Rishi Dhamala with Jhalanath Khanal
माओवादीसमेत राष्ट्रि्य सहमतिमा ल्याउनुपर्छ (झलनाथ खनाल
नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल, माधवकुमार नेपाल प्रधानमन्त्री भइसकेपछि नयाँ सरकारलाई पूर्णता दिन सक्रिय हुनुहुन्छ। पार्टीभित्र बौद्धिक नेताका रूपमा परिचित उहाँ राष्ट्रिय सहमतिको विकल्प नभएको बताउनुहुन्छ। माओवादी अध्यक्ष प्रचण्डसँग निकट सम्बन्ध भएको विश्लेषण भइरहँदा खनाल माओवादीसहितको राष्ट्रिय सहमतिको सरकारको पक्षमा उभिनुभएको छ। प्रधानमन्त्री नेपालको नेतृत्वमा संविधान पनि बन्ने र शान्ति–प्रक्रिया पनि तार्किक निष्कर्षमा पुग्ने ठोकुवा गर्ने खनालसँग घटना र विचारका लागि ऋषि धमलाले गर्नुभएको कुराकानी :
Q.
नयाँ सरकारले पूर्णता नपाउँदै सङ्कटमा परेको जस्तो छ नि?
A.
सरकार सङ्कटमा परेको होइन। यसले छिट्टै पूर्णता पाउँदै छ। सरकार अत्यन्त बलियो रूपमा स्थापित हुनेछ।
Q.
सरकार बलियो हुने आधार के होला?
A.
यो सरकारलाई नेपाली जनता, २२ दलको समर्थन छ। अन्तर्राष्ट्रिय जगत्को पनि समर्थन छ। सबैको समर्थन पाएपछि सरकार निश्चित रूपमा बलियो हुन्छ।
Q.
माओवादी त सरकारको विपक्षमा छ नि?
A.
माओवादी सरकारको विपक्षमा भए पनि उसलाई हामी पक्षमा ल्याउँछौँ।
Q.
माओवादीलाई सरकारको पक्षमा कसरी ल्याउन सकिएला?
A.
एकीकृत नेकपा माओवादीसँग बसेर कुरा गर्नुपर्छ। अहिलेको आवश्यकता भनेको सहमति र सहकार्य नै हो। द्वन्द्वको राजनीति नभई सहमतिको राजनीति स्थापित गर्नुपर्छ। त्यही सहमतिले नै सबैलाई एक ठाउँमा ल्याउनेछ।
Q.
माओवादीले त तपाईंहरूको सहमतिको आह्वानलाई लत्याइरहेको छ नि, होइन र?
A.
माओवादी सहमतिमा आउनुपर्छ र आउँछ। माओवादी सधंै असहमतिमा रहने अवस्था छैन। सहमतिबिना अगाडि बढ्ने विकल्प छैन। जो द्वन्द्वमा जान चाहन्छ उसको इतिश्री हुन्छ।
Q.
राष्ट्रिय सहमति त नारा मात्र भयो नि?
A.
१२ बुँदे समझदारीदेखि अहिलेसम्म आउँदा राष्ट्रिय सहमतिकै आधारमा अहिलेसम्म आएका छौँ। राजनीतिले अहिले जोल्टिङ खाएको छ। कसरी खायो भन्ने कुरा गम्भीर भएर सोच्दै जाने क्रममा फेरि हामी राष्ट्रिय सहमतिको नयाँ धरातलमा पुग्नेछौँ।
Q.
माधव नेपालको नेतृत्वको सरकारको आयु कति होला, अनुमान गर्न सकिएला?
A.
इतिहासले सुम्पिएका दायित्वहरू पूरा गरेपछि यो सरकारको आयु सकिन्छ।
Q.
के–के हो त्यो दायित्व?
A.
संविधान निर्माण, शान्ति–प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्यामउने, राज्यको पुनर्संरचना, आर्थिक क्रान्ति र राष्ट्रिय एकतालाई सुदृढ गर्ने सरकार, राजनीतिक दलहरू र नेपाली जनता सबैको कार्यभार हुन्।
Q.
काङ्ग्रेससँग तपाईंहरूको बिमति धेरै नै छन्, होइन?
A.
काङ्ग्रेससँग बिमति धेरै छन् साथै सहमति पनि छन्। हामी सहमति बनाएर अगाडि बढ्दै छौँ।
Q.
कुन–कुन कुरामा बिमति छन्?
A.
अहिले बिमतिको सवाललाई प्राथमिकता दिएका छैनौँ। काङ्ग्रेस या माओवादीसँग बिमतिका कुरा प्राथमिक होइनन्। अहिलेको आवश्यकता भनेको एकता हो। हामी एकताका लागि सकारात्मक ढङ्गले अगाडि बढिरहेका छौँ।
Q.
