REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

Face to Face
ऋषि धमला with  गोविन्दराज जोशी

प्रचण्डको त्यो चाहना सपना सावित हुन्छ – गोविन्दराज जोशी, नेता, नेपाली काङ्गे्रस
Q.
तपाइंले राजा ज्ञानेन्द्रलाई भेट्नुभएको चर्चा राजनीतिक बजारमा यतिखेर गरम छ, किन भेट्नुभएको राजालाई?
A.
 यो फगतको चर्चा हो। मैले राजा भेटेकै छैन, भेट्ने जरुरत नै छैन नि!
Q.
तपाईंले राजा भेटेको कुरालाई अखबारले त मुख्य समाचार नै बनाइरहेका छन् त?
A.
– त्यो अखबारले त गृह मन्त्रालयको रिपोर्टलाई स्रोत बनाएको रहेछ। हामीहरू पोखरामा किसान सङ्घको कार्यक्रममा रहेकै बेला उक्त पत्रिकासँग सम्बद्ध कोही सञ्चारकर्मीले गृह मन्त्रालयलाई स्रोत जनाउँदै मलाई फोन गरेका थिए। मलाई लाग्छ, उक्त समाचार माओवादी र गृहमन्त्रीको साँठगाँठका आधारमा प्रकाशन गरिएको हो। माओवादीका गलत क्रियाकलाप र गृह प्रशासनको नालायकीमाथि हामीहरू सशक्त रूपले अगाडि आएबाट डराएको तत्त्वले गरेको दुस्प्रचार हो यो। 
Q.
त्यसो भए तपाईंहरूमाथि यो आक्रमण या षड्यन्त्र हो?
A.
– राजनीतिमा यस्तो भइरहन्छ, यसलाई ठूलो विषयका रूपमा चित्रित गरिरहनु जरुरी छैन। आक्रमण भनेको त अलिक विशेष कुरा हो जस्तो लाग्छ। आक्रमण त शक्तिशालीले मात्र गर्ने या गर्न सुहाउने कुरा हो। हामी हाम्रो आवाज पार्टीले पालन गर्न उपयुक्त हुन्छ भनेर भनिरहेका छौं। पार्टीले निर्दिष्ट गरेको लक्ष्य के हो, सोअनुरूप त्यतातिर त्यसै हिसाबले अघि बढौं भनेर भनिरहेका छौं। यो हाम्रो आवाजसँग पार्टीमा मनपरी गर्नेहरू तर्सिएका छन्। यसरी तर्सिनेहरू हाम्राविरुद्ध यस्तै निकृष्ट चाल चल्छन् भने त्यसलाई के आक्रमणको संज्ञा दिने?
Q.
राजा बचाउन तपार्इंहरू त मरिमेटी लाग्नुभएको भन्ने आरोप छ नि त!
A.
– हामीले बचाएर बच्ने पनि होइन, हामीले फालिहालौं भन्नेबित्तिकै फालिने पनि होइन। हाम्रो नीति नै के हो भने काङ्गे्रस महासमितिको निर्णय अक्षरशः पालना हुनुपर्छ भन्ने हो। झन्डैझन्डै हाम्रो वार्ताटोलीले बाटो बिराइसकेको थियो, झन्डै पूर्ण समानुपातिकमा हाम्रो वार्ताटोली गएको! झन्डै संसद्बाटै गणतन्त्र घोषणा गरेर जनताको अधिकारलाई कुण्ठित तुल्याएका! हामी त, महासमितिले नै गणतन्त्रको निर्णय गरिसकेकोमा हाम्रो असहमति छैन भनिरहेका छौं। तर, सबै कुराहरू नियमसङ्गत र प्रक्रियागत हिसाबले हुनुपर्छ भन्दा कसरी हामी राजावादी भयौं? 
Q.
जे होस्, तपाईंहरू हृदयदेखि नै गणतन्त्र स्वीकार गर्न तयार हुनुहुन्न, होइन र?
A.
