लाखौँ छोरीको जीवन जोखिमको रेखामुनि छः नायिका थापा

post-advert

अन्तर्राष्ट्रिय नारी दिवस सुरु भएको सय वर्ष बितिसक्दा आजको विश्व महिलाका निम्ति कति अनुकूल र कति प्रतिकूल छ, समीक्षाको विषय बनेको छ । महिलाको प्रतिस्पर्धात्मक सहभागिता, समानता, आत्मसम्मान, आत्मनिर्भरता, पहिचान र अवसरजस्ता क्षेत्रमा आममहिला दिदीबहिनी आज पनि संघर्ष गरिरहेका छन् ।

गरिबी, सामाजिक पृष्ठभूमि, राजनीतिक पहुँच र प्रभावका हिसाबले महिलाका चुनौती झनै जटिल बनेका छन् । बाहिर सतहमा हेर्दा महिलाका सवालमा समाज र राज्य प्रणाली सहिष्णु देखिए पनि साँचो अर्थमा महिलाले सम्मानपूर्ण जीवन प्राप्त गर्न अझ थुप्रै सवाल अधुरा र अनुत्तरित नै छन् ।

नेपाली महिलाका सन्दर्भमा व्यावहारिक र नीतिगत कैयन् सुधार र रूपान्तरणका काम अझै बाँकी छन् । मातृ मृत्युदर, महिलाको आर्थिक तथा सामाजिक हैसियत, पहिचान र प्रतिस्पर्धी क्षमता, निर्भरता र विविध प्रकारका हिंसा अन्त्य हुन बाँकी छ । सामाजिक नियमका विभिन्न आयाममा छोरी जन्मेदेखि नै विभेद र विषमता झेल्न बाध्य छन् । बालविवाह, छाउपडी प्रथा, दाइजो प्रथालगायत कुरीतिका साथै समान प्रकारको विकास तथा अवसरबाट वञ्चित हुनुपरेको छ ।

समाजमा छोरी बन्ने बनाउने तालिम र उनको जीवनलाई एउटा परम्पराको दायराभित्र जिउन सिकाउने सामाजिक मान्यता विद्यमान छन् । यही विद्यमान परम्परा सामाजिक संस्कार र मान्यताको दृष्टिबाट छोरी र महिलाको भविष्य अन्दाज गर्ने हो भने लाखौँ छोरीको जीवन अहिले पनि सम्भावित जोखिमभित्रै छ ।

सामाजिक र राजनीतिक क्षेत्रमा परिवर्तनका कैयन् सवालमा महिलाको पक्षमा अनुकूल नीति तथा कार्यक्रम आए पनि गरिब र विपन्न महिलाका व्यावहारिक सवाल अनुत्तरित नै छन् । जीविकोपार्जन तथा रोजगारीका अवसर र महिलाको विद्यमान सीप क्षमता उपयोग हुन सकिरहेको छैन ।

अहिलेको आर्थिक मूलधारबाट आममहिला किनारा लागेका छन् । बहुसंख्यक महिलाको भूमिका परम्परागत निर्वाहमुखी कृषिबाहेक अन्य विकल्प छैनन् । आधा जनसंख्या ओगटेका महिलाको यो आर्थिक बहिस्करणले देशको अर्थतन्त्र एकपांग्रे मात्र भएको छ ।

सशक्तीकरणको बहसमा आममहिलाको जीवन र उनीहरूको अनुभव र चाहनाभन्दा पनि बौद्धिक बहस र प्रतिनिधिकेन्द्रित भएको पाइन्छ । महिलाको प्रतिनिधिमूलक सहभागिता र राजनीतिक अधिकारलाई प्रतिस्पर्धीभन्दा पनि आरक्षण र संरक्षणउन्मुख अभ्यास थालिएको छ ।

यसले महिलालाई पुरुषप्रधान राजनीति र शक्तिसँग आशा, अपेक्षा वा कृपाभावलाई प्रोत्साहित गरेको छ । यस प्रकारको संरक्षणमुखी र आरक्षण प्रणालीले महिलाको विद्यमान असमान हैसियतलाई झनै स्थापित गरेको छ । महिलाको परिचय र आत्मसम्मानको सवाल भनेको उनीहरू स्वयंले आर्जन गर्नुपर्ने विषय हो र यसका निम्ति राज्य तथा समाजले उनीहरूको प्रतिस्पर्धी क्षमता विकासको रणनीति बनाउनुपर्छ ।

उल्लिखित सवाल र चुनौतीका बाबजुद हामीसँग धेरै सम्भावना र नयाँ बाटा प्रशस्तै छन् । सामाजिक मात्र होइन, आर्थिक विकासमा नेपालले छिटै छलाङ मार्न सक्छ । त्यसका लागि आधा जनसंख्या महिलाको गुणस्तरीय क्षमता विकास, उत्पादनमा अवसर र सहभागिता, प्रतिस्पर्धी सामथ्र्य अनि राजनीति र निर्णय प्रक्रियामा आवश्यक दिगो रणनीति अपनाउनु जरुरी छ ।

आगामी पिँढीका छोरीहरूलाई हाम्रो परम्परागत सामाजिकीकरणको जञ्जालबाट बाहिर ल्याउन सामाजिक र सांस्कृतिक आन्दोलन जरुरी छ । आत्मजागरण र स्वअस्तित्वको संघर्षबाट मात्र स्वाधीन र आत्मनिर्भर महिला बन्ने भएकाले असमान र विषम तथ्य परिवर्तन गर्न छोरी तथा महिला स्वयं नै जागरुक हुनुपर्छ । यसरी लडेर स्थापित गरिएको परिचयले मात्र एउटा आत्मसम्मानपूर्ण जीवन निर्माण हुन सक्छ ।साभार

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...