प्रज्ञा–प्रतिष्ठान सातै प्रदेशमा हुनुपर्छ : मुकारुङ

गौतमबुद्ध बज्राचार्य : काठमाडौँ, २६ फागुन : कला, भाषा, साहित्य र दर्शनको उत्थानका लागि छ दशकअघि स्थापना भएको नेपाल प्रज्ञा–प्रतिष्ठानले नेपाली भाषा साहित्यकासाथै देशका अन्य मातृभाषाको विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

भाषा, साहित्य, संस्कृति, अनुवाद, दर्शनशास्त्रजस्ता ११ विभाग रहेको प्रज्ञा–प्रतिष्ठानले विशेष गरी भाषा र साहित्यसम्बन्धी अनुसन्धान तथा शोधलाई प्राथमिकतामा राखी काम गर्दै आएको छ ।

प्रज्ञाप्रतिष्ठान मातृभाषा विभागका प्रमुख श्रवण मुकारुङले विविध संस्कृतिको धनी मुलुक नेपालको विकासका लागि सात वटै प्रदेशमा प्रज्ञा–प्रतिष्ठानको स्थापना हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “नेपाल भाषा, तामाङ, लिम्बू, मैथली, भोजपुरी, अवधी, गुरुङजस्ता थुप्रै भाषाको विकासका लागि प्रतिष्ठानले पुस्तक, पत्रिका, साहित्यिक पत्रिका नियमित रुपमा प्रकाशन गर्दै आएको छ । ”
प्रतिष्ठानबाट नेपाल भाषामा ‘थाय्भु’, लिम्बू भाषामा ‘थप्लङ’, मैथली भाषामा ‘आगन’ आदि पत्रिका प्रकाशन हुँदैआएको छ । । प्राज्ञ मुकारुङले हाम्रो मातृभाषा र संस्कृतिको संरक्षण गर्न सरकारले विशेष नीति निर्माण गरेर कार्यक्रम सञ्चालन गर्नुपर्ने औँल्याउँदै मातृभाषाको भण्डारलाई थप विकास गर्न सरकार, साहित्यप्रेमी तथा सम्बद्ध सरोकारवाला लाग्नुपर्ने बताउनुभयो । “नेपालमा भएका मातृभाषाको विकास र विस्तार गर्ने वातावरण तयार गर्न सकेमा विभिन्न भाषाभाषीबीच थप सहयोग, सद्भावना र समन्वय अभिवृद्धि हुनेछ”, उहाँले भन्नुभयो ।

नेपालका भाषा, साहित्य, दर्शनशास्त्र, संस्कृतिसम्बन्धी अध्ययन, अन्वेषण गर्न, मौलिक सिर्जनात्मक वातावरणको निर्माण गर्न विसं २०१४ मा रोयल नेपाल एकेडेमी स्थापना भएको थियो । ‘नेपाल एकेडेमी ऐन २०१४’ पारित गरी लागू गरिएकामा नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान हुँदै हाल नेपाल प्रज्ञा–प्रतिष्ठानका नामले सञ्चालित छ ।

राष्ट्रका विद्वान् एवं प्रतिभाको सम्मान गर्न तथा सिर्जनात्मक चिन्तन र रचनात्मक कार्यमा जनताको सहभागिता जुटाउन गठित प्रतिष्ठानले अन्तर्राष्ट्रियस्तरमा पनि प्राज्ञिक गतिविधि सञ्चालन गर्दै आएको छ ।

नेपालका सबै भाषा, साहित्य, संस्कृति, दर्शनसम्बन्धी विभिन्न विषयमा अध्ययन तथा अनुसन्धान गर्ने तथा अनुसन्धानात्मक तथा मौलिक कृतिको सिर्जना एवं प्रकाशन गर्ने उद्देश्य प्रतिष्ठानको रहेको छ ।

आवश्यकतानुसार विदेशी भाषाबाट नेपाली भाषा र नेपालका भाषाबाट विदेशी भाषामा कृतिको अनुवाद एवं प्रकाशन गर्ने काम पनि हुुँदै आएको छ । यसका लागि हाल उषा ठाकुर प्रमुख रहेको भाषा अनुवाद विभागको छुट्टै व्यवस्था छ ।

 

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

धेरैले पढेको

Loading...