ऋषि धमला with गिरिजाप्रसाद कोइराला
प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला यतिबेला आफ्नो गृहक्षेत्र विराटनगरमा हुनुहुन्छ। आफ्नो नेतृत्वमा प्रारम्भ भएको शान्ति प्रकृयालाई सफल बनाउने एक मात्र मिशन मा शक्रिय रहनुभएका कोइराला मुलुकमा पूर्ण लोकतान्त्रिक पद्धति स्थापना गर्ने अभियानको उत्कर्षमा हुनुहुन्छ। निर्वाचन प्रकृयालाई सुरक्षित, शान्त, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन तल्लीन रहनुभएका कोइरालासँग पछिल्लो अवस्थाबारे हिजो विराटनगरस्थित कोइरालानिवासमा
ऋषि धमलाले गर्नुभएको कुराकानीः
Q.
प्रधानमन्त्रीज्यू, निर्वाचन होला त?
A.
एकदम। यसमा कुनै शंकै छैन। तपार्इंहरु कसरी चुनाव गराउने भन्नेबारेमा सोच्नुस्, नहुने कुरा नसोच्नुस्। निश्चिन्त भएर चुनावमा लाग्नुस्। अहिले साह्रा विश्वको ध्यान नेपालमा लागेको निर्वाचनमा केन्द्रित छ। नेपालमा जारी शान्ति प्रकृयालाई निष्कर्षमा पुर्याउने संविधानसभा निर्वाचन अब कुनै हालतमा रोकिंदैन।
Q.
माओवादी र वाईसीएलका गतिविधिका कारण निर्वाचन विथोलिने हो कि?
A.
–वाईसीएलका अराजक र उच्छृंखल गतिविधि रोक्नुपर्छ भनेर मैले माओवादी अध्यक्ष प्रचण्डसँग पनि कुराकानी गरिसकेको छु। प्रचण्डले नियन्त्रण गर्छु भन्नुभएको छ। अब कसैको अवरोधले निर्वाचन रोकिन्न। चुनाव हुन नदिने जोसुकै होस्, सरकार कडाइका साथ प्रस्तुत हुनेछ। मैले सुरक्षा निकायका अधिकारीहरुलाई भनिसकेको छु, तपार्इंहरु आफ्नो डयुटी कडाइका साथ पूरा गर्नुस्। निर्वाचन विथोल्न खोज्नेहरुमाथि कडाइ गर्नुस् भनेर मैले भनिसकेको छु। चुनाव विथोल्न खोज्ने काम भएमा म चुप लागेर बस्नेछैन। अब जनताको भाग्य र भविष्यमाथि कसैले खेलबाड गर्न पाउनेछैन। चुनाव गराउन म कुनै कसर बाँकी राख्दिनँ, चुनाव हुन्छ।
Q.
देशभर उम्मेदवार र कार्यकर्ताहरुको हत्या भइरहँदा पनि सरकार के हेरेर बसिरहेको छ?
A.
हेर्नुस, अहिले संक्रमण काल हो। साठी वर्षपछि ठूलो कोशिसबाट संविधानसभा निर्वाचन हुन लागिरहेको छ। केही सातातिना घटना हुनु स्वाभाविक हो। तर, अपेक्षाकृत रुपमा यसपटक चुनावको वातावरण शान्तिपूर्ण रुपमै अघि बढिरहेको जस्तो मलाई लाग्छ। सुरक्षा व्यवस्था कडा पार्ने निर्देश्ान गइसकेको छ। गृहमन्त्रीलाई मैले यसबारेमा आवश्यक निर्देश्ान दिइसकेको छु। मलाई लाग्छ, जनताले ढुक्क भएर चुनावमा भाग लिन पाउनुहुनेछ। जनता सचेत भइसकेका छन्। सुरक्षा व्यवस्थामा सरकारले कुनै कम्प्रोमाइज गर्नेछैन।
Q.
दलहरुबीच किन अस्वस्थ प्रतिस्पर्धा भइरहेको हो?
A.
हेर्नुस्, लोकतन्त्रमा विभिन्न दलका विभिन्न एजेण्डा हुन्छन्। चुनावमा ती एजेन्डा जनतामाझ लैजान पाउनुपर्छ। अनि जस्तोसुकै चुनावमा पनि जित र हारको हिसाब हुन्छ नै। संविधानसभामा पनि हरेक दलले बहुमत ल्याउने प्रतिस्पर्धा गरिरहेका छन्, जुन आफंैमा अस्वाभाविक होइन। तर, हामीबीच संयम र एकताको अझै खाँचो छ। मैले त बारम्बार भन्दै आएको छु, संविधानसभामा मात्र हैन, आगमी धेरै वर्षसम्म सात दलबीच एकता र सहकार्य हुनुपर्छ। लोकतन्त्रको संस्थागत विकास र नयाँ नेपाल निर्माणका लागि सामाजिक आर्थिक विषयमा सात दल एउटा साझा बिन्दुमा आउनुपर्छ। त्यसका लागि आपसी अस्वस्थ प्रतिस्पर्धाको वातावरण हटाउनैपर्छ। मैले भनेकै हुँ, संविधानसभासम्म मात्र हैन, तयसपछि पनि कम्तीमा २० वर्ष सात दलको सहकार्य हुनुपर्छ। संविधानसभापछि पनि संयुक्त सरकार कायमै रहनुपर्छ।
Q.
