प्रकाश कोइराला with ऋषि धमला
राजा र प्रचण्डलाई मिलाउन तयार छु
प्रकाश कोइराला, पूवमन्त्री
Q.
राष्ट्रवादीहरु एक हुनुपर्छ भन्ने प्रचण्डको अभिव्यक्तिलाई कसरी लिनुभएको छ ?
A.
एकदम सकारात्मक रुपमा लिएको छु ।
Q.
कति कारणले सकारात्मक छ त ?
A.
राष्ट्रवादी शक्ति छरिएको छ । हामीले नेपालको राष्ट्रिय हितलाई सर्वोपरि राखेर हेनुपर्छ ।
Q.
भनेपछि प्रचण्डले भनेजस्तै माओवादी र राष्ट्रवादी-राजावादीको मोर्चा बन्छ ?
A.
त्यो त उहाँलाई नै सोध्नोस् । तर, प्रचण्डको विचारमा म शतप्रतिशत सहमत छु ।
Q.
अव त्यस्तो मोर्चा बन्छ त ?
A.
प्रयास हो । तर, राजनीतिमा उतारचढाव हुन्छ । भोलिको कुरा यसै भन्न सकिन्न ।
Q.
राजावादी र माओवादीलाई मिलाउने तपाईंको पहल कहाँ पुगेको छ ?
A.
त्यसमा अलिकति समय लाग्छ । प्रचण्डजीको कुरा एकदम सामयिक छ । बीपी कोइरालाको मेलमिलाप भनेजस्तै हो ।
Q.
प्रचण्डको भनाइ मुुलुकका सबै शक्तिको मेलमिलापको लागि हो ?
A.
हो, यसको विरोध गर्नुको औचित्य छैन ।
Q.
राजावादी र माओवादीको एकता अहिलेको आवश्यकता हो र ?
A.
मेरो भनाइ के छ भने, सबै दलहरु मिल्नर्ुपर्छ । नमिलेकाले मुलुकले निकास पाइरहेको छैन । माओवादी भनौं वा सात दल सबै मिल्नर्ुपर्छ । मुलुक गम्भीर अवस्थामा पुगेको छ । यसलाई एउटै दलले निकास दिन सक्दैन । सबै मिलेर मात्र निकास आउन सक्छ ।
Q.
तपाईंले माओवादी प्रवक्ता कृष्णबहादुर महरासित भेट गर्नुभएछ नि ?
A.
महराजीलाई त मैले भेटिरहेकै छु । एकपटक तीनमहिनाअघि मन्त्री हुँदा भेटेको हुँ । एकपटक मन्त्रीबाट राजिनामा दिइसकेपछि । केही समययता उहाँको स्वास्थ्य ठीक थिएन । आँखामा इन्फेक्सन भएको थियो । महराजीसित मेरो पुरानो सर्म्पर्क हो । २०४८ सालमा पनि उहाँ माननीय भएर आउनुभएको हो । कान्तिपुरको समाचारमा अलि बढाइचढाइँ गरिएको छ । हामीले स्वास्थ्यका सामान्य कुरामात्र गरेका हौं । अरु समाचार गलत हो ।
Q.
तपाईंले प्रचण्डलाई पनि भेट्नुभयो ?
A.
मैले भेटेको छैन ।
Q.
प्रचण्ड र राजा ज्ञानेन्द्रबीच मध्यस्थता गराउने मान्छे अहिले को हुनसक्छ ?
A.
त्यस्ता धेरै मान्छेहरु छन् । भेटघाट भयो, भएन त्योचाहिं म भन्न सक्दिन ।
Q.
मान्छेहरु त प्रचण्ड र ज्ञानेन्द्रबीच कुराकानी भइरहेको छ भन्छन् नि ?
A.
हो कि होइन, म भन्न सक्दिन । हल्ल्ााका आधारमा म प्रतिक्रिया दिन सक्दिन । यसबारे मलाई जानकारी छैन ।
Q.
अव प्रचण्ड र ज्ञानेन्द्रबीच कुराकानी गर्ने बेला भएन ?
A.
मैले भनिहालेँ नि । सबै शक्ति मिल्नुपर्छ अव ।
Q.
अहिलेको राजनीतिक निकास भनेको राजावादी, माओवादीको साझा मोर्चा होइन ?
A.
त्यो पनि हो, सात दल पनि हो । छरिएर रहेका सबै दल मिल्नुपर्छ । मुलुक गम्भीर अवस्थामा छ । यो साझा दायित्व हो । एकलौटी निकास दिने कुरामा म सहमत छैन ।
Q.
