REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

Face to Face
Rishi Dhamala with  Ram Chandra Poudel

त्यो उनीहरूको दिवासपना हो - रामचन्द्र पौडेल नेपाली काङ्ग्रेसका वरिष्ठ उपसभापति रामचन्द्र पौडेल दोस्रो पुस्ताका प्रभावशाली नेता हुनुहुन्छ। बौद्धिक र तर्कशील क्षमता भएका नेता पौडेलले आगामी शनिबार हुने काङ्ग्रेस संसदीय दलको चुनावमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ। काङ्ग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको आफूलाई समर्थन हुनेमा ढुक्क पौडेल मध्यमार्गी र दिएको जिम्मेवारी पूरा गरिछाड्ने नेताका रूपमा परिचित हुनुहुन्छ। सभामुख, उपप्रधानमन्त्री, गृहमन्त्री, स्थानीय विकास, शान्ति र कृषिमन्त्रीको अनुभव बटुलिसक्नुभएका उहाँ परिपक्व र खारिएका नेता मानिनुहुन्छ। पौडेलले घटना र विचारका लागि ऋषि धमलासँग गर्नुभएको कुराकानीको मुख्य अंशः
Q.
तपाईंले संसदीय दलको नेताका लागि उम्मेदवारी दिन लाग्नुभएको हो?
A.
 हो। मैले यसपटक संसदीय दलको नेताको चुनावमा उम्मेदवारी दिने निर्णय गरेको छु। सबै साथीहरूसँग सरसल्लाहमा जुटेको छु। मलाई सबैको सहयोग र समर्थन हुनेमा विश्वस्त छु।
Q.
तपाईंलाई क–कसको सहयोग होला?
A.
मलाई नेपाली काङ्ग्रेसका नेतादेखि कार्यकर्ता सबैको सहयोग छ। नेपाली जनताको पनि समर्थन छ। जस्तोसुकै चुनौतीमा पनि राजनीतिक जीवनलाई दाउमा राखेर पार्टी र देशको हितका लागि काम गरेको छु। काङ्ग्रेसको लामो इतिहासलाई मनन गरेर लोकतान्त्रिक मूल्य र मान्यतामा टेकेर निरन्तर सक्रियता देखाएको छु। मेरो विगतको भूमिकालाई आमकाङ्ग्रेस नेता तथा कार्यकर्ताले सही मूल्याङ्कन गरेका छन्। लोकतान्त्रिक आन्दोलन, शान्ति–प्रक्रिया होस् या संविधानसभा निर्वाचनमा नै किन नहोस्, मैले पार्टी र देशको हितमा काम गरेँ।
Q.
तपाईंलाई संसदीय दलको नेता बनाउनुपर्ने कारण के?
A.
मैले माओवादीको नौमहिने शासनकालमा हत्या, हिंसा र अराजकताविरुद्ध सशक्त रूपमा आवाज उठाएँ। सेना, पशुपतिजस्ता प्रकरणमा मैले माओवादीको गलत कार्यको विरुद्ध आफूलाई अग्रपङ्क्तिमा उभ्याएँ। लोकतान्त्रिक मूल्य र मान्यताविरुद्ध हुने कुनै पनि कदम मेरा लागि सह्य हुँदैन। पार्टीका कार्यकर्तामाथि माओवादीबाट प्रहार हुँदा चुप लागेर बसिनँ। कार्यकर्ताको घरदैलोमा पुगेर सुखदुःखको साथी भएँ। मैले पार्टीका लागि धेरै काम गरेको छु। जनतामाझ पार्टीको छवि उठाउन धेरै त्याग गरेको कुरा जगजाहेर छ। मेरा यिनै भूमिकाका कारण देशभरका कार्यकर्ताबाट संसदीय दलको नेताको उम्मेदवारी दिन आवाज उठिरहेको छ।
Q.
कुनै कारणबस तपाईं उम्मेदवारीबाट पछि त हट्नुहुन्न?
A.
अँ हँ, म पछि हट्दिनँ। निर्णय गरिसकेको छु। चुनावमा उठ्छु। सर्वसम्मत हुनेमा विश्वस्त छु। प्रतिस्पर्धा नै भए पनि भाग्दिनँ।
Q.
गिरिजाबाबु चुनावमा उठ्नुभयो भने के गर्नुहुन्छ?
A.
गिरिजाबाबुले आराम गर्छु भन्नुभएको छ। संसदीय दलको नेता बन्दिनँ, पार्टीको जिम्मेवारी पनि सुम्पन्छु भन्नुभएको छ। उहाँले हामीहरूलाई अगाडि बढ्न भन्नुभएको छ। पार्टीमा सक्रिय रूपमा काम गर्न स्वास्थ्यले दिँदैन भन्नुभएको छ। सुशीलजीलाई सभापतिका रूपमा सक्रियता देखाउन भन्नुभएको छ। मेरो पनि उहाँलाई समर्थन छ। गिरिजाबाबुले काङ्ग्रेसलाई सामूहिक नेतृत्वमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको छ। उहाँको इच्छा काङ्ग्रेस सशक्त, सुसङ्गठित र एकताबद्ध बनिरहोस् भन्ने छ। सबैलाई मिलेर जान आग्रह गर्नुभएको छ। गिरिजाबाबुको चाहना भनेको मुलुकमा लोकतन्त्र बलियो होस्, शान्ति–प्रक्रिया तार्किक निष्कर्षमा पुगोस् र काङ्ग्रेस पार्टी झनै सशक्त होस् भन्ने छ।
Q.
