पर्यटन र साहित्य दुवैको विकासको लागि घडियाल काव्य उत्सव–२०७५ महत्वपूर्ण : धमला

चितवन, ४ बैशाख । रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले लोपोन्मुख घडियाल जनावरको संरक्षण र प्रर्वद्धनमा सबैले ध्यान दिनुपर्ने बताएका छन् ।

प्रदेश नम्बर ४ मा पहिलोपटक हुन लागेको घडियाल काव्य उत्सव–२०७५ को बारेमा मंगलबार चितवनको रोयल जंगल सफारी क्याम्पमा आयोजना गरिएको विशेष अन्तरक्रियात्मक कार्यक्रममा प्रमुख अथितिको रुपमा सम्बोधन गर्दै धमलाले यस्तो बताएका हुन् ।

‘प्रकृतिसँग साहित्य’ नामक घडियाल काव्य महोत्सव यही बैशाख ६ र ७ गते । दाङको देउखुरी नगरपालिका वडा नम्बर १७ को नारायणीको तिरमा हुने आयोजकले जनाएको छ ।

उक्त उत्सवको मिडिया पार्टनर पत्रकार धमला अध्यक्ष रहेको नेपाली रेडियो नेटवर्क हो । सोही कारणले आयोजकले आज धमलाको प्रमुख आतिथ्यतामा विशेष अन्तरक्रिया गरेको हो ।

पत्रकार धमलाले सम्बोधनको क्रममा घडियाल जातिको जनावरको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् । उनले नारायणीको किनारा मध्यवर्ती वन्यजन्तु केन्द्र भएकोलेपनि यहाँ रहेका सबै खाले जनावरको संरक्षण गर्नु सबैको दायित्व रहेको सुनाए ।

धमलाले भने,‘घडियाल जातिको संरक्षण एवम् प्रर्वद्धन गर्नुपर्छ । यहाँ आन्तरिक तथा बाहृय पर्यटकहरु बढाउनको लागि घडियालको महत्वपूर्ण भूमिका छ । यो पर्यटकीय क्षेत्र नै हो । चितवन त झनै महत्वपूर्ण मानिन्छ । यहाँका मनोरम दृश्यहरु हेर्न आन्तरिक तथा बाहृय पर्यटकहरुको घुईँचो नै लाग्ने गरेको छ, यहाँको पर्यकीय विशेषता भनेको नै थरि–थरिका जनावरहरु नै हुन् ।’

पर्यटकहरुका लागि चितवन उत्कृष्ट गन्तब्य हुँदै आएको धमलाको तर्क थियो । उनले थपे,‘चितवन आँफैमा अनुपम र सुन्दर ठाउँ हो, यसले नेपालमा पर्यटन विकासमा जोड दिएको छ, देश तथा विदेशमा सन्देश प्रवाह गरेको छ।’

उक्त उत्सवको आयोजक ह्याप्पी एफ.एमका प्रबन्ध निर्देशक दिपेश कडरिया लगायत अन्य सदस्यहरुलाई धमलाले बधाई दिए । कार्यक्रम संयोजक कडरियाले धेरै राम्रो कामको सुरुवात गर्न लागेको भन्दै धमलाले खुशी व्यक्त गरे ।

धमलो थपे,‘म उहाँलाई बधाई दिन चाहन्छु, उहाँजस्तो कुशल नेतृत्वमा यो उत्सव हुँदैछ, काव्य साहित्यलाई मिडियामार्फत जनमनमा पुर्याउन म पहल गर्छु, देशव्यापी रुपमा यस उत्सवको बारेमा जानकारी दिलाउन म कुनै कसर बाँकी राख्दिन्।’

धमलाले चितवन लोभलाग्दो ठाउँ भएको जनाए । उनले भने,‘म पनि त्यही भएर आज यहाँ आएको छु । प्रकृतिसँग साहित्य नामक यो घडियाल उत्सव अहिलेको लागि अत्यन्तै समयसापेक्ष कार्यक्रम सिद्ध हुन्छ, विश्वका महापुरुषहरुले पनि प्रकृतिसँग खेलेर साहित्य सिर्जना गरेका छन्, हरेक मान्छेले प्रकृतिसँग खेल्न सक्यो भने उ स्वस्थ हुन्छ, शारिरिक र मानसिक रुपमा उ स्वस्थ हुन्छ, यो उत्सव सफल होस्।’

त्यस्तै ह्याप्पी एफ.एमका प्रबन्ध निर्देशक कडरियाले उत्सवको मुल उद्देश्य भनेको नै घडियाललाई संरक्षण गर्ने र नेपाली साहित्यको संरक्षण एवम् प्रर्वद्धन गर्ने रहेको सुनाए ।

कार्यक्रममा देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलााधर खड्का र मधुकर मल्ल, हरि सापकोटा, सुर्य न्यौपाने लगायतले आ–आफ्नो धारणा राखेका थिए ।


Loading...
Loading...

धेरैले पढेको

Loading...