REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

Face to Face
Rishi Dhamala with  Khum Bahadur Khadka

खुमबहादुर खड्का, नेता नेपाली कांग्रेस नेपाली कांग्रेसका शक्तिशाली नेता खुमबहादुर खड्का यतिबेला राष्ट्रिय चर्चाको शिखरमा हुनुहुन्छ । कांग्रेसका कर्मठ, जुझारु र क्रान्तिकारी नेता खड्का दुईपटक गृहमन्त्री भइसक्नुभएको छ । कांग्रेसको आउँदो महाधिवेशनमा सभापतिमा लड्ने तरखरमा रहनुभएका नेता खड्कासँग रिपोर्टर्स नेपाल डटकमका लागि पत्रकार ऋषि धमलाले गरेको कुराकानी :
Q.
हिन्दु राष्ट्र घोषणा गराउने एजेन्डामा ज्ञानेन्द्र, गिरिजाबाबु, प्रचण्ड, खुमबहादुर सबैको कुरा मिल्छ ?
A.
हिन्दु राष्ट्र घोषणा गराउने एजेन्डामा नेपाली जनताकै कुरा मिल्छ ।
Q.
हिन्दु राष्ट्र घोषणा गराउने अभियानमा सफल हुनुहुन्छ त ?
A.
हिन्दु राष्ट्र घोषणा गराउने अभियान सफल हुन्छ ।
Q.
यो अभियानमा पूर्व राजा ज्ञानेन्द्रको पनि साथ रहन्छ ?
A.
उहाँ पनि हिन्दु हो । उहाँलाई पनि हिन्दु राष्ट्र घोषणा चाहिएको छ । यसमा सबैको सहयोग चाहिन्छ । कृष्णप्रसाद भट्टराई पनि बोल्नुभएको छ, सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, कमल थापा, पशुपतिशमशेर, गिरिजाबाबु, प्रचण्ड र माधवकुमार नेपालको सबैको सहयोग चाहियो नि ।
Q.
प्रचण्डको पनि हिन्दु राष्ट्र घोषणा गराउने अभियानमा सहमत होलान् ?
A.
आउनुपर्छ । जनताको भावना कसले कुल्चन सक्छ ?
Q.
हिन्दु राज्यका बारेमा तपाईंको र ज्ञानेन्द्रको कुरा त मिल्यो नि ?
A.
मैले त पहिल्यै नै भनिसकेको छु, यो धर्म निरपेक्षताको घोषणा नै गलत थियो । जनमत संग्रहबाट गरेको भए राम्रो हुन्थ्यो । जहाँ ८०, ८५ प्रतिशत हिन्दु छन्, त्यहाँ धर्म निरेपक्षताको घोषणा गरेर नेताहरुले खेलवाड गरेका छन् । त्यसमा मेरो सहमति थिएन र छैन । यो देशलाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्छ भन्ने मेरो मान्यता हो । सकेसम्म निरपेक्षता जस्तै हिन्दु राष्ट्र घोषणा गराउने हो, नभए जनमत संग्रहबाट गराउने ।
Q.
पशुपतिमा राजा ज्ञानेन्द्रसँग तपाईंको केके कुराकानी भयो ?
A.
हत्तेरी, यज्ञमा भेट भएको हो । कहाँ ज्ञानेन्द्रसँग भेट मागेको हो र ? उहाँ पनि आउनुभयो, म पनि गएको थिएँ । यज्ञमा भेट भयो । त्यत्ति हो ।
Q.
साँच्चै यसमा जनताले साथ देलान् त ?
A.
नेपाली जनताको साथ नभएको भए बाबाकहाँ यस्तो भीड लाग्थ्यो ? यसबाट मापन हुँदैन र ?
Q.
काली बाबा र ज्ञानेन्द्रबीच विशेष सम्बन्ध छ भन्छन् नि ?
A.
त्यो मलाई थाहा छैन । त्यो उहाँहरुको कुरा हो । मलाई के थाहा ?
Q.
तपाईंको सम्बन्ध चाहिँ कस्तो छ ?
A.
कालीबाबासँग मेरो सम्बन्ध राम्रो छ ।
Q.
तपाईं कालीबाबालाई किन मान्नुहुन्छ ?
A.
उहाँमा जुन शक्ति छ, मैले त्यसैलाई मानेको हुँ ।
Q.
कालीबाबासँग त्यस्तो शक्ति के छ ?
A.
केही नखाएर, पानी नपिएर जसले यज्ञ गरिरहेको छ, ऊसँग शक्ति नभएर कोसँग हुन्छ ? उहाँको यज्ञ पूरा हुने कुरामा म विश्वस्त छु ।
Q.
बाबाहरुमा तपाईंले सबैभन्दा मान्ने को हो ?
A.
बाबाहरुमा मैले सबैभन्दा मान्ने कालीबाबा नै हो ।
Q.
