Rishi Dhamala with Madhav Kumar Nepal
चुप लागेर बस्ने कुरै आउँदैन ― माधवकुमार नेपाल
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल भावी प्रधानमन्त्रीका रूपमा चर्चाको शिखरमा हुनुहुन्छ। पछिल्लो समयमा एकीकृत नेकपा माओवादी गतिविधिका कट्टर आलोचकका रूपमा देखापर्नुभएका उहाँले प्रधानसेनापति रुक्माङ्गद कटवालको स्पष्टीकरणमा प्रस्ट अडान राख्नुभएको छ। सेनापति हटाउन नहुने पक्षमा अडिग नेपाल संवैधानिक समितिका सभापति हुनुहुन्छ। मध्यमार्गी नेता नेपालले कठिन घडीमा प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने नेताको पहिचान बनाउनुभएको छ। घटना र विचारका लागि
ऋषि धमलाले नेपालसँग समसामयिक घटनाक्रमबारे गर्नुभएको कुराकानीका मुख्य अंशहरूः
Q.
वर्तमानमा देखिएको अन्योलको निकास कसरी निकाल्न सकिएला?
A.
सबैले आ–आफ्नो अहंकार त्याग्नुपर्छ। अधिनायकवादी मानसिकता त्याग्नुपर्छ। सहमतिको बाटोमा जानुपर्छ र मेरो गोरुको बाह्रै टक्का भन्ने त्याग्नुपर्छ। राष्ट्र, जनता, लोकतन्त्र र परिवर्तनलाई केन्द्रबिन्दुमा राखेर समस्याको समाधान खोज्नुपर्छ। संविधान, विधि र कानुनलाई उल्लङ्घन गर्ने, पेलेर जाने, विभिन्न किसिमको बबाल सिर्जना गरेर जसरी पनि आफ्नो कुरा लाद्ने मानसिकता त्याग्नुपर्छ। त्यसो भएमा अन्योल अन्त्य भई राजनीतिक निकास निस्कन्छ।
Q.
माओवादीका कारण अन्योल बढेको आरोप लगाइरहनुभएको छ नि?
A.
माओवादी एक्लै हिसाबले चल्न सक्दैन। उसको एक्लो विचारलाई जनताले स्वीकार गर्दैनन्। कुनै किसिमको अधिनायकवादबाट आजित भइसकेका जनता फेरि नयाँ किसिमको अधिनायकवादको फन्दामा फस्नुपर्ने अवस्था आउला कि भन्नेमा सतर्क र सचेत छन्।
Q.
माओवादीले त आफ्नो प्रभाव जताततै बनाइसकेको छ नि?
A.
माओवादीका तौरतरिकाले आशङ्काहरू जन्माएका छन्। जनतालाई त्रसित बनाउने काम भएको छ। माओवादीका प्रत्येक गतिविधि, भनाइ र कदमलाई बडो गम्भीरताका साथ नियालिरहेका छन्।
Q.
माओवादीलाई के गर्नुपर्ला?
A.
माओवादीलाई सुधार्नुपर्छ।
Q.
माओवादीलाई सुधार्न सकिएला?
A.
माओवादीलाई सुधार्नका लागि सबै मिलेर प्रयास गर्नुपर्छ। उनीहरूले ढाडमा टेकेर टाउकोमा हिर्काउने काम गर्दै आएका छन्। उनीहरूले त्यसलाई बन्द गर्नुपर्छ। अवस्था त्यस्तै रहने हो भने उनीहरूले बुझे हुन्छ कि– लाटो खान्छ एक बल्ड्याङ बाठो खान्छ दस बल्ड्याङ।
Q.
माओवादीसँग कहिलेसम्म सहकार्य गर्नुहुन्छ?
A.
हामी उनीहरू सुधि्रऊन् र लोकतान्त्रिक आचरणअनुरूप काम गरून् भन्ने हेतुले सरकारमा गएका हौँ। यही अवस्थामा चल्छ भने चुप लागेर बस्ने कुरा आउँदैन। एक्लो निर्णय गर्दै हिँड्ने हो भने कसरी सहकार्य गर्न सकिन्छ? त्यसमा हामी गम्भीर छौँ।
Q.
सरकारको विकल्प खोज्न थाल्नुभएको हो?
A.
नेपालको राजनीति सरकारको विकल्प खोज्ने तहसम्म पुगेको छैन। बरु सहमतिको नयाँ अध्याय सुरु गर्नुपर्ने बेला भइसकेको छ।
Q.
