Rishi Dhamala with Sushil Koirala
सरकार ढल्दै ढल्दैन - सुशील कोइराला
नेपाली काङ्ग्रेसका कार्यवाहक सभापति सुशील कोइराला पार्टीमा शक्तिशाली नेताका रूपमा देखिनुभएको छ। काङ्ग्रेसले सुजाता कोइरालालाई सरकारमा पार्टीको नेतृत्व गरेर पठाएपछि उहाँ असन्तुष्ट देखिनुभएको थियो। कहिले पनि सरकारमा जान नचाहने बरु पार्टीमा विधि, पद्धति र अनुशासनको सवालमा खरो रूपमा प्रस्तुत हुने कोइराला निकट भविष्यमा हुने काङ्ग्रेसको महाधिवेशनमा सभापतिका प्रबल दाबेदारका रूपमा देखिनुभएको छ। त्यागी, सङ्घर्षशील र इमान्दार नेता सुशील कोइराला उपचारका लागि अमेरिकामा हुनुहुन्छ। अमेरिका जानुअघि उहाँले घटना र विचारका लागि ऋषि धमलासँग खुलेर कुरा गर्नुभयो। उहाँसँगको कुराकानीको मुख्य अंशहरूः
Q.
सुजाता कोइरालालाई सरकारमा पार्टीको नेतृत्वकर्ताका रूपमा पठाएपछि निकै असन्तुष्ट हुनुभयो नि?
A.
जुन रूपमा असन्तुष्टिको कुरा बाहिर आयो त्यो त्यति सत्य होइन। हामी सबै साथीहरूको भनाइ पार्टीको नेतृत्वमा वरिष्ठ मान्छे पठाऊँ भन्ने थियो। सुजाता कोइराला मन्त्री हुनुहुँदैन भनेर मैले भनेको पनि थिइनँ। मन्त्री भइसकेको र प्रक्रिया अगाडि बढिसकेकाले धेरै चर्काउनुभन्दा पनि आगामी दिनमा कसरी सुधार गरेर जाने भन्ने मह140वपूर्ण कुरा हो।
Q.
गिरिजाप्रसाद कोइरालालाई तपाईंहरूले नै सरकारमा पठाउनेको टुङ्गो लगाउन अधिकार दिनुभएको होइन र?
A.
हो। पार्टीको केन्द्रीय समिति र संसदीय दलले पार्टी सभापतिलगायत केही पदाधिकारीलाई छलफल गरेर टुङ्गो लगाउने कुरा भएको हो। छलफल गरेर टुङ्गो लगाएको भए विवाद यसरी आउने थिएन। पार्टी सभापतिले एउटा निर्णय गरिसक्नुभएको छ। अब विवाद गरेर बस्ने होइन, एकता र पार्टी सुदृढीकरणका लागि लाग्ने हो। संसदीय दलको निर्वाचनले नयाँ सन्देश दिइसकेको छ। पार्टीमा युवा पुस्तालाई अगाडि बढाउने, सामूहिक नेतृत्वलाई सशक्त बनाउने र पार्टीलाई नयाँ रक्तसञ्चार प्रदान गर्ने अभियान चलाउनुपर्छ।
Q.
गिरिजाबाबुसँग तपाईंको असन्तुष्टि के हो?
A.
मेरो र गिरिजाबाबुबीच जे कुरा आएका छन् त्यसमा कुनै सत्यता छैन। ती कुराहरू अनुमानको भरमा लेखिएको छ। मेरो र गिरिजाबाबुको बीचमा कुनै विवाद पनि छैन। मैले विगतमा पनि उहाँलाई सहयोग गर्दै आएको हुँ, आज पनि गर्छु र भोलि पनि गर्नेछु। संसदीय दलको चुनावमा सहमतिको आग्रह गर्दै त्याग देखाउनुभएको छ। उहाँको मार्गनिर्देशअनुसार पार्टी चल्छ।
Q.
तपाईं गिरिजाबाबुलाई भेट्नै जान छाड्नुभयो रे नि?
A.
त्यो कुरा गलत हो। मैले अहिले भर्खर भेटेर आएको छु। अमेरिका जानुभन्दा अगाडि पार्टी सभापतिसँग सल्लाह गरेको छु। आगामी दिनमा पार्टीलाई कसरी अगाडि बढाउने भनेर छलफल गरेको हुँ। मैले गिरिजाबाबुलाई नभेट्ने कुरै आउँदैन। अब काङ्ग्रेस नयाँ ढङ्गले नयाँ कार्यक्रम र दृष्टिकोण लिएर अगाडि बढ्छ।
Q.