त्यसो भए गिरिजाबाबुको समर्थन तपाईंलाई छ?
A.
एकदम, मलाई गिरिजाबाबुको समर्थन छ। मैले उहाँसँग लामो समय काम गरेर साथ दिएको छु। पार्टीमा वरिष्ठ उपसभापति भएर उहाँसँग बसेर काम गरेको छु। उहाँ प्रधानमन्त्री हुँदा पनि उपप्रधानमन्त्री भएर काम गरेको छु। गिरिजाबाबुले बुझ्नुभएको छ कि पार्टी फुट्दा पनि मैले उहाँलाई साथ दिएको हुँ। जस्तोसुकै अप्ठ्यारोमा पनि साथ दिएको छु। गिरिजाबाबुले संसदीय दलको चुनाव नलडेपछि हक मलाई छ।
Q.
शेरबहादुर देउवा, केबी गुरुङले पनि चुनाव लड्ने भन्नुभएको छ नि?
A.
मैले सबैसँग कुरा गरेको छु। म चाहन्छु कि मेरो नाममा सर्वसम्मत होस्। पार्टीमा सबै मिलेर जानुपर्छ। शेरबहादुरजी र केबीजीले मलाई समर्थन गर्नुहुन्छ। हामी एकताबद्ध भएर सामूहिक जिम्मेवारी लिएर अगाडि बढ्नुपर्छ। उहाँहरू लड्नुहुन्छ भने पनि म पछि हट्दिनँ।
Q.
सुशील कोइराला र प्रकाशमान सिंहको समर्थन तपाईंलाई हो?
A.
मलाई गिरिजाबाबुदेखि सुशील कोइराला, शेरबहादुर देउवा, प्रकाशमानजी, केबी गुरुङजी सबैले समर्थन गर्नुहुन्छ। म सबैको साझा उम्मेदवार हुनसक्छु।
Q.
सुशील कोइरालाले कार्यवाहक सभापति भएर काम गर्न नसक्नुभएको भनिन्छ, तपाईंलाई के लाग्छ?
A.
सुशीलजीले जे गर्नुभएको छ राम्रो गर्नुभएको छ। उहाँको भूमिकाप्रति म सन्तुष्ट छु। पार्टी एकतापछि उहाँलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको थियो। तर, उहाँ सक्रिय भइरहनुभएको छैन। हाम्रो उहाँलाई पूर्ण समर्थन छ कि सक्रिय भएर सभापतिको भूमिका निभाउनुहोस्। पार्टीको सङ्गठनमा रहेका विवाद मिलाउन कदम चाल्नुहोस्। उहाँको कदममा म हरहमेसा साथ दिन्छु।
Q.
तपाईं सुजाता कोइरालालाई सरकारको नेतृत्व गरेर पठाएपछि गिरिजाबाबुकहाँ जानै छाड्नुभयो रे नि?
A.
गिरिजाप्रसाद कोइरालाकहाँ म जान छाडेको छैन। म जहिले पनि गएको छु र जान्छु। उहाँ हाम्रो आदरणीय नेता हुनुहुन्छ। सुजाता कोइरालालाई मन्त्री बनाउनुहुँदैन भन्ने पक्षमा पनि म थिइनँ। नेतृत्वको बारेमा केही कुरा उठेको थियो। त्यो पुरानो भइसक्यो। अब पार्टी एकताबद्ध भएर नयाँ ढङ्गले अगाडि बढ्छ।
Q.
सुजातालाई नेतृत्व गरेर पठाएपछि विवाद टुङ्गिएको हो?
A.
कुनै मुद्दामा विवाद हुनु स्वाभाविक हो। लोकतान्त्रिक पार्टीमा यस्तो भइरहन्छ। तर, हामीले एउटा निर्णय गरिसकेका छौँ कि पार्टीलाई नयाँ जीवन दिनुपर्छ। जनतामा रहेको विश्वासलाई अझै बढाएर अगाडि जानुपर्छ। सबैको ध्यान महाधिवेशनतिर केन्द्रित हुनुपर्छ। यो कुरा पुरानो भइसक्यो।
Q.
सरकारले पूर्णता पाउन नसक्नुमा दोषी को हो?
A.
म कसैलाई दोष दिन चाहन्नँ। यो संयुक्त सरकार हो र सामूहिक भावनाबाट अगाडि बढ्नुपर्छ। दोष सबैले लिनुपर्छ।
Q.
सरकारको आयु लामो छैन भन्छन् नि?
A.
त्यो पनि गलत हो। यो सरकारले संविधान बनाउने र शान्ति–प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्या्उन सक्छ भन्नेमा हामी विश्वस्त छौँ। यसले लक्ष्य पूरा गरोस् भन्ने हाम्रो चाहना हो।
Q.
माओवादी सरकारमा आउला?
A.
माओवादी पनि सरकारमा आउनुपर्छ। उसले गलत चिन्तन र मानसिकता त्याग्नुपर्छ। जनसरकार ब्युँताउने काम गर्दै छ। यो राज्यविरुद्धको अपराध हो। तत्काल यस्ता कदम नछाडे कारबाही गर्नुपर्छ।
Q.
माओवादी जनगणतन्त्रमा जाने रे नि?
A.
त्यो उनीहरूको दिवासपना हो। माओवादीले चाहेजस्तो जनगणतन्त्र असम्भव छ। उसले आफूलाई सुधार्नुपर्छ। अझै पनि सैन्य चिन्तन हावी छ। हतियार सबै राज्यलाई बुझाएर शिविर खाली गर्नुपर्छ।
‹‹ Back
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.