ऋषि धमला with प्रकाशमान सिंह
कांग्रेस एकता गणतन्त्रको लागि हो :
प्रकाशमान सिंह
Q.
दुई कांग्रेसको एकता किन आवश्यकता भयो?
A.
दुई कांग्रेसको एकीकरणलाई लिएर कार्य दलहरु गठन भएको थिए। एकताको घोषणाको लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुगिसकेको छ। सम्मानजनक एकताको लागि हाम्रो पार्टीले बारम्बार कुरा उठाएको हो। कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले पनि त्यसलाई स्वीकार्नु भएकोले पार्टी एकता निश्चित भएको हो।
Q.
एकताको घोषणा कहिले हुन्छ र केका लागि ?
A.
एकता हुन्छ। कुन दिन कति बजे घोषणा गर्ने भनेर हामी अहिले नै भन्न सक्दैनौं। एकताको लागि कुराहरु धेरै अगाडि बढिसकेको छ। घोषणाको मिति छिट्टै तय हुन्छ। केही कुराहरु मिलाउन बाँकी छ। त्यो मिले पछि घोषणा हुन्छ।
Q.
एकताको लागि अझै केही कुरा मिलाउन बाँकी छ र?
A.
छन् केही कुराहरु। दुई पार्टी मिल्दाखेरी धेरै कुराहरुमा समझदारी हुनुपर्छ। आन्तरिक कुराहरु मिलिसके अब खाली पार्टी मिलेको घोषणा गर्न मात्र बाँकी छ।
Q.
पार्टी एकीकरणको घोषणा गर्न केही अबरोध आउला?
A.
पार्टी एकीकरणका लागि कुनै अवरोध छैन, प्राविधिक कुरामात्र बाँकी छन्।
Q.
प्राविधिक कुरा के हो?
A.
प्राविधिक कुरा अहिले भन्न मिल्दैन। एकीकरणका लागि सबै तयारी भैसकेपछि अहिले अड्को थाप्ने कुरा होइन। अब चाँडै नै एकीकरणको घोषणा हुन्छ।
Q.
भदौ २४ गते नै घोषणा हँुदैछ रे ?
A.
तयारी दु्रतगतिमा अगाडि बढेको छ। मिति अहिले नै नभानौं।
Q.
दुई कांग्रेसको एकता भागबन्डाकै लागि हो कि लोकतन्त्र बचाउनका लागि?
A.
कांग्रेस एकता कुनै भागबन्डा, सत्ता र कुर्सी लागि होइन। यो लोकतन्त्रलाई बचाउन, देशमा दीगो शान्ति कायम राख्न र संविधानसभाको चुनाव समयमै सम्पन्न गराउनका लागि हो। भागबन्डाको लागि भए हामी एकता नै गर्दैनथ्यौं। भागबन्डा भएको भए पार्टी पहिलेनै एकता भइसक्थ्यो नि। देशको राजनीति परिस्थितिमा लोकतान्त्रिक शक्तिहरुलाई बलियो बनाउन पार्टी मिलेर गएको खण्डमा राम्रो हुन्छ भनेर हामीले पार्टी एकिकरण गर्न लागेका हौं।
Q.
पार्टी एकीकरण नै किन आवश्यक पर्यो?
A.
लोकतन्त्र बचाउन दुई कांग्रेस एक हुन लागेको हो। कांग्रेस विभाजन हँुदा मुलुकमा के भयो, त्यो सबैको सामु छर्ङ्ग छ।
Q.
कम्युनिष्टहरुको प्रभावबाट डराएर एकता गर्न लाग्नुभएको त होइन?
A.
होइन। लोकतान्त्रिक शक्तिहरुलाई बलियो र सशक्त बनाउनका लागि हामीले पार्टी एकीकरण गर्न लागेका हौं। हामी सबैसँग प्रतिस्पर्धा गर्न तयार छौं, डराउने कुरै आउँदैन।
Q.
पार्टी एकीकरणको कुरा गर्ने अनि घोषणापत्र तयार गर्न पनि लाग्ने यो दुविधापूर्ण कुरा होइन?
A.
पार्टी मिलिसकेपछि पनि घोषणापत्र चाहिन्छ। केही गर्दै नगर्नको लागि त पार्टी एकीकरण हुन लागेको होइन नि। पार्टी एकीकरण भइसकेपछि उम्मेदवार र घोषणापत्र चाहिन्छ।
Q.
दुई पार्टी एक भएर चुनावमा जानुहुने भयो होइन?
A.
