ऋषि धमला with रामबहादुर थापा बादल
मंसिरमा नै चुनाव हुन्छ तर...
रामबहादुर थापा बादल
Q.
तपाईंहरुको आन्दोलन कहाँ गएर टुंगिएला?
A.
समानुपातिक निर्वाचन प्रणाली र गणतन्त्रमा गएर टुंगिन्छ।
Q.
संसद्बाट गणतन्त्र घोषणा भएन भने आन्दोलन कता जान्छ?
A.
संसद् र वार्ताबाट होस् भन्ने जनताको चाहना हो। त्यताबाट भएन भने सडकबाट त्यहीं पुगिन्छ।
Q.
आठ दलको बैठकमा सहमति बन्ला?
A.
निरन्तर छलफल र अन्तर्त्रि्कया भइरहेको छ। बैठकमा नेपाली कांग्रेसले असोज ७ गतेभित्र गणतन्त्र घोषणा गर्ने कुरा गरेको छ। अन्य दलले शान्तिपूर्ण ढंगले संवादबाट नै निकास देओस् भन्ने कुरा राखेका छन्। हामी पनि त्यही चाहन्छौं। हामी शान्ति प्रक्रियामा प्रतिबद्ध छौं। तर, अग्रगमनको प्रक्रिया संसद्बाट सुरु नहुनाले सडकबाट लैजान लागेका हौं। निष्कर्षमा पुगिएको छैन। तर, छलफल जारी छ।
Q.
तपाईंहरु ६ गतेसम्म पर्खनुहुन्छ त?
A.
पर्खिनेभन्दा पनि उनीहरुले निर्णय गर्छौं भनेकाले शुभकामना दिएका छौं।
Q.
आन्दोलन र वार्ता सँगसँगै हुन्छ?
A.
हो, बालुवाटारमा वार्ता चलिरहन्छ, हामी सडकमा आन्दोलन गरिरहन्छौं। हाम्रो कार्यक्रम घोषणा भइसकेकाले हामी जनतामा जान्छौं। एकअर्काको पूरकका रुपमा रहिरहन्छ।
Q.
भनेपछि आन्दोलनका कार्यक्रम फिर्ता हुने सम्भावना छैन?
A.
त्यो सम्भावना देखेका छैनौं।
Q.
अब फेरि सरकारमा जाने सम्भावना छैन?
A.
निकास निस्कियो भने। त्यसको पूर्वाधारका रुपमा २२ बुँदे माग राखिसकेका छौं। तर, सरकारको नयाँ ढंगले पुनर्गठन हुनुपर्छ।
Q.
कोइराला, माधव नेपाल वा प्रचण्डको कसको नेतृत्वमा?
A.
सबै पक्ष समावेश हुुनुपर्छ। नागरिक समाज, देशभक्त र गणतन्त्रवादी शक्ति। अब आठ दलको एकाधिकार रहनुहुँदैन सरकारमा। समानुपातिक आधारमा हुने संविधानसभा निर्वाचन गराउने अन्तरिम सरकार बन्छ।
Q.
नेतृत्व कसले गर्ने?
A.
नेतृत्व परिवर्तन गराउने हाम्रो नीति छ। प्रक्रियामा सही लैजाने नेतृत्व चाहिन्छ।
Q.
प्रचण्डले त कोइरालाकै नेतृत्व स्वीकार गरेर सरकारमा रहने कुरा गर्नुभएछ नि त?
A.
त्यो रे को कुरा हो। हामीलाई थाहा छैन।
Q.
तपाईंहरु गिरिजाप्रसाद कोइरालालाई कसरी हटाउनुहुन्छ त?
A.
हटाउनुपर्छ भन्ने निर्णय गरिसकेका छनौं। तर, त्यस्तो हुन सक्छ। हामी संसद्को विशेष अधिकार डाक्ने निर्णय गरिसकेका छौं। अधिवेशनमा हाम्रो कुरा राख्छौं। त्यसको प्रक्रिया सुरु भइसकेको छ।
Q.
अविश्वासको प्रस्ताव पनि दर्ता गराउनुहुन्छ?