पहिलेदेखि नै भेटघाट थियो उहाँसँग ?
A.
पहिले बाबाहरुप्रति मेरो कुनै आकर्षण थिएन । कालीबाबासँग मेरो चिनचान भएको एक वर्ष भयो । पहिलो भेटबाटै म आकषिर्त भएँ ।
Q.
औठी पनि खुब लगाउनुहुँदो रहेछ ?
A.
साइबाबाले दिनुभएको हो ।
Q.
साइबाबाबाट पनि प्रभावित हुनुहुन्छ ?
A.
एकदमै । नहुने कुरै भएन ।
Q.
राजतन्त्र फर्काउन त तपाईंले मुभ गरेको होइन ?
A.
राजतन्त्र फर्काउन होइन, हिन्दु राष्ट्र हुनुपर्छ भनेर हो ।
Q.
राजतन्त्र फर्काउन खुमबहादुर र ज्ञानेन्द्र मिले भनिँदै छ नि ?
A.
भने होलान् । भन्नेको मुख कसले थुन्न सक्छ ? माओवादीले राजा राष्ट्रवादी भन्दा केही नहुने, खुमबहादुरले यहाँ एउटा यज्ञमा राजालाई भेट्दा प्रलय हुन्छ भने मैले के भन्ने ?
Q.
ज्ञानेन्द्र र्फकन्छन् किन र्फकदैनन् त ?
A.
जनताले चाहे र्फकने हो, नचाहे के र्फकने ?
Q.
तपाईंले आधा घण्टा कुरा गर्नुभयो रे ?
A.
होइन, होइन । खास केही कुरा भएको होइन ?
Q.
गोप्य कुराकानी गरेपछि तपाईंले टाउको हल्लाउनुभएको होइन ?
A.
होइन, होइन । गोप्य कुरा पनि त्यस्तो ठाउँमा होला त ?
Q.
कांग्रेस महाधिवेशन हुन्छ त ?
A.
हुन्छ भन्दा पनि होइन गर्नुपर्छ । वैशाखको अन्तिमसम्म गर्नुपर्छ भनेकेा थिएँ मैले । पदाधिकारीबाट जेठ २७ गतेको प्रस्ताव आएको छ । त्यसलाई म समर्थन गर्छु ।
Q.
महाधिवेशनमा सभापतिमा उठ्नु होला नि ?
A.
मैले निर्णय गरिसकेको छैन । कार्यकर्ता साथीभाइसँग सल्लाह गरेर निर्णय गर्छु ।
Q.
पार्टीलाई व्यापक शुद्धीकरण गर्नुपर्दैन ?
A.
पार्टीलाई शुद्धीकरण गर्ने होइन, सुदृढ बनाउने हो । यो चालाले त पार्टी खत्तमै हुन्छ । पहिले नेपाली कांग्रेस वरिपरि मुलुकको राजनीति घुम्थ्यो भने अहिले माओवादी बोलेपछि त्यसको पेरिफेरिमा अरु पार्टी घुम्ने गरेका छन् । म कांग्रेसले बोलेपछि अरुले सुनुन् भन्ने चाहन्छु ।
Q.
भनेपछि परिआए नेतृत्व लिन पछि हट्नु हुँदैन ?
A.
यसमा पछि हट्ने भन्ने कुरै छैन । पहिले त कार्यकर्ता साथीहरुले चाहनुपर्‍यो ।
Q.
शेरबहादुर देउवा र सुशील कोइराला तपाईंको सिनियर, जुनियर के हुन् ?
A.
उमेरको हिसाबले सुशील दाइ नै सिनियर हुनुभयो । राजनीतिक रुपले भन्ने हो भने शेरबहादुर सिनियर हुन् जस्तो लाग्छ । सुशील दाइसँग २०२९ सालमा चिनजान भएको हो मेरो । शेरबहादुरजीसँग २०२७ सालमै नेविसंघको पहिलो महाधिवेशन हुँदा भेटेको हुँ । को जुनियर, को सिनियरभन्दा पनि कसले पार्टीलाई अघि बढाउन सक्छ भन्ने कुरा हो । तर, राजनीतिक त्यागका हिसाबले भने म नै सिनियर हुँ । निर्वासन, जेलदेखि पार्टी काम पनि उहाँहरुले भन्दा मैले नै बढी गरेको छु । राजनीतिमा को पहिले लागे भन्ने मलाई थाहा छैन । मैले चाहिँ २०२३ मा डिएसवाइएलको सदस्यता लिएको हुँ ।
Q.
शेरबहादुर देउवासँग तपाईंको सम्बन्ध कस्तो छ ?
A.
राम्रो छ । राम्रंो छ ।
Q.
देउवाले पार्टीलाई राम्रोसँग हाँक्नु होला ?
A.