–हामी पार्टीको निर्णयविपरीत जान्नौं भनिरहेका छौं भन्दाभन्दै अरूको हैसियत के यस्तो आरोप लगाउन? 
Q.
दरबारले करोडौं दिएर किनेको छ भन्छन् नि तपाईंहरूलाई!
A.
–यस्तो वाहियात, बेकार–बेकारका कुराको \'वेट\' हुन्छ र? यस्तो प्रश्नको त जवाफ दिनु पनि सान्दर्भिक र उपयुक्त होला जस्तो लाग्दैन। कुरा के मात्रै हो भने हामी हाम्रो पार्टीको नीति र निर्णयमा अडिग छौं र त्यो सबैमा लागू हुनुपर्छ भन्ने हाम्रो आग्रह हो। यस कुराबाट छटपटिएकाहरूले जेसुकै भ्रम फैलाउन खोजे पनि अन्ततः त्यो तत्त्व नै पराजित हुन्छ। 
Q.
यसको मतलब तपाईंहरू काङ्गे्रसभित्र राजावादीको नेतृत्व गरिरहनुभएको छैन?
A.
–कहाँबाट कसरी गर्नु? जनतालाई झुक्याउने काम भएकोमा हाम्रो असहमति हो। अन्तरिम संसद्मा सङ्घीय लोकतान्त्रिक गणतन्त्र लेखियो र त्यसैमा तल राजाले संविधानसभाको चुनाव भाँडेमा बहुमतले निकाल्ने भन्ने पनि लेखियो। यसको मतलब उसले नभाँडे के गर्ने भन्दा राख्ने! यसरी सात दलले आफूलाई राजावादी तुल्याएको छ। सात दल राजावादी हो। शाही कालमा प्रतिगमनविरुद्ध हामीले आन्दोलन गरिरहँदा प्रतिगमन सच्चियो भनेर मन्त्री खान दौडिने शाही मन्त्रीहरू पनि हामीबीच छँदैछन्। अब राजावादी भनेर यिनले कसलाई भनेका हुन्– मैले बुझ्न सक्या छैन।
Q.
भनेपछि तपाईंहरू काङ्गे्रस महासमितिले गरेको निर्णयअनुसार हिँड्नुपर्छ भन्ने कुराको पक्षधर हो?
A.
–महासमितिको निर्णय र जनतालाई सार्वभौमसत्तासम्पन्न बनाउनुपर्छ, संविधानसभाबाट जनता सार्वभौमसत्तासम्पन्न हुन्छन् र संविधानसभाले जे निर्णय गर्छ त्यो हामी सबैले मान्नुपर्छ, राजाले पनि मान्नुपर्छ, अर्थात् जनताको सार्वभौमिकता त्यही हुन्छ भन्ने हाम्रो अडान हो। यो अडानसँग कोही विक्षिप्त भएका होलान्। जनताको पक्षमा बोल्दा विक्षिप्त हुने प्रवृत्तिका मानिसहरू छन् क्या हामीबीच। 
Q.
होइन, काङ्गे्रसमा त दुईवटा धार देखियो नि!
A.
– काङ्गे्रसको दुईवटा धार भनेको एउटा वामपन्थी पक्षधर, एउटा वामपन्थीविरोधी! हामीचाहिँ वामपन्थीविरोधीमा पर्यौंई।  
Q.
यस हिसाबले त अझ तीनवटा धार देखापर्योा, एउटा राजावादी धार, एउटा मध्यमार्गी र अर्को गणतन्त्रको पक्षधर, कि कसो?
A.
