ऋषि धमला with विजयकुमार गच्छदार
संविधानसभाको निर्वाचन हुनै पर्छ तर – विजयकुमार गच्छेदार, नेता, नेपाली कांग्रेस
Q.
तपाईंले आयोजना गर्नुभएको भेलाको उद्देश्य के हो?
A.
पहिलो त यो अनौपचारिक भेला हो। केन्द्रीय कार्यसमितिका सदस्य र केही सांसदहरु बसेर अहिलेको राजनीतिक घटनाक्रमको हामीले विश्लेषण गरेका छौं।
Q.
भेला आयोजना किन गर्नुभएको स्पष्ट भन्नुस् न?
A.
मुलुकको वर्तमान समस्या, राजनीतिक अवस्था, पार्टीको भूमिका र संविधानसभाको निर्वाचनका सन्दर्भमा हाम्राे पार्टीले लिनुपर्ने रणनीतिका बारेमा व्यापक रुपमा छलफल गर्यौं। हामीहरुबीच जुन कमीकमजोरी छ, मुलुकको शान्तिसुरक्षा, सात दलको सहमतिका बारे छलफलबाट एउटा दृष्टिकोण बनाएर पार्टी सभापति एवं प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई जानकारी गराउने हाम्रो योजना छ।
Q.
तपाईंहरुले तयार पार्नुभएको खाका सभापतिलाई कहिले बुझाउनुहुन्छ?
A.
हामीले एउटा दृष्टिकोण सार्वजनिक गरेका छौं। संविधानसभा तोकिएको मितिमा सम्पन्न गर्नैपर्छ। त्यसका लागि सरकारले जुन पूर्वाधार तयार गर्नुपर्थ्यो र शान्तिसुरक्षामा सुधार ल्याउनुपर्थ्याे, त्यो भएको छैन भन्ने विषय नै हाम्राे दृष्टिकोणका रुपमा प्रधानमन्त्रीलाई छिट्टै बुझाउनेछौं।
Q.
के के गर्नुपर्छ त सरकारलेे?
A.
कांग्रेसले सात दलमा आफ्नो नेतृत्वदायी भूमिका निर्वाह जसरी गर्नुपर्थ्यो, त्यसरी गर्न सकेको छैन। सात दलको सहमति संविधानसभा निर्वाचनका लागि भएको थियो, त्यो पालना माओवादीले गरेको छैन। मुलुकको विद्यमान परिस्थितिमा चुनाव कसरी गर्न सकिन्छ भन्ने बारेमा हाम्रो छलफल केन्द्रित भइरहेको छ।
Q.
यथास्थितिमा चुनाव हँुदैन भन्ने तपाईंहरुको निष्कर्ष हो?
A.
अहिलेको चुनाव गराउन सकिने परिस्थिति देखिंदैन। तराईको समस्या डरलाग्दो रुपमा आइरहेकोले त्यसलाई सम्बोधन नगरी, मधेसीलाई चुनावको निम्ति तयार नगरीकन सार्थक चुनाव हुन सक्दैन। चुनाव गराउन परिस्थिति देखिंदैन। यदि चैत ८ गते चुनाव गराउने हो भने सबै मागलाई सम्बोधन गर्नुपर्छ। सरकारले जसरी तराईको समस्या बुझ्न र समाधान गर्न चाहेन, यसमा सात दल पनि दोषी छ।
Q.
सरकारको नेतृत्वकै आलोचना पनि गर्न थाल्नुभएको छ नि तपाईं?
A.
तराईको समस्यामा जसरी सात दल सम्वेदनशील हुुनुपर्थ्याे, त्यो हुन सकिरहेको छैन। उनीहरुको ध्यानआकर्षण गर्नका लागि छलफल आयोजना गरेका हौं।
Q.
कांग्रेसको नेतृत्वको सरकारको आलोचना गर्नु भनेको त कांग्रेसलाई कमजोर बनाउनु होइन र?
A.
सरकारको नेतृत्व कांग्रेसले जसरी गर्नुपर्थ्याे, त्यसरी गर्न सकेको छैन। सहमतिअनुसार माओवादीको गतिविधि नियन्त्रण गर्नुपर्थ्या त्यो पनि गर्न सकेको छैन। शान्तिसुरक्षामा कुनै सुधार आएको छैन। माओवादीले पनि सहमतिको पालना गरेको छैन। त्यसकारण समग्र रुपले सरकारको नेतृत्व कांग्रेसले गरेको हुनाले आफ्नो सैद्धान्तिक आधारभित्र रहेर कांग्रेस महासमितिको निर्णयअनुसार अघि बढ्नुपर्थ्याे, त्यो भएको छैन।
Q.
तपाईंहरु प्रधानमन्त्री नै परिवर्तन गर्न चाहनुहुन्छ?
A.
प्रधानमन्त्री परिवर्तनको कुरा त हामीले गरेको छैन। जसरी काम गर्नुपर्थ्याे, त्यसरी गर्न सकेन भन्ने हाम्राे निष्कर्ष हो। तराईको समस्या बुझ्दै नबुझी चुनाव गराउन खोज्नु भनेको राष्ट्र विखण्डन गर्नु र टुक्राउन षड्यन्त्र गर्नु हो। तराईलाई सम्बोधन गरेर समस्या समाधान गरेर मात्र निर्वाचन हुनुपर्छ।
Q.
