Rishi Dhamala with Jhalanath Khanal
अब एमाले–नेतृत्वको सरकार आवश्यक छ -झलनाथ खनाल, महासचिव नेकपा एमाले
एमालेका महासचिव झलनाथ खनाल राष्ट्रिय राजनीतिको केन्द्रबिन्दुमा हुनुहुन्छ। सरकार बनाउने र ढाल्न सक्ने शक्तिका रूपमा देखिएको तेस्रो ठूलो पार्टीको शक्तिशाली महासचिव पनि हुनुहुन्छ। प्रधानमन्त्रीका उम्मेदवारका रूपमा चर्चामा आउनुभएका खनाल अहिले सरकारको कटु आलोचकका रूपमा प्रस्तुत हुनुभएको छ। एमालेको महाधिवेशन नजिकिँदै गर्दा उहाँका भनाइ खरो बन्दै गएको छ। ऋषि धमलासँग समसामयिक विषयमा गर्नुभएको कुराकानीको महत्वपूर्ण अंशहरूः
Q.
सरकारलाई किन खतराको घन्टी बजाउनुभयो?
A.
यो सरकारले राम्रो काम गरोस् भनेर मैले घन्टी बनाएको हुँ।
Q.
सरकार गिराउन लाग्नुभएको त होइन?
A.
यो सरकार अहिले गिराउनुहुँदैन।
Q.
सरकार किन गिराउनुहुँदैन?
A.
यो सरकारले अत्यन्त महत्वपूर्ण र ऐतिहासिक काम गर्नुपर्नेछ। यसलाई घचघचाइएन, घन्टी बजाइएन, कान निमोठिएन भने राम्रो काम गर्न नसक्ने भो। जनताले पनि खबरदारी गर्नुपर्यो र राजनीतिक दलहरूले पनि कान निमोठ्नुपर्यो भन्ने देखेर मैले सचेत गराएर बोलेको हुँ।
Q.
तपाईं प्रधानमन्त्री बन्नका लागि खतराको घन्टी बजाउनुभएको रे नि?
A.
प्रधानमन्त्री बन्ने कुरा भिन्न प्रसङ्गको कुरा हो। त्यसलाई इतिहासको विभिन्न शृङ्खलाहरूमा सोच्नुपर्छ। अहिले त्यो समय होइन।
Q.
तपाईं कहिले प्रधानमन्त्री बन्नुहुन्छ?
A.
प्रधानमन्त्री बन्ने अहिलेको ठूलो कुरा होइन। अहिले संविधान बनाउने ठूलो कुरा हो। संविधान बनाउने प्रक्रिया पनि प्रारम्भ भइसकेको छ। यो महत्वपूर्ण कुरा हो।
Q.
तोकिएको समयमा संविधान बनाउन सक्नुहुन्छ?
A.
संविधान तोकिएको समयमै बन्छ। हामी संविधान बनाएर देखाउँछौं। नेपाली जनताले नयाँ संविधान प्राप्त गरेरै छाड्छन्। लोकतान्त्रिक गणतन्त्र नेपाललाई संस्थागत गरेरै छाड्छन्।
Q.
किन एमालेले सरकारको नेतृत्व गर्नुपर्छ भन्नुभएको?
A.
अरू पार्टीहरूले पनि योग्यता, क्षमता प्रदर्शन गरिरहेका छन्। त्यसको तुलनामा नेकपा एमालेले प्रभावकारी र जिम्मेवारी क्षमता प्रदर्शन गरिरहेको छ। अरूको तुलनामा एमाले हरेक हिसाबले मुलुकलाई हाँक्न सक्ने, अगुवाइ गर्नसक्ने शक्तिका रूपमा उदय भइरहेको छ।
Q.
किन एमालेले सरकारको नेतृत्व गर्नुपर्छ भन्नुभएको?
A.
अरू पार्टीहरूले पनि योग्यता, क्षमता प्रदर्शन गरिरहेका छन्। त्यसको तुलनामा नेकपा एमालेले प्रभावकारी र जिम्मेवारी क्षमता प्रदर्शन गरिरहेको छ। अरूको तुलनामा एमाले हरेक हिसाबले मुलुकलाई हाँक्न सक्ने, अगुवाइ गर्नसक्ने शक्तिका रूपमा उदय भइरहेको छ।
Q.
सरकार हाँक्न काङ्ग्रेस र माओवादीले सक्दैन?
A.
म अरूको बारेमा धेरै टीका–टिप्पणी गर्न चाहन्न। तर नेकपा एमालेको आवश्यकता यो राष्ट्रले बढीभन्दा बढी महसुस गर्न थालेको छ। जुन कोणबाट हेरे पनि अब सरकारको नेतृत्व एमालेले गर्नुपर्छ भन्ने देखिन थालेको छ।
Q.
एमालेको दुवै हातमा लड्डु भएको हो?
A.
नेकपा एमाले यो मुलुकको अत्यन्त जिम्मेवार शक्ति हो। त्यसकारण उसले झन्झन् बढी जिम्मेवारीबोध देखाउनुपर्ने आवश्यकता छ।
Q.
