Rishi Dhamala with PM Prachanda
ढुक्क हुनुहोस् कांग्रेस आउँछ, पुष्पकमल दाहाल प्रचण्ड,प्रधानमन्त्री
Q.
सेना समायोजन विशेष समितिले कहिले पूर्णता पाउँछ ?
A.
सेना समायोजन विशेष समिति समितिमा कुनै विवाद छैन। यसले छिटै पूर्णता पाउँछ। यस समितिमा नेपाली कांग्रेस पनि रहनुपर्छ। बृहत् शान्ति सम्झौतामा कांग्रेसले हस्ताक्षर गरिसकेकाले समितीम्ाा बस्नैपर्छ। काग्रेस आउनुको विकल्प छैन, छलफल भइरहेको छ।
Q.
कांग्रेसले समान सहभागिताको कुरा उठाएको छ, तपाईं तयार हुनुहुन्छ?
A.
त्यो ठूलो मुद्दा होइन। जहाँसम्म विशेष समितिमा कांग्रेस सहभागिताको प्रश्न छ -कांग्रेसलाई समितिमा राखेर नै समायोजनको प्रक्रियाअघि बढ्छ।
Q.
कांग्रेस आउँछ त अव?
A.
एकदम। म पूर्ण विश्वस्त छु। कांग्रेस समितिमा समावेश हुन्छ, हुन्छ।
Q.
कांग्रेस नबसे समायोजनको प्रक्रिया अघि बढ्दैन?
A.
त्यस्तो प्रश्नै नगर्नुस्। म यस्तो महत्वपूर्ण मुद्दामा कांग्रेसलाई साथै लिएर जान चाहन्छु ,उ आउदैन भन्ने कल्पना नगरौं।
Q.
तपाईं कांग्रेससित सम्बन्ध विस्तार गर्न लाग्नुभएको हो?
A.
हेर्नुस,केही समयदेखि कांग्रेससित द्वन्द्व जस्तो देखिए पनि अव त्यो अन्त्य हुन्छ। मुलुकमा धेरै किसिमका चुनौतीहरु छन्। तिनलाई साझा प्रतिबद्धताका साथ सामना गर्नुपर्छ। म गिरिजाप्रसाद केाइरालासित पनि कुराकानी गर्दैछु। हामी सबैको जिम्मेवारी हो, शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउनु र लोकतान्त्रिक संविधान निर्माण गर्नु। यो महान् अभियानमा कांग्रेसको सहभागिता अपरिहार्य छ।
Q.
तपाईं कांग्रेसलाई पनि सरकारमा लिएर जाने पक्षमा हुनुहुन्छ?
A.
हो, निश्चित रुपमा कांग्रेस सरकारमा सहभागी हुनुपर्छ। उ पनि सरकारमा सहभागी भएपछि मुलुक सहज रुपमा अगाडि जान्छ। कुनै समस्या आइपर्यो भने राष्ट्रिय सहमतिसाथ समाधान गर्न सकिन्छ।
Q.
राष्ट्रिय सहमति कायम गर्न तपाईं सफल हुनुहोला?
A.
यसको विकल्प छैन। प्रमुख दलहरुबीच सहमति, सहकार्य र एकताका साथ मुलुकमा ठूलो परिवर्तन गरेर देखाउने दिशामा हामी अग्रसर भएको छु र मेरो सबैसित कुराकानी भइरहेको छ।
Q.
गठबन्धन दलहरुबीच पनि द्वन्द्व शुरु भएको छ नि?
A.
त्यस्तो केही छैन,, त्यो हल्ला मात्र हो। हामी सबैको मिसन एउटै छ जसमा हामी सफल हुन्छौं। गठबन्धन दलहरुबीच झन् ठूलो एकता हुन्छ। लक्ष्य प्राप्त नगरेसम्म त्यो कायमै रहन्छ।
Q.
तपाईंको सरकार गिर्दैछ भनिन्छ नि?
A.
त्यो गलत अफवाह हो। यो सरकारले तीन वटा काम गर्छ। र मुलुकमा संविधान निर्माण गरी चुनाव गराउन सक्षम हुन्छ। यो सरकार पूर्ण अवधि चल्छ। कसैले चाहेर ढल्दैन।
Q.
विदेशीहरुसितको सम्बन्ध कस्तो छ?
A.
मित्रराष्टहरुले नेपालको शान्ति प्रक्रिया, संविधान लेखन र आर्थिक समृद्धीका लाागि दत्तचित्त भएर सहयोग गरिरहेका छन्। नेपालको छवि र प्रतिष्ठा अन्तराष्ट्रिय जगतमा बढेको छ। सबै विदेशीहरु सकारात्मक चिन्तन र सोचका साथ सहयोग गरिरहेका छन्।
Q.
प्रधानमन्त्रीज्यू सय दिनमा सरकारले केही गर्न सकेन भन्ने गुनासो सुनिादै छ नि?
A.
गणतान्त्रिक नेपालको पहिलो सरकारले सय दिनको अवधिमा सुधारका क्रान्तिकारी कार्यक्रमहरु अघि सारेको छ। सरकारको नीति र कार्यक्रम र बजेटको प्रभावकारी कार्यान्वयन अहिलेको आवश्यकता हो। सरकारले केही महत्वपूर्ण काम प्रारम्भ गरेको छ। यो संयुक्त सरकार हो। यसमा गठबन्धन दलहरुबीचको समझदारीमा काम गर्नुपर्ने हुन्छ।
Q.
सरकारको सय दिनको अवधिमा भएका कामबाट तपाईं सन्तुष्ट हुनुहुन्छ?
A.
सरकारको सय दिनको अवधिमा भएका कामबाट म असन्तुष्ट छैन। तर, जसरी गर्नुपर्थ्यो, त्यति हुन सकेको छैन। अव जनतालाई वास्तविक परिवर्तनको अनुभूति हुनेगरी कामलाई दु्रत गतिमा अगाडि बढाइने छ। हामी एक साताभित्र बृहत कार्यक्रम ल्याउने गृहकार्यमा जुटेका छौं।
Q.
नयाा कार्यक्रमको स्वरुप कस्तो हुन्छ?
A.
नेपाली जनताले यो सरकारले केही गर्छ भन्ने अपेक्षा गरेका छन्। त्यो अपेक्षा पूरा गर्ने दिशामा हामी अगाडि बढिसकेका छौं। शान्ति सुरक्षालाई कसरी सुधार गर्न सकिन्छ? आर्थिक रुपान्तरणका कार्यक्रमलाई जनतामा कसरी लैजान सकिन्छ? यसबारे हामी सोचिरहेका छौं। बजेटलाई कार्यान्वयन गर्न सक्यौं भने गाउाबाट विकासको प्रक्रिया सुरु हुन्छ। त्यसबाट धेरै अवसरको सिर्जना हुन्छ। जनतामा उत्साह र उमग छाउाछ।
Q.
शान्ति सुरक्षामा त सुधार भएन भन्छन् नि?
A.
शान्ति सुरक्षामा पनि पहिले भन्दा सुधार भएको छ। जनतालाई सुरक्षाको प्रत्याभूति हुने किसिमले हामी काम गर्दैछौं।