त्यसो भए अहिलेकै परिस्थितिमा चुनावमा भाग लिनुहुन्न?
A.
हामीले चुनावमा भाग लिने र नलिने कुनै विषय नै होइन। तराईका जनताले चुनावमा भाग लिन्छन् कि लिंदैनन्, त्यो ठूलो कुरा हो। जबरजस्ती चुनाव गराए भने त राष्ट्र टुक्रिन्छ।
Q.
सरकार त चुनाव जसरी पनि गराउँछु भनिरहेको छ नि?
A.
जसरी पनि गराउँछु भनेर लाग्यो भने राष्ट्र विखण्डन हुन्छ, राष्ट्रिय अखण्डता समाप्त भएर जान्छ र मुलुकमा ठूलो दुर्घटना हुन्छ। के गर्दा तराईको समस्या समाधान हुन्छ त? तराईमा आन्दोलनरत सशस्त्र र निशस्त्र समूहसँग वार्ता गरी मधेसी अधिकारको सुनिश्चिता गरियो र आन्दोलनरत पक्षले दिएको अल्टिमेटमलाई सम्बोधन गर्न सक्नुपर्छ। साथै मधेसी जनताले उठाएको मागलाई वार्ताद्वारा निष्कर्षमा पुर्याउनुपर्छ। साथै उनीहरुलाई चुनावमा भाग लिन सहमत गराउनुपर्छ।
Q.
अब कांग्रेस छोडेर तपाईंहरु महन्थ ठाकुरको पार्टीमा जानुहुन्छ?
A.
म महन्थ ठाकुरको पार्टीमा जाने भए त पहिल्यै गइसक्थें। म कांग्रेस भित्रै बसेर लडाइँ लड्छु। मधेसको भावनालाई कांग्रेसले मात्र होइन, अरु ठूला दलका मान्छेले पनि बुझ्न सकेनन्।
Q.
गृहमन्त्री नपाएको झोकमा यो भेला आयोजना गरेर नयाँ मोर्चा गठनमा लाग्नुभएको हल्ला छ नि?
A.
यो एकदम गलत कुरा हो। म मधेसको समस्या समाधान नभई गृहमन्त्री पनि हुन्न। मलाई अहिले जुनसुकै मन्त्री देओस्, म खान्नँ। अहिले मन्त्रिमण्डल बनेको ८ दिन भएको छ, मैले यो मुद्दा १२ महिनादेखि उठाएको छु। म एकोहोरो रुपमा तराईको समस्या समाधान गर्न बोलिरहेको छु। अन्तरिम संविधान लागु हुने दिन नै मैले भनेको थिएँ– तराईको समस्या सम्बोधन गर्नुपर्छ होइन भने आन्दोलन सुरु हुन्छ, त्यही भयो तीन दर्जन मधेसीले सहादत प्राप्त गरे। अहिले पनि यदि मागलाई सम्बोधन गरिएन भने ठूलो दुर्घटना हुन्छ।
Q.
कांग्रेसको कतिजना सांसद र केन्द्रीय सदस्य पार्टीबाट बाहिरिन्छन्?
A.
नयाँ पार्टी गठन गर्ने कुरै छैन। हामीले कांग्रेस छोड्ने कुरा गरेका छैनौं र छोड्दै छोड्दैनौं। हाम्रा कुनै पनि साथी कांग्रेसबाट बाहिरिने पक्षमा छैनन्। हामी कांग्रेसलाई ठीक ट्रयाकमा लान र बलियो बनाउनका लागि काम गरिरहेका छौं। नेतृत्वले गरेका गल्तीहरुलाई सच्याउनका लागि गरिरहेका छौं। तराईको माग पूरा गराउन बाध्य बनाउँछाैं।
Q.
माघ ५ गतेदेखिको मधेस आन्दोलनमा तपाईं सहभागी बन्नुहुन्छ?
A.
मेरो त्यो आन्दोलन र जायज मागप्रति पूर्ण समर्थन छ। आन्दोलनमा म भौतिक रुपले उपस्थित रहौं या नरहौं तर मेरो त्यसमा पूर्ण रुपमा सहयोग र समर्थन रहनेछ।
Q.
सुजाता कोइराला मन्त्री बनेको विपक्षी दलहरुले विरोध गर्दा तपाईंहरु किन मौन?
A.
कसैलाई मन्त्री बनाउनु प्रधानमन्त्रीको अधिकारको कुरा हो। प्रधानमन्त्रीले जसलाई पनि मन्त्री बनाउन पाउँछन्। अरुले किन विरोध गरे, हामीलाई थाहा छैन, तर हामी विरोध गर्दैनौं र सुजाताको विरोध गर्ने आवश्यकता पनि देखेका छैनौं। प्रधानमन्त्रीले गठन गर्नुभएको मन्त्रिमण्डलप्रति हामीले एक शब्द पनि चर्चा गरेका छैंनौं।
Q.
सुजाताको बचाउ पनि गर्नुभएन नि किन?
A.
त्यो प्रधानमन्त्रीको विशेष अधिकारको कुरा हो। हामी परि आयो भने सुजाताको बचाउ पनि गर्छाैं।