एमालेको नेतृत्वका छिट्टै सरकार बन्छ?
A.
अहिलेसम्म पनि यो देशको लोकतान्त्रिक र देशभक्तिको आन्दोलनलाई अगुवाइ गर्ने पार्टी एमाले नै हो। भविष्यमा पनि त्यसको आवश्यकता बढ्दै छ।
Q.
एमालेको नेतृत्वको सरकार कहिलेबाट देख्न पाइन्छ?
A.
दिन र महिनामा हिसाबकिताब नगर्नुहोस्, समयमा हिसाबकिताब गर्नुहोस्।
Q.
कति समय कुर्नुपर्ला?
A.
भ्विष्यमा एमालेको नेतृत्वमा सरकार बन्छ बन्छ।
Q.
प्रचण्डपछिको प्रधानमन्त्री तपाईं नै हो?
A.
सरकारको नेतृत्व कसले गर्छ कसले गर्ने भन्ने कसैको इच्छाले मात्र हुने होइन। देश र जनताको आवश्यकताअनुरूप सरकार बन्ने हो। ऐतिहासिक प्रक्रियामा सरकारको नेतृत्वको टुङ्गो लाग्छ। पहिले यो सरकारलाई त काम गर्न दिनुपर्यो नि। सरकारको आयु सकिन दिनुहोस् अनि म को प्रधानमन्त्री बन्ने कुरा भनौंला।
Q.
यो सरकारको आयु कति हो?
A.
सरकारको आयु जारी छ। काम गरिरहेकाको बारेमा आयु किटान गर्नुहुँदैन।
Q.
प्रचण्ड सरकारको आयु छोट्टिएको हो?
A.
आयु सबैभन्दा बढी मात्रामा नेकपा माओवादी र त्यसका नेता प्रचण्डका सोचविचार, कामकारबाही र व्यवहारमाथि निर्भर गर्छ।
Q.
प्रचण्डसँग सन्तुष्ट हुनुहुन्छ?
A.
व्यक्तिसँग सन्तुष्ट–असन्तुष्टको प्रश्न होइन। यो सरकार जसरी नेतृत्व गरिनुपर्थ्यो त्यसरी भइरहेको छैन। धेरै कमीकमजोरी देखापरिरहेका छन्।
Q.
कमी–कमजोरी के–के हो?
A.
आमजनताको इच्छाअनुरूप सरकारले जसरी काम गर्नुपर्थ्यो त्यसरी काम भइरहेको छैन।
Q.
तपाईंले आफूलाई अफर आउँदाआउँदै प्रचण्डलाई प्रधानमन्त्री बनाउनुभएको होइन, अहिले किन बेखुसी हुनुहुन्छ?
A.
म पदको निम्ति इतिहासलाई ढाँट्दिनँ। इतिहासलाई युग र जनताले इच्छा गरेको बाटोबाट अगाडि बढाउनुपर्छ।
Q.
माओवादीपछि एमाले सरकारको नेतृत्व गर्ने तयारी गरेको हो?
A.
तपाईंले यो के केरकार गरिरहनुभएको छ। नेपालको राजनीतिलाई तपाईंले गम्भीर रूपले विश्लेषण गरेर हेर्नुभयो भने उदीयमान शक्ति भनेको एमाले नै हो। एमाले यो मुलुकलाई हाँक्न र अगाडि बढाउनका लागि मात्र होइन समृद्ध भविष्यतर्फ लानका लागि अत्यन्त सक्षम पार्टी हो।
Q.
एमाले महाधिवेशनको तयारी कस्तो हुँदै छ?
A.
एमालेको ऐतिहासिक महाधिवेशन फागुन ५ देखि १० गतेसम्म हँुदै छ। यसको भव्य तयारी भइरहेको छ।
Q.
महाधिवेशनको एजेन्डा के छ?
A.
नेकपा एमालेलाई वैचारिक, राजनीतिक, सङ्गठनात्मक हरहिसाबले सुदृढ गर्ने र यो मुलुकमा नयाँ लोकतान्त्रिक संविधान निर्माण गर्दै सामन्तवादलाई उन्मूलन गर्ने हाम्रो तत्कालीन एजेण्डा हो।
Q.
एमालेको भावी महासचिव तपाईं नै हो?
A.
हाम्रो आठौं महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूले जे निर्णय गर्नेछन् मलाई त्यही शिरोपर हुनेछ।
Q.
पार्टीको कार्यकारीमा महासचिव कि अध्यक्ष?
A.
त्यसबारे छलफल हुनेछ। हामी बहुपदीय संरचनामा छलफल सुरु गर्दै छौं। छलफलले जे निष्कर्ष निकाल्छ त्यही हुनेछ। बहुमतीय प्रणालीमा जानुपर्छ भन्ने निष्कर्ष निकाल्छ। त्यसमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिवलगायतका पदहरू हुन सक्छन्।
Q.
महाधिवेशन विचार र नेतृत्वको द्वन्द्वको महाधिवेशन हुन्छ?
A.
यो महाधिवेशन विचार र एकताको महाधिवेशन हुन्छ।