एकदम हो। हाम्रो केन्द्रीय समितिले पनि त्यो प्रस्ताव पारित गरिसकेको छ। दुई पार्टी एक भएर चुनावमा जाने भएको हो।
Q.
संघीय लोकतान्त्रिक गणतन्त्रमा जानु ठीक हो?
A.
२०६२/६३ को जनआन्दोलनमा नेपाली जनताले उठाएको एजण्डा बमोजिम नै हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा जानैपर्छ। त्यसको अर्को बिकल्प छैन। जनताको मागलाई त पूरा गर्नैपर्छ। जनता र मुलुकको माग नै त्यही हो।
Q.
अब राजतन्त्र त समाप्त भयो होइन?
A.
गणतन्त्र घोषणा भइसकेपछि त राजा रहँदैरहँदैनन्। राजतन्त्र समाप्त हुँदैछ। मुलुक गणतन्त्रमा गइसकेपछि राजतन्त्र रहने प्रश्न नै आउँदैन।
Q.
दुवै कांग्रेसले राजतन्त्र छोड्यो किन हो?
A.
हामी विधिवत प्रक्रियामा गइरहेका छौं। कानुनी रुपमा वैधानिक रुपमा राजतन्त्रको अन्त्य जनताको जनमतबाट नै गराउन चाहन्छौं। तत्काल गणतन्त्रको घोषणा गर्ने कि संविधानसभामार्फत टंुगो लगाउने? प्रजातान्त्रिक कांग्रेसले त एघारौं महाधिवेशनमा नै राजतन्त्र प्राथमिकताको विषय नै होइन भनेर भनिसकेका थियो। हाम्रो प्राथमिकताको विषय भनेकै लोकतन्त्र हो। हाम्रो विधानमा पनि राजतन्त्रको बारेमा कुनै उल्लेख छ्रैन।
Q.
अब तपाईंंहरु सबै गणतन्त्रमा गइसक्नुभयो होइन र?
A.
प्रजातिन्त्रक पार्टीमा प्रजातान्त्रिक प्रक्रिया अनुसार सबै कुराको टुंगो लाग्छ। संघीय लोकतान्त्रिक गणतन्त्रमा जाने हामी तयारीमा छौं। माओवादी त तत्काल संसद्बाट नै गणतन्त्रको घोषणा गर्नुपर्छ भनेको नि? माओवादी र सातदलको बीचमा १२ बँुधे समझदारी हुँदादेखि नै संविधानसभाको पहिलो बैठकबाट राजतन्त्रको टुंगो लगाई गणतन्त्रको घोषणा गर्ने भनेर समझदारी नै भएको छ। त्यसमा माओवादीले पनि हस्ताक्षर गरेको छ। त्यो सहमति अनुसार नै अगाडि बढ्नुपर्छ।
Q.
अहिले राजा हटाउन मिल्दैन?
A.
हामी प्रक्रियागत रुपमा अगाडि बढ्नुपर्छ भन्ने पक्षमा छौं। सहमति भइसकेको कुरालाई कार्यान्वयन गर्नेतिर लाग्नुपर्छ। माओवादीले पनि संविधानसभाको निर्वाचनसम्म त्यो निर्णयमा अडिग रहनुपर्छ।
Q.
त्यसो भए अहिले नै राजा फाल्नुहुन्न, संविधासभाको निर्वाचनसम्म कुर्नुहुन्छ हो?
A.
हामी संविधानसभाको पहिलो बैठकबाट नै राजतन्त्रको अन्त्यको टुंगो लगाउने पक्षमा छौं। लिखित दस्तावेजलाई सबैले मान्नुपर्छ। आठदलको समझदारीमा सबै हिंड्नुपर्छ।
Q.
माओवादीका अध्यक्ष प्रचण्डले त भनिसके पहिला गणतन्त्र अनि संविधानसभा ?
A.
पहिला आठदलबीच भएका समझदारी मान्दैनौं भनेर माओवादीले घोषणा गर्नुपर्यो। होइन भने अहिले निर्वाचनको मुखमा आएर बखेडा सिर्जना गर्नुहुँदैन। जनताको माझमा आठदलका नेताहरुले व्यक्त गरेको प्रतिबद्धता अनुसार त हिड्नुपर्यो नि।
Q.
मंसिर ६ मा चुनाव होला?
A.
एकदम हुन्छ। त्यसको विकल्प छैन। चुनावको लागि अब माहोल नै अगाडि बढिसक्यो। युद्धस्तरमा नै काम भइरहेको छ। वातावरण बनिरहेको छ। चुनावलाई कसैले रोक्न सक्दैन।