तपाईं प्रधानमन्त्री बन्ने मौकामा खुट्टा कमाउनुभयो भन्छन् नि?
A.
बाटोमा गीत गाउँदै म प्रधानमन्त्री बन्छु भन्दै हिँड्ने कुरा भएन। मुलुकलाई साँच्चै लोकतान्त्रिक परिवर्तनको दिशामा लाने हो भने नेकपा एमालेको नेतृत्वमा अगाडि बढ्नेबाहेकको राम्रो विकल्प देखिँदैन।
Q.
एमालेको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्न सक्ला?
A.
मुलुकलाई सही दिशामा अगाडि बढाउने हो भने आगामी चुनावमा जनताले नेकपा एमालेलाई बहुमत दिनेछन्। त्यसपछि देश सही ढङ्गबाट अग्रगमनतर्फ जान्छ।
Q.
एमालेले अहिले नै सरकारको नेतृत्व लिँदैन?
A.
अहिले नै सरकारको नेतृत्वमा जाने सोच राख्नेभन्दा वातावरण अनुकूल बनाउने र संविधान निर्माणमा सबै पार्टीलाई एकताबद्ध बनाएर अगाडि जानेगरी भूमिका निभाउँछ।
Q.
यस्तै तरिकाले संविधान बन्न सक्ला?
A.
संविधान बनाउनुपर्छ। जो संविधान बनाउने मामलामा बाधक हुन्छन् तिनीहरू देश र जनताका विरोधी ठहरिनेछन्। संविधान बन्दैन भन्ने लागेको छैन।
Q.
सेनापति प्रकरणमा तपार्इंको धारणा के?
A.
सेनाले सरकारको वैधानिक ढङ्गबाट आएको निर्देशनलाई स्वीकार गर्नुपर्छ। अहिले जुन आधारमा टेकेर माओवादीले प्रश्न सोधेका छन् ती आधारहरू गतिला र बलिया देखिँदैनन्। तर, दुइटैको बीचमा अन्तरविरोध रहेको यथार्थ हो। यसलाई सहज ढङ्गबाट हल गर्नका लागि दलहरूबीच विशेष छलफल हुनुपर्छ। जुनसुकै काम गर्दा सहमतिबाट गर्नुपर्छ भन्ने अन्तरिम संविधानको आदेश छ। कुनै एक पार्टीले सेनाजस्तो संवेदनशील विषयमा एक्लै निर्णय गर्न मिल्दैन। त्यसमाथि विद्रोही सेना राखेको पार्टीले एकलौटी ढङ्गबाट सेनाको मामलामा एक्लै कुनै काम गर्न मिल्दैन। नागरिक सर्वोच्चताको नाममा माओवादी सर्वोच्चता स्थापित गर्न खोजिएको देखिन्छ। यस अवस्थामा संविधान, कानुन, विधि र अन्य पार्टीसँगको सहमतिबाट समस्याको निकास निकाल्नुपर्छ।
Q.
सङ्क्रमणकालमा सेना परिवर्तन आवश्यक छ?
A.
सङ्क्रमणकाल होस् या अन्य कुनै काल सेनापतिले कस्तो व्यवहार गर्छन् भन्ने मुख्य हो। अहिलेको समस्यालाई समाधान गर्न प्रमुख पार्टीहरू एमाले, काङ्ग्रेस र माओवादीबीच छलफलबाट सहमति गरी निकास निकाल्नुपर्छ।
Q.
प्रधानसेनापति हटाउनु हुन्छ या हुदैन?
A.
सेनापतिलाई कारबाही गर्ने र मानमर्दन गर्नुपर्छ भन्ने पक्षमा म छैन। सहमतिबाट अगाडि बढ्नुपर्छ।
Q.
सहमति निस्केला?
A.
माओवादी सहमति गर्ने मनसायमा छ भने त अवश्य पनि सहमति निस्कन्छ।
Q.
एमालेले सेनापति र दोस्रो वरियताकालाई हटाएर तेस्रो वरियताकालाई प्रधानसेनापति बनाउने प्रस्ताव गरेको हो?
A.
त्यसबारे मलाई कुनै जानकारी छैन।
Q.
प्रधानमन्त्री प्रचण्डसँगको भेटमा के कुराकानी भयो?
A.
मैले पार्टीहरूबीचको सहमतिबिना कदम नचाल्नुहोस् भनेँ। यसले दूरगामी नोक्सानी पुर्यानउन सक्नेछ भनेर सचेत गराएँ।