राजा र प्रचण्डबीच कुराकानी हुनुपर्छ भन्ने पक्षमा हुनुहुन्छ ?
A.
त्यो त हुनुपर्छ नि । त्यो त राम्रै कुरा हो ।
Q.
तपाईं मध्यस्थता गर्नुहुन्छ ?
A.
उहाँहरुले मलाई रिक्वेस्ट गर्नुभयो भने म कोसिस गर्छु, म ज्ञानेन्द्र र प्रचण्डलाई मिलाउन चाहन्छु ।
Q.
तपाईंको माओवादीका कुन कुन नेतासित कुरा भइरहेको छ ?
A.
मेरो सर्म्पर्क त महराजीसित मात्र हो । २०४८ सालमा हामी दुवै सांसद थियौं । हाम्रो सम्बन्ध जारी छ ।
Q.
अहिले राजावादीहरुको स्थिति कस्तो छ त मुलुकमा ?
A.
अहिले म भन्न सक्दिन । मुलुकको भविष्य राम्रो छ । सबैले बुझनुपर्यो मुलुक नाजुक अवस्थामा छ । अव सबै मिल्नुपर्छ ।
Q.
गणतन्त्र आउँदैन त नेपालमा ?
A.
अहँ, मलाई त त्यस्तो लाग्दैन । दलहरुबाट अलिकति गल्ती भएको छ । बीपीले कहिल्यै गणतन्त्र भन्नुभएको छैन । राष्ट्रिय मिलमिलापको नीति ल्याउनुभयो । म किसुनजीको लाइनको पक्षधर हुँ ।
Q.
अहिले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासित कुराकानी भएको छैन ?
A.
तिहारको बेला भेट भएको थियो । सुजाताको घरमा । तिहारको माहोल थियो । धेरै जना थिए ।
Q.
गिरिजाबाबु पनि २०४७ सालको संविधानको कुरा गर्नुभएको छ नि ?
A.
त्यो त राम्रो कुरा होनि । सुजाता पनि त्यही भनिरहेकी छिन् ।
Q.
भनेपछि गणतन्त्र आउँदैन ?
A.
गणतन्त्र आउने र राजा जानेबित्तिकै मुलुकको समस्या समाधान हुन्छ भन्ने कुरामा मलाई विश्वास छैन ।
Q.
गणतन्त्र रोक्न राजाको भूमिका के हुन्छ त ?
A.
राजा चूप लागेर बसेको देखेको छु ।
Q.
राजासित त तपाईंको कुराकानी भइरहेको छ नि ?
A.
तीन, चार महिनाअघि भेट भएको थियो ।
Q.
राजाको भनाइ के छ त ?
A.
मुलुक हाम्रो हो । सबै मिलेर मुलुकलाई निकास दिनुपर्यो । र, निकास पाउपछि मात्र विकास हुन्छ ।
Q.
राजा पहिलेकै शासन फर्काउने पक्षमा छैनन् उसो भए ?
A.
त्यो त कुरै छैन ।
Q.
लोकतन्त्रलाई राजाको र्समर्थन छ ?
A.
प्रजातन्त्रको पक्षमा हुनुहुन्छ । सही ढंगले प्रजातन्त्र आओस् भन्ने चाहनुहुन्छ ।
Q.
सैनिक शासन वा राजाको सक्रिय शासन आउने सम्भावना छैन ?
A.
दुवै छैन । तर, अहिले पनि सात दलले कुनै काम गरेका छैनन् । तर्राई जलिरहेको छ । ल एन्ड अर्डर छैन । सबै मिल्नुपर्छ ।
Q.
संसदबाट गणतन्त्र घोषणा गर्ने कुरा पनि छ नि ?
A.
त्यसले पनि राष्ट्रिय समस्या समाधान हुँदैन । त्यसका लागि चुनाव नै हुनुपर्छ ।
Q.
संविधानसभाको पहिलो बैठकले राजतन्त्रको टुंगो लगाए हुन्छ ?
A.
त्यसका लागि त जनमत संग्रह नै हुनुपर्छ । संविधानसभाबाट होइन । जनताको म्यान्डेट नै पाएको छैन सरकारले । त्यसैले चुनाव हुनुपर्यो । जिम्मेवार नेताहरुले मुलुकको अवस्था बुझेर साझा प्रयास थाल्नुपर्छ ।