ऋषि धमला with प्रदीप नेपाल
चुनाव नभए दुर्घटना हुन्छः प्रदीप नेपाल, शिक्षामन्त्री
Q.
संविधानसभाको निर्वाचन मंसिर ६ गते हुन्छ ?
A.
हुन्छ, हुन्छ।
Q.
कसरी हुन्छ, आधार के छ मन्त्रीज्यू ?
A.
नगरिकन उपाय छैन। वाईसीएल आफैं नियन्त्रित हुनुपर्छ। तराईमा एकदुई ठाउँमा डिस्टर्ब होला। त्यो पनि फेरि फुटेर टुक्रा टुक्रा भइसकेको रहेछ। उनीहरु आफूआफूमा मारामार गरेरै भ्याउँदैनन्। चुनाव त हुनैपर्छ र हुन्छ पनि।
Q.
वार्ता गर्ने कि दबाउने त ?
A.
वार्ता त गरिरहेका छन् नि साथीहरुले। शान्ति मन्त्रालय वार्ता गर्यागर्यै छ।
Q.
वार्ताको परिणाम केही निस्केको छैन नि ?
A.
मंसिर ५ गतेसम्म वार्ता लगातार गरिरहनुपर्छ। परिणाम निस्किहाल्छ नि।
Q.
चुनाव भएन भने के गर्ने त ?
A.
त्यतातिर सोच्नै हुँदैन। चुनाव भएन भने, हाम्रो देश यो हालतमा रहँदैन।
Q.
के हुन्छ गृहयुद्ध चर्कन्छ ?
A.
गृहयुद्ध हुँदैन।
Q.
लोकतन्त्र जान्छ त ?
A.
त्यो पनि जान्छ कि जाँदैन तर यो हालतमा रहँदैन।
Q.
उसो भए सैनिक शासन सुरु हुन्छ ?
A.
त्यो पनि हुन्छजस्तो मलाई लाग्दैन। एकखालको गम्भीर राजनीतिक संकट आउँछ। हामीले पाएको विदेशी सहयोग समाप्त हुनेबित्तिकै हामी असफल राष्ट्र हुन्छौं।
Q.
त्यतिबेला मुलुकको नेतृत्व असफल ठहरिन्छ होइन ?
A.
त्यो पनि अलिअलि हो। तर, माओवादी र माओवादीबाट प्रशिक्षित बन्दुकेहरुकै मूल भूमिका रहन्छ।
Q.
उसो भए माओवादी सत्तामा गएपछि पनि परिवर्तन भएको छैन?
A.
चेन्ज त भयो। बन्दुक बोकेर लड्नेहरु क्यान्टोनमेन्टमा छन्। तर, हिंसाबाहेक सभ्यताको अर्को कुनै नामै छैन भन्ने गलत मानसिकता फेरिएको छैन।
Q.
वाईसीएलको गतिविधि उस्तै छ होइन?
A.
त्यही त बेठीक छ।
Q.
वाईसीएललाई प्रतिबन्ध लगाउने त?
A.
पर्दैन, पर्दैन। जसले कारबाही गर्छ, त्यसलाई फौजदारी कारबाही गर्नुपर्छ ?
Q.
गृहमन्त्रीले त कारबाही गर्नुभएको छैन नि?
A.
त्यो त मैले जवाफ दिने कुरा होइन।
Q.
तपाईं पनि मन्त्री हुनुहुन्छ नि?
A.
मैले कारबाही गर्ने हो र? गृहमन्त्रीले गर्ने हो। त्यसै हुनाले मैले गृहमन्त्रीका बारेमा थुप्रैपटक बोलिसकें।
Q.
गृहमन्त्रीले के गर्नुपर्छ त?
A.
जस्तो अपराध गरेको छ, त्यस्तै दण्ड दिने।
Q.
दण्ड दिन नसके के गर्ने त?
A.
मैले भनिसकें, सक्दै सक्नुहुन्न भने छाडिदिनुपर्छ।
Q.
राजीनामा दिनुपर्छ भन्न खोज्नुभएको हो?
A.
होइन, उहाँले छाडिदिनुपर्छ। त्यो मेरो काम होइन। मैले भनिसकेको छु। मैले उहाँलाई भनें। म भएको भए राजिनामा दिन्थें।
Q.
एमालेको बैठकले के गर्दैछ?
A.
बैठकमा म गएको छैन। मलाई थाहा छैन। कता कता फसिरहेको छु।
Q.
संविधानसभा निर्वाचनमा एमालेको बहुमत आउँछ?
A.
एमालेको बहुमत नभए त गणतन्त्र नै आउँदैन नि। हामी गणतन्त्रका लागि बहुमत ल्याउँछौं।
Q.
राजतन्त्रको अन्त्य कहिले हुन्छ?
A.
संविधानसभाको पहिलो बैठकबाट।
Q.
संसद्बाट हटाउन मिल्दैन?
A.
म त ठाउँ देख्दिन। संविधानमा पनि ठाउँ देख्दिन।
Q.
तपाईंको चुनावी तालमेल कोसित हुन्छ?
A.
मेरो कसैसित हुँदैन।
Q.
एमालेको नि ?
A.
पार्टीसितै सोध्नुपर्छ।
Q.
वाम एकता नि हुँदैन?
A.
अहँ, हुँदैन। एमाले एक्लै जान्छ।