सूचनामाथि सबैको अधिकार स्थापित हुनुपर्नेमा सभामुख महराको जोड

काठमाडौं, ३ बैशाख । सभामुख कृष्णबहादुर महराले जनतालाई सही सूचना दिएर सुसूचित गराउने दायित्व र कर्तव्य संचारकर्मी र संचारमाध्यमको भएको उल्लेख गरेका छन् ।

राजधानीमा सूचनाको हकको प्रभावकारी कार्यान्वयनका लागि अयोजित राष्ट्रिय सम्मेलनमा उनले सही सूचना पाउने नागरिकको हक कुण्ठित हुन नहुने बताए ।

अहिले पनि सूचना लुकाउने प्रचलन रहेको भन्दै उनले सूचनामाथि सबैको अधिकार स्थापित हुनुपर्नेमा जोड दिए । संचार तथा सूचना राज्यमन्त्री गोकुल बाँस्कोटाले सूचना सुशासन र विकासको आधार भएकाले सूचना लुकाउनेलाई दण्डित गर्नुपर्ने बताए ।

सूचनाको हक स्थापित नहुँदा त्यसको असर राज्यलाई पर्ने भन्दै उनले सबै तहमा सूचनाको हक स्थापित हुनु पर्ने बताए । कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले राष्ट्रिय सूचना आयोगलाई संवैधानिक मान्यता दिन आग्रह गरे । दुई दिनसम्म चल्ने सम्मेलनमा देशभरका सूचना अधिकारी सहभागी छन् ।


Loading...
Loading...

धेरैले पढेको

Loading...