सम्बन्ध राम्रो हुनु एउटा कुरा हो । पार्टी हाँक्ने कुरा अर्को भयो । यसबारे उहाँलाई नै बढी थाहा छ । तीनचोटि प्रधानमन्त्री भइसक्यो । कांग्रेस प्रजातान्त्रिकको पनि सभापति हुनुभयो । मूल्यांकन कार्यकर्ताले गर्छन् ।
Q.
तपाईं सभापति नलड्ने, उपसभापति र महामन्त्रीमा लड्ने ताकमा हुनुहुन्छ रे ?
A.
सभापतिमा लडिनँ भने बरु सदस्यमै लडुँला । तर, म महामन्त्रीमा लड्दिन । लड्नैपर्छ भन्ने पनि के छ र ? ८, १० वर्ष पार्टीले माइनस गरे पनि मेरो के बिगि्रयो र ? कार्यकर्ताले पक्कै पनि यसलाई बुझेका छन् । प्रजातान्त्रिक कांग्रेसमा महामन्त्री भइसकेकै हुँ ।
Q.
देउवा र सुशीलमा तपाईंको समर्थन कसलाई ?
A.
कसैलाई छैन । मेरो समर्थन र विरोध दुवै छैन ।
Q.
कांग्रेसमा दुईजनाबाहेक अरु को आउला ?
A.
खोइ को छ त्यस्तो ? केबी गुरुङ, प्रकाशमान, रामचन्द्र, नरहरिजीको नाम पनि सुनेको छु ।
Q.
कांग्रेसको भविष्य अन्धकार छ भन्छन् नि ?
A.
कसले गर्दा भयो त्यो । तपाईं जोसँग निकट भएर रहनुभयो, उहाँहरुले गर्दा भयो ।
Q.
गिरिजाबाबुकै कारण हो त ?
A.
यसमा शंकै छैन । यसमा उहाँले नैतिक जिम्मेवारी लिनैपर्छ । त्यसमा हामी पनि दोषी हौं । मुलुकले निकास पाउँछ भनेर हामीले म्यान्डेट दिएको हो । ल्यान्डिङ ट्याक्टफुली हुन नसकेकाले कांग्रेसको यस्तो हालत भयो ।
Q.
तपाईं युद्धको पक्षमा कि शान्तिको पक्षमा ?
A.
शान्तिको पक्षमा ।
Q.
माओवादीले त शान्ति र संविधानका लागि सत्ता मागेकेा छ नि ?
A.
माओवादीलाई सत्ता चाहिएको भए संसदमा बहुमत पुर्‍याए हुन्छ । शान्ति दिन्छु भन्यो भन्दैमा गुण्डालाई सत्ता सुम्पने त ? यदि उसले जनगणतन्त्रमा जाने सोचेको छ भने त्यो कहिल्यै विपना दिइँदैन ।
Q.
अब के हुन्छ त ?
A.
माओवादीको लडाकु समायोजन नभई संविधान जारी हुँदैन । संविधानसभाले १४ जेठमै संविधान जारी गर्नुपर्छ । त्यसमा संविधान नआए म्याद थप्न मिल्दैन । त्यसपछि म्याद थप्ने होइन, फेरि संविधानसभाको चुनाव हुनुपर्छ ।
Q.
संविधान जारी नभए दोष कसलाई जान्छ ?
A.
जिम्मा त लिनुपर्छ नि नेताहरुले । सबै टेस्टेड हुन् । यहाँ को सफल नेता छ र ? प्रचण्ड नौ महिना प्रधानमन्त्री भएकै हुन् । विद्यार्थी नेताजस्तो रबैया देखियो । माधवकुमार नेपालको बारेमा के कमेन्ट गर्ने ?
Q.
गिरिजाबाबुसँग तपाईंको धेरै गुनासो छन् है ?
A.
गुनासो होइन, गिरिजाबाबुप्रति मेरो आदर र श्रद्धा छ । तर राजनीतिक रुपमा त गिरिजाबाबुले मलाई त समाप्तै गर्न खोज्नुभएको हो ।
Q.
तपाईंलाई गृहमन्त्री बनाउने कुरा पनि थियो ?
A.
मलाई मन्त्रीको के रहर छ र ? मैले दुईपटक मन्त्रीबाट राजीनामा दिएको हुँ । कतिफेर गृहमन्त्री हुने ? भए एकपटक प्रधानमन्त्री हुने हो । मेरो न दरबारसँग सम्बन्ध, न भारतसित सम्बन्ध न अमेरिकासँग, न चीनसँग सम्बन्ध न युरोपियन युनियनसँग । भाग्य भएको भए शेरबहादुरको पालामा मै प्रधानमन्त्री हुन्थेँ नि । राष्ट्रवादी र इमानदार मान्छे को अघि बढेको छ नेपालमा ? यो सतीले सरापेको देश हो ।
‹‹ Back
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.