फोरमभित्र उपेन्द्र यादव या विजय गच्छेदार कसलाई सरकारमा ल्याउन चाहनुहुन्छ?
A.
हामी कुनै पनि दलको आन्तरिक मामलामा हस्तक्षेप गर्दैनौँ। उहाँहरू जो निर्णय गर्नुहुन्छ त्यसको सम्मान गर्छौं। अरू पार्टीभित्र विवाद गराउने नीति छैन।
Q.
तपाईंहरू अरूको दल फुटाउन खोज्दै हुनुहुन्छ भन्ने कुरा सही होइन त्यसो भए?
A.
यो नितान्त गलत कुरा हो। हामी अरू दल फुटाउन चाहँदैनौँ।
Q.
तपाईं पार्टीको अध्यक्ष भएर पनि किन प्रधानमन्त्री बन्नुभएन?
A.
मैले नै माधवकुमार नेपालको नाम प्रस्ताव राखेँ। उहाँको नाममा पार्टीले समर्थन गर्योभ। उहाँ प्रधानमन्त्री हुनुभएको छ। मलाई बडो खुसी लागेको छ।
Q.
प्रधानमन्त्री त अध्यक्ष नै हुनुपर्ने होइन?
A.
यसबारे योभन्दा बढी चर्चा गर्नु सान्दर्भिक छैन।
Q.
तपाईं मुलुकको प्रधानमन्त्री कहिले बन्न सक्नुहोला?
A.
मेरो निम्ति सिङ्गो भविष्य नै खाली छ।
Q.
भविष्यमा प्रधानमन्त्री बन्ने झलनाथ खनाल नै हो त्यसो भए?
A.
तपाईंको मुखमा लड्डु पसोस्।
Q.
प्रचण्डले तपाईंलाई प्रधानमन्त्री बनाउन चाहनुभएको होइन?
A.
त्यसबारे मलाई केही थाहा छैन। कुनै पनि व्यक्ति प्रधानमन्त्री बन्ने भनेको मुलुकको आवश्यकता र जनताको आकाङ्क्षाबाट हो।
Q.
मुलुकमा बृहत् प्रजातान्त्रिक मोर्चा बनाउने अभियानमा तपाईं कता हुनुहुन्छ?
A.
एकीकृत नेकपा माओवादीसहित सम्पूर्ण शक्तिहरूको बृहत् लोकतान्त्रिक मोर्चा बन्नुपर्छ। त्यसरी मात्र हामी संविधान निर्माण, शान्ति–प्रक्रिया र राज्यको पुनर्संरचनाको ऐतिहासिक अभिभारा पूरा गर्न सक्छौँ।
Q.
माओवादीबाहेकको लोकतान्त्रिक मोर्चा बन्दा तपाईं के गर्नुहुन्छ?
A.
माओवादीबाहेकको मोर्चा बनाउनु भनेको मुलुकलाई ध्रुवीकरणतर्फ लानु हो। यसले मुलुकलाई भौलीमा हाल्छ। मुलुकलाई खाडलमा हाल्ने कुरा कसैले सोच्न पनि हुँदैन। यो द्वन्द्व, रक्तपात र मुलुकलाई विभाजित बनाउने राजनीति हो। यस्तो राजनीति भनेको अदूरदर्शी मानिसहरूले सोच्ने कुरा मात्र हो।
Q.
तपाईं ध्रुवीकरणको पक्षमा हुनुहुन्न?
A.
नेकपा एमाले ध्रुवीकरणको पक्षमा छैन। कम्युनिस्ट र गैरकम्युनिस्ट भनेर ध्रुवीकरण गर्ने प्रयास प्रतिक्रियावादी र प्रतिक्रान्तिकारीको स्वार्थअनुरूप मात्र छ।
Q.
तपाईं पार्टीमा किन अल्पमतमा पर्नुभयो?
A.
यो गलत तत्वहरूले गरेको कुप्रचार मात्र हो। हाम्रो पार्टीभित्र मतान्तर भएर अल्पमत र बहुमत भन्ने कुरा छैन।
Q.
केपी ओलीलाई उपप्रधान तथा गृहमन्त्री बनाउने चर्चा छ नि?
A.
यसबारे मलाई कुनै जानकारी छैन।
Q.
तपाईंको पार्टीले यसबारे कुनै निर्णय गर्छ?
A.
हाम्रो पार्टीले संस्थागत निर्णय मात्र गर्छ। को सरकारमा जाने–नजाने संस्थागत निर्णयबाटै हुन्छ।