तपाईंले रामचन्द्र पौडेललाई संसदीय दलको नेतामा समर्थन गर्नुको कारण के हो?
A.
पार्टी सभापति गिरिजाबाबुले संसदीय दलको नेता हुन्न भनिसक्नुभएको थियो। सबैलाई मिलेर स्टेट्म्यानसिप देखाउन भनिसक्नुभएपछि प्रतिस्पर्धामा साथीहरू आउनुभयो। रामचन्द्रजीले जित्नुभयो। म निकै खुसी छु। तर, सबैलाई मिलाएर सहमति, एकताका साथ जानुपर्छ। शेरबहादुरजी, रामचन्द्रजी, कुलबहादुरजी, सुप्रभाजी चारैजनाले हार र जितको मानसिकता त्यागेर सबैलाई समेटेर अगाडि बढ्नुपर्छ। रामचन्द्रजी संसदीय दलको नेता भएर मह140वपूर्ण भूमिका पाउनुभएको छ।
Q.
काङ्ग्रेसको शक्तिकेन्द्र अब तपाईं रे हो?
A.
म काङ्ग्रेसको कार्यकर्ता हुँ। मेरो आफ्नो मूल्य र मान्यता छ। यो पार्टीलाई अनुशासित, सक्षम, सबल र प्रभावकारी बनाउनुपर्छ भन्ने मेरो लक्ष्य हो। युवासाथीहरूमा नयाँ आशा र विश्वास जगाउनुपर्छ। पार्टीमा क्षमतावान युवाहरूको भविष्य सुनिश्चित छ। यसलाई व्यवहारमा उतारेर देखाउनैपर्छ।
Q.
गिरिजाबाबुले सभापति छाडेर तपाईं बन्ने हो कि?
A.
काङ्ग्रेसको महाधिवेशन यसै वर्ष हुँदै छ। सबैको ध्यान महाधिवेशनमा केन्द्रित छ। गिरिजाबाबु काङ्ग्रेसको मात्र नभएर सिङ्गो देशको नेता हुनुहुन्छ। उहाँको आवश्यकता पार्टीमा मात्र नभएर देशमै छ। मुलुकमा राष्ट्रिय सहमति, सहकार्य र एकताका साथ अगाडि बढाउने अभियान छ। त्यो अभियानमा सबैको सहयोग हुनुपर्छ। उहाँ सर्वस्वीकृत नेता हुनुहुन्छ। गिरिजाबाबुलाई हामी सधंै सहयोग गर्छौं।
Q.
तपाईं सभापतिमा लड्नुहुन्छ?
A.
पहिला महाधिवेशनको प्रक्रिया सुरु हुन दिनुहोस्। साथीहरूसँग सल्लाह गरेर म निर्णय गर्छु।
Q.
काङ्ग्रेसको महाधिवेशन कहिले हुन्छ?
A.
काङ्ग्रेसको महाधिवेशन यसै वर्षको मङ्सिरभित्र हुनुपर्छ। महाधिवेशनले पार्टीलाई ठूलो ऊर्जा प्रदान गर्छ।
Q.
सरकार सञ्चालन गर्ने कार्यशैलीप्रति तपाईं सन्तुष्ट हुनुहुन्छ?
A.
हामी सबैको एउटै मिसन हो– माधवकुमार नेपाल नेतृत्वको सरकारलाई सफल बनाउने। यो सरकारमा काङ्ग्रेसको सहभागिता छ, पूर्ण सहयोग र समर्थन हुन्छ। नयाँ संविधान नबनेसम्म यो सरकारले काम गरेर देखाउँछ।
Q.
सरकार बीचैमा ढल्छ भन्छन् नि?
A.
अहिले सरकार ढल्दै ढल्दैन। जबसम्म शान्तिप्रक्रिया तार्किक निष्कर्षमा पुग्दैन तबसम्म यसले काम गर्छ। संविधान बनेर नयाँ सरकारलाई हस्तान्तरण गरेपछि मात्र बिदावारी हुन्छ।
Q.
माओवादीबिनाको सरकार कसरी अगाडि बढ्छ?
A.
माओवादी पनि सरकारमा आउनुपर्छ। सहमतिको विकल्प छैन। सहमतिमा आएर संविधान बनाउने प्रक्रियालाई सहयोग पुर्याउनुपर्छ। आफ्ना गतिविधिलाई सच्याएर सरकारमा सहभागी बन्नुपर्छ।