ऋषि धमला with प्रदीप नेपाल
विचरा माओवादी भाइहरुले के गर्न सक्छन्?
पदिप नेपाल
Q.
संसद्को नियमित अधिवेशनले निकास देला?
A.
नियमित अधिवेशन भनेको कानुन पास गर्ने अधिवेशन हो। तत्कालीन विषयहरुमा छलफल गर्ने हो। विशेष अधिवेशन भएको भए पो एजेन्डा तोकिन्थ्यो।
Q.
विशेष अधिवेशनले पास गरेको दुईवटा एजेन्डा चाहिं के हुन्छ नि?
A.
अधिवेशनले त केही गर्दैन। सरकारले के गर्छ भन्ने बारेमा प्रधानमन्त्रीलाई सोध्नुहोस्।
Q.
तपाईंको दृष्टिकोणमा के हुन्छ त?
A.
मैले त संसद्मा समर्थन गरिसकेको छु। कार्यान्वयन गर्नुपर्छ भन्नेमा हामी गइसकेका छौं।
Q.
कार्यान्वयनको आधारचाहिं के छ त?
A.
त्यसको उत्तर त प्रधानमन्त्रीले मात्र दिन सक्नुहुन्छ, तर व्यक्तिगत रुपमा मलाई सोध्नुहुन्छ भने त्यसको कार्यान्वयन गर्र्नैपर्छ भन्ने बाध्यता नभएको मलाई लाग्छ।
Q.
एमालेले माओवादीले अघि सारेको प्रस्तावलाई समर्थन गर्नुहँदैनथ्यो भन्ने कुरा पनि त उठेको छ नि?
A.
हामीले यदि त्यसो नगरेको भए माओवादीलाई संसद् छोडेर जाने बाटो खोलिदिने कुरा मात्र हुन्थ्यो। निर्णयको दुई दिनअघि उनीहरुले यदि विपक्षमा गए हामी संसद्मा बस्दैनौं भनेका थिए। माओवादीलाई संसद्मा टिकाउनु राम्राे कि नराम्रो। त्यही प्राविधिक कुराले मात्र राम्रो देखियो।
Q.
यसले दूरगामी रुपमा एमालेलाई असर पार्छ कि पार्दैन?
A.
हामीले समानुपातिक निर्वाचन प्रणालीको विषयलाई हामीले एक वर्षअघि नै उठाएको हो। त्यतिखेर विरोध गर्ने भनेको कांग्रेस र माओवादी नै हो। गणतन्त्रको विषयमा त अरु पार्टीले बोलेका छन् भन्ने मलाई लाग्दैन। माओवादीको दस्तावेजमा कहाँ लेखिएको छ कि हामी लोकतान्त्रिक गणतन्त्रमा गएका छौं। भाषण त जे गर्दा पनि हुन्छ, आज एउटा बोल्यो भोलि अर्को बोल्यो। नेपालमा त छ महिनामा १६ चोटी कुरा फेर्दा पनि केही हँुदैन। एमालेको त केन्द्रीय कमिटिको नवौं बैठकमा अब हाम्रो पार्टी लोकतान्त्रिक गणतन्त्रको पक्षमा उभिन्छ।
Q.
गणतन्त्र घोषणाका लागि पनि प्रकृया त चाहिन्छ होइन र?
A.
अरु गणतन्त्रवादी हुन् कि होइनन् मलाई अहिले पनि शंका छ। यद्यपि कांग्रेसको महासमिति बैठकबाटै पास गर्योो। कांग्रेस र एमाले पास गरे। तर, माओवादीले अहिलेसम्म कुनै पनि आधिकारिक रुपमा लोकतान्त्रिक गणतन्त्र पास गरेका छैनन्। खाली पास गरेका छन्। गणतन्त्र सबैको साझा भन्ने मनमा मात्र छ। समानुपातिक हाम्राे प्रस्ताव थियो त्यसमा माओवादीले विरोध गर्योछ, अहिले फेरि त्यही विरोध गरेको एजेन्डा किन ल्याउनुभयो, थाहा छैन। त्यतिवेला पनि कांग्रेस र एमालेको विरोधका कारण हामीले मिश्रित प्रक्रिया स्वीकार गरेका हौं।
Q.