A.
सबारे कुनै निर्णय छैन। हामी २२ बुँदे माग राखिसकेका छौं। सबै समस्याको समाधान संसद्बाटै निकाल्नुपर्छ भन्ने पक्षमा छौं।
Q.
आठ दलको बैठकमा त संसद्बाट संकल्प प्रस्ताव ल्याउने कुरा भएको होइन र?
A.
आधिकारिक रुपमा त्यो हामीलाई थाहा छैन। संकल्प प्रस्तावमा कांग्रेस सहमत छैन।
Q.
कांग्रेस सहमत भए कुरा मिल्छ?
A.
हामी त संकल्प प्रस्तावभन्दा पनि संसद्बाट गणतन्त्र घोषणा गर्न दृढ छौं। जनताको अहित हुनेखालले बार्गेनिङ गर्दैनौं।
Q.
भनेपछि आन्देालन छाड्नुहुन्न?
A.
गणतन्त्र र समानुपातिक निर्वाचन प्रणाली अभिन्न छन्।
Q.
भारत र अमेरिकाले रोक्दैनन् संसद्बाट गणतन्त्र घोषणा गर्न?
A.
नेपालीलाई गुलाम बनाउन चाहनेले त रोकिहाल्छन् नि?
Q.
भनेपछि तपाईंहरु चुनाव हुन दिनुहुन्न?
A.
चुनाव हुन नदिने हो भने, पूर्वाधार तयार भएन भने चुनाव हुँदैन। मधेस, पूर्वपश्चिममा भित्र र बाहिरी प्रतिगामी तत्त्व सक्रिय छ। मंसिरमा नै हुन्छ चुनाव। तर, सर्तबद्ध। परिस्थिति बन्यो भने चुनाव हुन्छ, बनेन भने दरबारिया र विदेशीहरुले हुन दिंदैनन्।
Q.
तपाईंको पार्टीमा दुइटा लबी देखिएको छ नि?
A.
हामीले सर्वसम्मत निर्णय गरेका हौं। कुनै विवाद छैन।
Q.
प्रचण्ड र तपाईंको मतभेद छैन?
A.
हामीबीचमा मतभेद छैन, बरु एकता छ। कृत्रिम विवाद गराउने षड्यन्त्र असफल भइसक्यो।
Q.
गणतन्त्र भएपछि राष्ट्रपति को हुने?
A.
गिरिजाप्रसादको सम्भावना सकियो। अब देशभक्त र गणतन्त्रवादी व्यक्तित्व चाहिन्छ।
Q.
प्रचण्डलाई राष्ट्रपति बनाउने गेमप्लान हो तपाईंहरुको?
A.
त्यो एजेन्डामा हामीले छलफल गरेका छैनौं।
Q.
चुनाव भएन भने त मुलुक गृहयुद्धमा जान्छ भन्छन् नि?
A.
प्रतिगामीहरु यस्तो हौवा फैलाएर देशभक्तहरुलाई आत्मसमर्पण गराउन चाहन्छन्। अग्रगामी शक्तिलाई निस्तेज पार्न चाहन्छन्।
Q.
अब तपाईंहरुलाई साथ देलान्?
A.
देशको माया छ भने अधिकारप्रति सचेत जनता सडकमा नआउने कुरै छैन। जनता गणतन्त्र, समानुपातिक निर्वाचन र राष्ट्रिय स्वाभिमान चाहन्छन्।
Q.
तपाईंहरुको गणतान्त्रिक मोर्चा कस्तो बन्ला?
A.
वामपन्थी, राष्ट्रवादी र प्रजातन्त्रवादीहरु भएको गणतान्त्रिक मोर्चा बन्छ।
Q.
गोलमेच सम्मेलन कहिले बोलाउनुहुन्छ?
A.
बालुवाटारमा एकढंगको गोलमेच चलिरहेको छ, अर्कातिर नागरिक समाज र दलहरुसित आन्तरिक रुपमा चलिरहेको छ। औपचारिक रुपमा हामी मिति निश्चित गर्छौं।