हामीले सरकारलाई चाईनामाजस्तो आजिवनको लागि समर्थन गरेका होईनौं : नेता कर्ण

काठमाडौं, ६ जेठ । राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेता लक्ष्मणलाल कर्णले आफूहरुले नियामावली नरोकेको स्पष्ट पारेका छन् । उनले भने,‘हामीले रोकेको छैन, सत्तापक्षलाई बहुमतको उन्माद भयो।’

उनले अभियोग लाग्दैमा सांसदलाई निलम्बन गर्न नहुने धारणा राखे । नेता कर्णले भने,‘अभियोग लाग्दैमा उ कसरी अपराधी हुन्छ, अभियोग त जसलाईपनि लाग्नसक्छ, दोषी ठहरिनुपर्यो नि।’ उनले नियामावलीको गरिमा बुझ्नको लागि सत्तारुढ दललाई आग्रह समेत गरे ।

उनले वर्तमान सरकारलाई आजिवन समर्थन नदिएको जिकिर गरे । उनले थपे,‘हामीले समर्थन भनेर आजिवन दिएको होईन, चाईनाजस्तो दिएको होईन्, जबसम्म ठीक ढंगले काम गर्छ, हाम्रो समर्थन रहन्छ, गर्दैन भने हाम्रो समर्थन फिर्ता हुन्छ।’ नेता कर्णले आफूहरुले वर्तमान सरकारलाई सँधैको लागि समर्थन नदिएको दोहोर्याए ।

उनले सरकारलाई बहुमतको धाक नदेखाउन चेतावनी समेत दिए । कर्णले थपे,‘ठूलो पार्टी बन्नुभयो, हाम्रो यसमा शुभकामना छ, मिलेर देश चलाउनुहोस्, तर अहंकारमा नफस्नुहोस्।’ उनले कैद सजाय भोगेको सांसदलाई निलम्बन गर्ने कुरामा आफूहरुको कुनै विमति नरहने जिकिर गरे । नियामावलीमा सम्पूर्ण सांसदहरुको अपनत्व हुनुपर्नेमा उनको जोड थियो ।

प्रतिनिधिसभा नियमावली मस्यौदामा सांसद निलम्बन र विषयगत समितिको संख्यामा विवाद छ भने राष्ट्रिय सभामा पनि निलम्बन र सदस्यको कार्य अवधिको विवाद कायमै छ । संसदको कार्यसूचीमा समावेश गरिएपनि विवादकै कारण मस्यौदामा छलफल हुन सकेको छैन । सत्तारुढ र प्रतिपक्षी दलहरुबीच विवाद नमिलेकाले मस्यौदा निर्माणमा ढिलाई सुरु भएको छ ।


Loading...
Loading...

सम्बन्धित शीर्षकहरु

धेरैले पढेको

Loading...