संसद्बाट गणतन्त्र घोषणा गर्दा वैधानिकता प्राप्त हुन्छ?
A.
त्यो वैधानिक हँुदैन र हामी संसद्बाटै गणतन्त्र घोषणाको पक्षमा पनि छैन। हाम्रो प्रस्तावमा सात दलको सहमति गर्ने स्पष्ट भनिएको छ।
Q.
भनेपछि संसद्बाट गणतन्त्र घोषणा हँुदैन?
A.
संसद्मा सहमति भयो वा संविधान संशोधन भयो भने गणतन्त्र घोषणा हुन सक्छ, नत्र हुन सक्दैन। कांग्रेस सहमतिमा नआइकन यो सम्भव छैन। अहिलेसम्म सहमतिको गाँठो फुकेकेा छैन।
Q.
गाँठो कसरी फुक्ला त?
A.
सबैभन्दा पहिला संविधानसभा निर्वाचनप्रति सात दलका नेता प्रतिबद्ध हुनुपर्योर। त्यो निर्वाचन गराएरै छोड्छौं। निर्वाचनका लागि हामी सबै असन्तुष्टिलाई बिर्सिन्छौ। यदि ठूलो कुरा लिने हो भने झिनामसिना कुराहरु त किच्नुपर्यो नि। आपसी झगडाहरु छोडिदिनुपर्छ। कांग्रेससँग हाम्रो कुरा मिलिरहेको छ र? कांग्रेसबाट सबैभन्दा पीडित मन्त्री त मै हो नि। संविधानसभामा जाने र नयाँ लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण गर्ने। पहिलो बैठकबाट राजा हटाइसकेपछि त वास्तविक अन्तरिम शासनकाल सुरु हुन्छ।
Q.
अहिले गणतन्त्र नआउने नै भयो त?
A.
यदि चाडै गणतन्त्र ल्याउने हो भने माओवादीले सारा लफडा छोड्नुपर्यो्। माओवादीले लफडा छोड्यो भने छिटो चुनाव हुन्छ। गणतन्त्र भनेको हाम्रो नारा हो, गणतन्त्र वास्तवमा हामीलाई चाहिंदैन भन्ने माओवादीको निष्कर्ष हो भने त मलाई भन्नु केही छैन।
Q.
सात दलले पहिल्यै गरेको सहमतिलाई अहिले किन ब्यँुझाउन खोजिंदैछ?
A.
मैले सबैतिर भनेको छु, हिजो हामीले जनमत संग्रहमार्फत राजाको भाग्य फैसला गरौं भन्दा विरोध गर्ने उही कांग्रेस उही माओवादी।
Q.
एमाले किन माओवादीको पछि लाग्यो त?
A.
हामी कहाँ पछि लाग्या छौं हामी त अघि नै छौं नि।
Q.
माओवादी प्रस्तावमा मतदान त गर्नुभयो नि?
A.
त्यो त हाम्रै प्रस्ताव हो नि।
Q.
अहिलेचाहिं किन त?
A.
कांग्रेसले बुद्धि पुर्याोएन क्या। माओवादीलाई कांग्रेसले तपाईहरु संसद्मा बस्नुस्, तपाईहरुको मागमा हामी मौन बस्छौं भन्नुपर्थ्या। संकट त अहिले कांग्रेसमा छ।
Q.
एमालेलाई माओवादीलाई फसायो रे नि त?
A.
एमालेलाई कहाँ फसाउन सक्छ माओवादीले, बिचरा ती भाइहरु। तिनीहरुले कसरी फसाउन सक्छन्।
Q.
