सभापति देउवाले राजिनामा दिदैमा पार्टी सत्तामा पुग्दैन : डा. महत

चैत ४, काठमाण्डौ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. प्रकाशशरण महतले सरकारको स्वेच्छाचारिता रोक्नका लागि पार्टी एकढिक्का भएर अगाडि बढ्नुपर्ने बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै उनले प्रधानमन्त्री केपी ओलीले सबै अधिकार आफूमा केन्द्रित गरेका बेला प्रमुख प्रतिपक्षी दल पनि बलियो बन्नुपर्ने बताए ।

अब पार्टी सभापति शेरबहादुर देउवाले सबै पक्षलाई विश्वासमा लिएर काम गर्न खोजेको महतले बताए ।

देउवाले गुटगत राजनीति गर्न छाडेको भन्दै महतले पछिल्लो समय गुटगत भेला गर्न छाडेको दाबी गरे ।

गुटलाई प्रश्रय दिने गरी पछिल्लो समय कुनै पनि छलफल नगरिएको महतले स्पष्ट पारे । “अरु नेताहरुले कहिले कहाँ कहिले कहाँ गुटगत भेला गरिरहनुभएको छ । तर हामीले गरेका छैनौँ ।” महतले भने ।

पार्टी बलियो भयो भने हामी बलियो हुन्छौँ भन्ने सोच नेताहरुले राख्नुपर्ने उनको भनाई छ ।

सभापति देउवामाथि लागेको आरोपको खण्डन गर्दै महतले देउवाविरुद्ध दिएका अभिव्यक्तिले पार्टीमा सुधार हुन नसक्ने बताए ।

पार्टीले चुनावमा हार्नुको कारण सभापति देउवा मात्रै नभएको उनको तर्क छ ।
दुईवटा कम्युनिष्ट पार्टी एक भएर चुनाव लड्दा कांग्रेस कमजोर भएको तर्क गर्दै महतले कांग्रेसले ७० सालमा ल्याएकोभन्दा धेरै मत ल्याएको बताए ।

“हाम्रो संगठनमा पनि कमी कमजोरी छ । तर हिजो देउवा सभापति नहुँदा पनि यस्तै थियो । त्यसकारण अहिले देउवाले राजिनामा दिदैमा पार्टी सत्तामा पुग्दैन ।” महतले भने ।

पार्टीमा पदाधिकारी नियुक्तिदेखि विभाग गठनसम्मका काम यसअघि अरु सभापति हुँदा पनि समयमा हुन नसकेको भन्दै महतले देउवाको बचाउ गरे ।

९ गते हुने केन्द्रिय समितिको बैठकअघि नै पदाधिकारी चयन हुने सम्भावना रहेको महतले बताए । “मलाई लाग्छ अब सबै संरचनाले चाँडै नै पूर्णता पाउँछन् । तर त्यसपछि पार्टी एकाएक रुपान्तरण हुन सक्दैन ।”

“देउवा सम्पूर्ण गुणले सम्पन्न हुनुहुन्छ भनेर कसले भनेको छ र ? मार्केटिङ र विज्ञापनको जमानामा आफ्ना कुरा प्रभावकारी रुपमा राख्न नसकिएको हो । जसरी विपक्षी दलले बढाईचढाई गरेर राख्न सके,त्यो हामीले सकेनौँ । कांग्रेसकै नेताहरुले पनि यस कुरामा देउवालाई सहयोग गरेनन् ।” उनले भने ।

एमालेले अहिले राम्रो नतिजा आएका कारण कांग्रेसलाई हेप्न खोजेको आरोप लगाउँदै नतिजा सधैँ एमालेको पक्षमा नजाने बताए ।


Loading...
Loading...

धेरैले पढेको

Loading...