ।

कर्णाली कला संस्कृति प्रतिष्ठानले काठमाडौंको अनामनगरस्थित सम्वाद डवलीमा शनिबार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै सांसदहरुले यस्तो बताएका हुन् ।

सांसदहरुले कर्णाली प्रज्ञा प्रतिष्ठान सरकारी नेतृत्व र रोहवरमा रहनुपर्ने बताएका छन् । शुक्रबार मात्रै मन्त्री पदबाट राजिनामा बुझाएका पूर्व उर्जामन्त्री महेन्द्र बहादुर शाहीले प्रदेश नम्बर ६ को राजधानी सबैलाई पायकपर्ने र उचित स्थानमा बनाउनेमा आफू रहेको स्पष्ट पारे ।

उनले भने, ‘प्रदेश नम्बर ६ को राजधानी उचित स्थान र सबैलाई पायकपर्ने स्थल रोज्नुपर्छ, अब कर्णालीबाट हरेक राजनीतिक दलको मूख्य भूमिकामा आउनुपर्छ, कर्णालीको विकास र समृद्धिको लागि कर्णालीकै जनताले ईच्छाशक्ति देखाउनुपर्छ ।’

त्यस्तै चुनाव अघिदेखि नै प्रदेश नम्बर ६ का मूख्यमन्त्रीका दाबेदारका रुपमा चिनिएका माओवादी केन्द्रका नेता एवम् सांसद नरेश भण्डारीले कर्णालीलाई भोक, रोक र शोकको प्रायबाट मुक्त गर्नुपर्नेमा जोड दिए ।

उनले भने,‘कर्णालीलाई चिन्नको लागि दुख, अभाव र गरिवीजस्ता विम्वहरु प्रयोग गर्ने गरिन्छ, कथाकार, उपन्यासकार, गीतकारले कर्णालीको दुःखमात्रै देख्नेकाम गरेका छन्, आगामी दिनहरुमा कर्णालीलाई सुख, समृद्धि, सम्पन्नता र ऐतिहासिकताको पाठ लेख्न बाध्यपार्नेमा हामी सांसद लाग्नुपर्छ।’

त्यस्तै कार्यक्रममा डा.दीपेन्द्र रोकायले कर्णालीका सांसदहरुको संख्या सन्तोषजनक भएको भन्दै सिँहदरबारमा कर्णालीको अधिकारको बारेमा बलियो तरिकाले सम्वाद गर्नुपर्ने सुझाव दिए ।

उनले भने,‘मानव सभ्यताको शुरुवात भएको स्थल कर्णाली हो, राष्ट्रगूरु योगी नरहरिनाथको जन्मभूमि पनि कर्णाली हो, उहाँले अलिखित नेपालको ईतिहासलाई लिखितमा उतार्नु भयो, कर्णालीको कला संस्कृति र सभ्यतालाई अमर राख्न सबैले चासो र चिन्ता व्यक्त गर्नुपर्छ ।’

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...