– यस्ता अनेक धारबारे मलाई ज्ञान भएन। वामपन्थी पक्षधर र विरोधी धारचाहिँ देखिएको स्वीकार गर्नैपर्ला। हामीहरू केबी गुरुङ, खुमबहादुर खड्का, महत, चिरञ्जीवी वाग्ले, विनयध्वज चन्द, सुनिल भण्डारी, लक्ष्मण घिमिरेलगायतका थुपै्र पार्टीनेता, थुपै्र एमपी, जिल्ला सभापति, थुपै्र कार्यकर्ता वामपन्थीको गतिविधिबाट असन्तुष्ट भएका हौं, वामपन्थीसँग मिल्नु नीतिगत गल्ती भयो भन्नेहरू हौं। पार्टीका अरू को –को माओवादीतिर होलान्, कोही एमालेतिर पनि होलान्, राजावादी पनि कोही होलान् त्यो हामी जान्दैनौं। अर्काको कुरा बोल्न म कसैको प्रवक्ता पनि होइन, के भनौं र खोई? हामीचाहिँ निःसन्देह वामपन्थीविरोधी र जनताको पक्षधर हौं।  
Q.
बाह्रबुँदे समझदारीदेखि यहाँसम्म वामपन्थीलाई ल्याएर अहिले विरोध गर्नुपर्ने आवश्यकताचाहिँ किन पर्योे नि?
A.
– सधैं त टाँस्सिएर हिँड्ने होइन क्यारे! बाह्रबुँदेदेखि तेईसबुँदेसम्म आइपुग्दा गल्ती भयो भन्ने लागिसकेको छ। संविधानसभाका लागि गरिएको सहमति र सहयात्रा हो, त्यो केही पनि पालना गरेनन् उनीहरूले, त्यसैले गल्ती गरेछ काङ्गे्रसले भन्ने लाग्छ। 
Q.
यसको मतलब वामपन्थीसँगको सहकार्य अब तोडिहाल्नुपर्छ, हो?
A.
 –हामी प्रतिस्पर्धी दलहरू हौं, तापनि संविधानसभासम्म सँगै जानुपर्छ। यस प्रसंगमा एकपटक वामपन्थीहरूले चलाएका मन्त्रालयहरू शिक्षा, सञ्चार, स्थानीय विकास आदिमा हेरौं, त्यहाँ काङ्गे्रस या लोकतन्त्र पक्षधरहरूले कति दुःख पाएका छन्। यसका आधारमा के भन्नैपर्ने हुन्छ भने नेपाली जनता, नेपाली काङ्गे्रस र प्रजातन्त्रलाई वामपन्थीसँगको सहकार्य बोझ बनिसकेको छ, यो बोझ बोकिरहन हुन्न भन्ने हाम्रो धारणा हो। 
Q.
तर काङ्गे्रसभित्रै वामपन्थीलाई नबोकी राजनीतिक गन्तव्यमा पुग्न सकिन्न भन्ने मानिस पनि त छन् नि?
A.
–तिनीहरूको सोचाइ गलत हो। समयले त्यो सोचलाई गलत पुष्टि गर्छ। 
Q.
काङ्गे्रसमा बहुमत त वामपन्थीसँग सहकार्य गर्नुपर्छ भन्नेहरूकै छ नि, होइन?
A.
–होइन, होइन! छैन। एकदम माइनारिटीमा परिसक्यो त्यो। आगामी पार्टी अधिवेशनले देखाइहाल्छ नि त्यो त! 
Q.
भनेपछि आगामी काङ्गे्रस अधिवेशनपछि वामपन्थीसँग सहकार्य गर्नेहरू अल्पमतमा पर्छन् त?
A.
–अहिले नै परेका छन्, अधिवेशनले के पार्नु? अधिवेशनले त छर्लङ्ग तुल्याइदिन्छ भनेको पो त!
Q.
कम्युनिस्टसँग मिल्नुपर्छ भन्ने धारको नेतृत्वचाहिँ कसले गरिरहेको छ त, गिरिजाप्रसाद कोइरालाले?
A.
त्योचाहिँ मलाईभन्दा तपार्ईंहरूलाई नै थाहा छ नि! जो माओवादीसँग घाँटी जोडेर हिँड्छन्, प्रचण्ड–बाबुरामहरूले दरबार र दरबारियाहरूको ढोका चहारेर हिँड्दा प्रशंसामा गीत गाउने र हाम्राबारेमा कुनै पत्रिकाले गलत लेखिदिँदा दङ्ग परेर अखबारको मुठो बोकेर बाँड्दै हिँड्नेहरू नै भए नि तिनका सहयात्री। 
Q.
