भारतसँगका मुख्य दुई मुद्दा, ५० को सन्धि र सीमा विवाद

काठमाडौं २२ जेठ । नेपाल–भारत सम्बन्धका सबै पक्षबारे छलफल गरेर प्रतिवेदन दिन दुई वर्षअघि गठित प्रबुद्ध व्यक्ति समूह (इपिजी)को म्याद अब एक महिना बाँकी छ । इपिजीको अन्तिम (नवौँ) बैठक १५ र १६ असारमा काठमाडौंमा बस्दै छ । इपिजीको म्याद आगामी २० असारमा सकिँदै छ ।

बैठकमा दुवै पक्षबीच १९५० को सन्धि प्रतिस्थापन र नेपाल–भारत खुला सीमा नियमनबारे साझा धारणा बन्न सकेमा मात्रै साझा प्रतिवेदन बन्नेछ । अहिलेसम्मको छलफलमा यी विषय टुंगिसकेका छैनन् । तर, १९५०को सन्धि यथावत् नराख्न सिफारिस गर्ने सहमति भइसकेको छ ।

२९ र ३० चैतमा दिल्लीमा बसेको आठौँ बैठकमा १९५० को नेपाल–भारत सन्धि र नेपाल–भारत सीमा नियमनको विषयमा भएको आठ घन्टाभन्दा लामो छलफल निष्कर्षमा पुगेको थिएन । अन्य विषय भए पनि सबैभन्दा चासो १९५० को सन्धिको प्रतिस्थापन वा पुनरावलोकनमा छ ।

७१ स्थानमा सीमा विवाद, मुख्य समस्या कालापानी र सुस्तामा

नेपाल र भारतबीच करिब ७१ स्थानमा सीमा विवाद छ । सुस्ता र कालापानीबाहेकका स्थानमा सीमा विवादका लागि नापी विभागका महानिर्देशक तथा प्रमुख जिल्ला अधिकारीस्तरका समिति क्रियाशील छन् । दुवैतर्फका महानिर्देशक रहेको बोर्डर वर्किङ ग्रुपमातहत प्रजिअस्तरको फिल्ड सर्भे टिमले चार क्षेत्र छुट्याएर काम गरिरहेको छ ।

‘सीमा विवाद कहीँ पनि टुंगिएको छैन । भत्केका सीमास्तम्भ मर्मतसम्भारका काम भएका छन्, तर लोप भएका सीमाखम्बा राख्ने काम भएको छैन । दशगजाको विवादित अतिक्रमण हटाउने काम पनि भएको छैन भन्ने जानकारी पाएको छु,’ नापी विभागका पूर्वमहानिर्देशक बुद्धिनारायण श्रेष्ठले नयाँ पत्रिकासँग भने ।

गत २१ र २२ असोजमा काठमाडौंमा बसेको इपिजीको पाँचौँ बैठकमा खुला सिमाना बन्द नगर्ने, तर आवतजावत अनुगमन गर्ने सहमति भएको थियो । नेपाल–भारत सिमानामा जनताको आवतजावत अनुगमन गर्ने संयन्त्र बनाउन दुवै पक्ष सहमत भएका थिए । तर, अन्तिम टुंगो भने लागेको थिएन ।

मोदीले पछिल्लो नेपाल भ्रमणमा खुला सिमानाका पक्षमा खुलेर बोलेका थिए । नेपालले सीमा नियमन गर्न चाहे पनि भारतले नचाहेको अर्थमा लिनुपर्ने इपिजी नेपाल पक्षका सदस्यहरूको बुझाइ छ ।

आगामी १९ सेप्टेम्बरसम्म नेपाल र भारतबीचका सबै विषय परराष्ट्रसचिवस्तरीय संयन्त्रमा छलफल गर्ने सहमति मोदीको नेपाल भ्रमणमा भएको थियो । उक्त सहमतिले इपिजीको कार्यक्षेत्रमा प्रभाव पार्न खोजेको पनि इपिजी सदस्यहरूको बुझाइ छ । नयाँपत्रिकाबाट

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...