ऋषि धमला with उपेन्द्र यादव
मधेसी प्रधानमन्त्री होइन, राष्ट्रपति बन्छन् - उपेन्द्र यादव
Q.
मधेस आन्दोलनबाट के जित्नुभयो?
A.
मधेसी जनताले आफ्नो समानताको अधिकार प्राप्त गर्ने दिशामा कदम अघि बढेको छ। यसले मधेसी जनतालाई अधिकारसम्पन्न बनाउने र उनीहरुलाई बराबरी हक दिलाउने र उनीहरुको आफ्नो राज्य स्वायत्त प्रदेशको स्थापना गर्ने दिशातर्फको पहिलो कदम अघि बढेको छ।
Q.
शीर्ष नेताहरुको अघि भएको सम्झौतालाई कसरी लिनुभएको छ?
A.
आजको यो क्षण समानता, समान अधिकार, सामाजिक न्यायका लागि, विभेदकारी नीतिको अन्त्यका लागि मधेसका जनताले जुन संघर्ष गरेका थिए, त्यो संघर्षको पहिलो विजयका रुपमा हामीले लिएका छौं।
Q.
सम्झौता गर्न प्रधानमन्त्रीको भूमिका कस्तो रह्यो?
A.
आठ बुँदे समझदारी गराउन निश्चित रुपमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको एकदमै सकारात्मक भूमिका रह्यो। उहाको यो भूमिका नभएको भए सम्झौता नै हुन सक्ने थिएन।
Q.
अनि माधव नेपाल र प्रचण्डको भूमिका कस्तो पाउनुभयो?
A.
सबैको भूमिका राम्रो रहेको छ। हामी सबैका सहयात्री हौं। प्रजातान्त्रिक आन्दोलनमा मैले प्रधानमन्त्रीसँग पनि काम गरेको छु। कम्युनिस्ट आन्दोलनमा पुष्पलालदेखि माधव नेपाल र प्रचण्डलगायतसँग काम गरेको हँु। मधेस आन्दोलनका क्रममा मधेसी मित्रसँग काम गरेको छु। भोलि पत्रकारितामा आएँ भने तपाईंहरुसँग पनि काम गर्छु।
Q.
यो सम्झौता गराउन भारतको भूमिका कस्तो थियो?
A.
सबै अन्तराष्ट्रिय समुदायको सहयोग थियो। तर, सबैभन्दा ठूलो योगदान नेपालीको छ र जसले आन्दोलनका क्रममा ज्यानको आहूति दिए, तिनीहरुको ठूलो योगदान छ।
Q.
१६ दिने मधेस आन्दोलनको उपलब्धि के हो?
A.
मधेसले राष्ट्रिय सम्मान पाएको छ। मधेसलाई प्रधानमन्त्रीसहित राज्यका शीर्षस्थ व्यक्तिहरु भएको ठाउँमा सम्बोधन भएको छ। मधेसीहरु सम्मानित भएका छन्। आठबुँदे सहमति कार्यान्वयन हुने आधार के छ? कार्यान्वयन हुनुपर्छ र हुन्छ। यदि भएन भने तेस्रो तथा अहिलेभन्दा सशक्त आन्दोलन गर्छाै। वारम्वार सहमति गर्नुभयो तर अहिलेसम्म कार्यान्वयन भएको देखिएन नि? कार्यान्वयन भएपछि मात्र विश्वास गर्ने बानी मेरो रहेको छ।
Q.
आन्दोलनका कार्यक्रम फिर्ता लिनुभएको हो?
A.
हामीले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छौं। हामी सबै संविधानसभाको चुनावमा सकृय रुपमा सहभागी जान्छौं।
Q.
संविधानसभामा मोर्चाबन्दी कसरी बन्छ?
A.
मोर्चाबन्दी छलफल विषय हो, हामी लोकतान्त्रिक शक्ति र परिवर्तनकारी क्रान्तिकारी शक्तिहरुको बीचमा प्रतिगमनकारी र परम्परागतवादी शक्तिविरुद्ध हामी जुटेर जान सक्छौं। त्यस्ता शक्तिहरुविरुद्ध हाम्रो साझा मोर्चाबन्दी हुन सक्छ।
Q.
कांग्रेससँग सहकार्य हुन सक्छ?
A.
हुने र नहुने अहिले भन्न गाह्रो छ। जसले लोकतन्त्र, समानता, स्वतन्त्रता र न्यायमा विश्वास गर्ने सबैसँग मिलेर जान्छौं।
Q.
संविधानसभा निर्वाचनमार्फत मधेसी सांसदको संख्या कति होला?
A.
म ज्योतिष त होइन। तर, मधेसी जनताको संसद्मा राम्रो उपस्थिति होइन।
Q.
प्रधानमन्त्री कोही मधेसी बन्ला नेपालमा?
A.
प्रधानमन्त्री होइन, गणतन्त्र नेपाल घोषणा भएपछि मधेसीहरु अब राष्ट्रपति बन्छन्।
Q.
नेपालमा अब गणतन्त्र आउला?
A.
निश्चित रुपमा नेपालमा गणतन्त्र आउँछ।
Q.
राजतन्त्र रहँदैन?
A.
राजतन्त्र अब गइसक्यो।
Q.
राजतन्त्र जोगाउन धेरै शक्ति लागेका छन्?
A.
कुनै पनि शक्तिले राजतन्त्र यो मुलुकमा बचाउन सक्दैन। राजतन्त्र रहँदैन र गणतन्त्र आउँछ, आउँछ।
Q.
चैत २८ मा संविधानसभा होला?
A.
हुनुपर्दछ। प्रधानमन्त्रीले हुन्छ भनिसक्नुभयो। म पनि हुन्न भन्न सक्दिनँ। चुनाव हुन्छ।
Q.
गृहमन्त्रीसँग सम्बन्ध सुधार भएछ नि?
A.
भर्खर सिटौलासँग दोस्ती सुरु भएको छ। यो सम्झौता गराउन पनि उहाँको भूमिका थियो।