तपाईंले यसरी वामपन्थीको विरोध गर्नुपर्नै खास कारणचाहिँ के हो?
A.
–वामपन्थीहरूको विचारमा प्रतिबद्धता हुँदैन, त्यो विचारधारा संसारबाटै आउटडेटेड भइसक्यो, यो विचार नेपाली माटोलाई सुहाउँदैन पनि। अर्को उनीहरू जतिखेर पनि धोका दिन्छन् क्या! १२ बुँदेदेखि २३ बुँदेसम्म आइपुग्दा गरिएका सहमति खोई पालना गरेको? घरजग्गा र अन्य सम्पत्ति फिर्ता गरेको खोई? सम्झौता गर्ने र लागू नगर्ने यिनको चरित्र देखिएको छ। चरित्रगत रूपमा वामपन्थी र हाम्रो मिल्दैन, त्यसैले उनीहरूसँग सहमत हुन नसकिएको हो।
Q.
प्रसङ्ग बदलौं, आगामी चुनावमा काङ्गे्रस कसरी जान्छ, कस्तो रणनीति हुन्छ?
A.
– नेपाली काङ्गे्रसको बहुमत भयो भने मात्रै यो देशका जनताको सार्वभौमसत्ता कायम रहन्छ। त्यसैले जनआन्दोलनको भावना र नेपाली जनताको चाहना पूरा गर्न नेपाली काङ्गे्रसलाई विजयी गराउनु आजको आवश्यकता हो भन्ने नाराका साथ हामी चुनावमा जाने हो। 
Q.
पार्टीभित्रै यस्तो विमति छ, विमति वा असहमतिकैबीच जाने चुनावमा?
A.
–निर्णय मान्ने परम्परा छ काङ्गे्रसमा। पार्टीले जे निर्णय गर्छ त्यो सबैले मान्छन्। यो हाम्रो कल्चर हो कि फरक मत भए पनि निर्णय भइसकेपछि त्यसलाई मान्ने। तसर्थ, चुनावमा जाँदा पनि पार्टीले जसरी जाऊँ भन्छ सबै काङ्गे्रसी त्यसरी नै जान्छन्।
Q.
काङ्गे्रसले चुनावी तालमेलचाहिँ कोसँग गर्छ नि?
A.
 – जनतासँग।
Q.
राजावादीको भोटचाहिँ कसरी लिनुहुन्छ त तपाईंहरू?
A.
– ए बाबा! जनताको भोट लिने हो, यो वादी र ऊवादी भन्ने त कुरै भएन त्यहाँ।
Q.
यता प्रचण्डजीले त आफूलाई भावी राष्ट्रपति नै घोषणा गरिदिनुभयो नि, यसलाई कसरी लिनुभा146छ?
A.
– उहाँको पार्टीले घोषणा गरिद्या होला, पाइन्छ पाइन्छ! ऋषि धमलाले \'म पत्रकार महासंघको सभापति भएँ\' भनेर घोषणा गरे भने \'के भन्यौ\' भनेर रोक्न, छेक्न, मुख थुन्न को आउँछ र?! पाइन्छ–पाइन्छ। 
Q.
एउटा यो बताइदिनुस्– गिरिजाप्रसाद कोइरालापछि नेपाली काङ्गे्रसको नेतृत्व कोइराला परिवारलाई नै दिने कि तपाईंहरू आफैंले लिने?
A.
–काङ्गे्रसले लिने नि!
Q.
कोइरालापछि प्रधानमन्त्री को त काङ्गे्रसमा?
A.
–संसदीय दलले जसलाई छान्छ उही। 
Q.
अन्तमा, चुनाव भएन भने सत्ता कब्जा गरिन्छ भनेर प्रचण्डले भनेका छन्, यसमा के धारणा छ तपाईंको?
A.
– त्यो उनको चाहना हो तर त्यो सपना सावित हुन्छ।
‹‹ Back
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.