एमालेको नेतृत्व त असफल भएको होइन?
A.
खाली के मात्र खतरा भयो भने संसद्भित्रको कुरो बाहिर पनि एकताको रुपमा कहींबाट व्याख्या भयो भने त्यसमा चाहिं एमाले फसेको हो। हामीले सोचेको यत्ति हो, संसद् छोडेर माओवादी बाहिर नजाओस्। त्यतिका लागिमात्र हामीले माओवादीलाई साथ दिएका हौं। हिंडिहाल्यो भने त बरबाद हुन्छ।
Q.
पार्टीगत एकताको सम्भावना पनि छैन?
A.
त्यो त कुनै पनि हालतमा हुनै सक्दैन।
Q.
वामपन्थी धु्रवीकरण सुरु भएको हो त?
A.
त्यो त झन कहिल्यै पनि हुन नसक्ने असम्भव कुरो हो। किनभने दक्षिणपन्थीहरुको कतिवटा दल छन्। कांग्रेस आफैं छ, राप्रपा, राजपा र सद्भावना छ। अनि अरु दर्जनौं दल छन्। त्यसैले अब नेपालमा वामपन्थीको एउटै पार्टी हुनुपर्छ भन्ने कुतर्क कि लिन्छौं।
Q.
अब राजाको आयु बढेको हो?
A.
त्यो त राजाले माओवादीलाई धेरै धेरै धन्यवाद दिएका होलान्। मुखले नबोले पनि राजाले मनमनै धन्यवाद दिईरहेका होलान्। माओवादीकै कारण राजाको आयु लम्बियो।
Q.
राजा र माओवादीबीच सहकार्य हुन सक्छ त?
A.
त्यस्तो चाहिं भन्दिन। केटाकेटीले गल्ती गरेपछि उसको बुवालाई दोष दिन पाइँदैन। मेरो विश्लेषणमा माओवादी राजनीतिक रुपमा केटाकेटी नै छन्। उनीहरु आज एउटा बोल्छन् भोलि अर्काे अनि पर्सि त्योभन्दा पनि फरक। प्रचण्ड, महरालगायतले जहिले पनि प्रेस स्वतन्त्रताका भाषण गरेका छन्। आफ्नो कार्यकर्ताले पत्रकार मार्छ हाम्रो कार्यकर्ताले मान्छे मारेकाले उसलाई फौजदारी मुद्दा लगा पक्रेर म बुझाउँछु त भन्दैन नि। नाथे बोलीको के अर्थ हुन्छ त्यो त व्यवहारमा उतार्नुपर्छ। त्यसैले माओवादीले भाषण के गर्छन्, त्यता म जान्नँ व्यवहार हेर्छु।
Q.
प्रधानमन्त्रीको विकल्प एमालेले खोजेको हो त?
A.
एमालेले अहिले हो र प्रधानमन्त्रीको विकल्प खोजेको, उहिल्यैदेखि खोजेको हो तर सकिएन र पो त। अब अहिले विकल्पको सम्भावना पनि छैन।
Q.
चुनाव गिरिजाप्रसादले नै गराउने भए त?
A.
गिरिजाप्रसाद आफ्नै पार्टीको सभापतिलाई त नसहने, माधव नेपाल र प्रचण्डलाई सहनुहुन्छ। हामी कति पीडित छौं भन्ने बोध गराउने हो भने यो प्रश्नको जवाफ खोज्नुपर्छ। तर, प्रधानमन्त्री परिवर्तनको कल्पना गर्नै सकिंदैन।
Q.
सात दलको एकता टुट्छ?
A.
यो एकता त टुट्दैन। नेपालीहरु कुनै विषयमा बहस हुनेबित्तिकै डराउँछन्। कांग्रेस र माओवादीमा छलफलको संस्कृति नै छैन। तर एमाले डराउँदैन। यो बहसमात्र भएको हो, यसले निकास देला तर एकता टुट्दैन।