सात दलबीच किन चुनावी तालमेल भएन?
A.
सात दलको लक्ष्य र कार्यभार एउटै भए पनि सबै दलका आ–आफनै पृष्ठभूमि, विचार र कार्यक्रम छन्। सबैलाई आ–आफ्नो पहिचान स्थापित गर्दै जनतामा जाने अधिकार छ। लोकतन्त्र भनेकै यही हो। मलाई के लाग्छ भने लोकतन्त्रवादीहरुबीच तालमेल हुनु र नहुनुले केही असर पादर्ैैन। किनभने यसपटक संविधानसभामा लोकतन्त्रवादीहरुकै बहुमत आउने अवस्था छ। जुन पार्टीको उम्मेदवारले जिते पनि लोकतन्त्रवादीले जित्ने अवस्था हो। र्मैले त भन्दै आएको हो, यसपटक पार्टीगत जित र हारको कुनै अर्थ छैन। यसपटक लोकतन्त्र, शान्ति र अग्रगमनले जित्नुपर्छ अनि हत्या हिंसा र निरंकुशताले हार्नुपर्छ। त्यसैले होला, हामी तालमेलको प्रकृयामा प्रवेश नगरेको। तर, तालमेल गरेर गएको भए अझ राम्रो हुने थियो भन्ने भनाइ आफ्नो ठाउमा उचित नै हो।
Q.
के अब सात दलबीच कतै तालमेल हुँदैन त?
A.
हेर्नुस्, काँग्रेसले २ सय ४० वटै क्षेत्रमा उम्मेदवार खडा गरिसकेको छ। अन्य दलले पनि उम्मेदवार उठाइसकेका छन्। स्थानीय स्तरमा तालमेल भएमा ठीकै भयो। अन्यथा अब त चुनाव कसरी सम्पन्न गराउने भन्नेतर्फ हाम्रो ध्यान केन्द्रित हुनुपर्छ। तालमेलको कुरा भन्दा पनि शान्ति प्रकृयाको सुनिश्चितताको बारेमा सोचौं।
Q.
नेपाली काँग्रेसको अवस्था कस्तो पाउनुभयो?
A.
काँग्रेसको अवस्था एकदम सुदृढ पाएँ, जुन आन्दोलनले मुलुकमा संविधानसभा निर्वाचनको ग्यारेन्टी गरेको छ, त्यही शान्तिपूर्ण आन्दोलनको नेतृत्व गर्ने दलको अवस्था कसरी कमजोर हुन सक्छ र? अर्कोतिर नेपाली काँग्रेस भनेको पुरानो पार्टी हो। काँग्रेसले सात सालदेखि अहिलेसम्मका सबै क्रान्तिको नेतृत्व गर्यो। काँग्रेसले नै जनतालाई रैतीबाट नागरिक बनायो। सात सालमा वीपी, २०४६ सालमा गणेशमान र २०६३ सालमा मैले नेतृत्व गरें। यो कुरा जनतालाई थाहा छ। त्यसैले आगामी नयाँ नेपाल निर्माणको अभियानमा पनि जनताले काँग्र्रेसलाई नै नेतृत्वमा पुर्याउनेछन्। यसमा शंका नगरे हुन्छ।
Q.
निर्वाचनमा विदेशीहरुको कस्तो सहयोग पाउनुभएको छ?
A.
विदेशी मित्रहरुले त अभूतपूर्व सहयोग गरिरहनुभएको छ। संविधानसभा निर्वाचनमार्फत नेपालको शान्तिप्रकृया विधिसम्मत निकासमा पुगोस भन्ने विश्वसमुदायको चाहना पूरा हुन लागेकाले सबैको ध्यान नेपालमा केन्द्रित छ। एक लाख भन्दा बढी राष्ट्रिय/अन्तर्राष्ट्रिय पर्यवेक्षकहरु आउनुभएको छ। मैले संयुक्त राष्ट्र संघका महासचिव वान कि मुनलाई पत्र लेखेर निर्वाचनको पर्यवेक्षणका लागि आग्रह गरिसकेको छु। मैले सबै विदेशी मित्रहरुलाई भनिसकेको छु, नेपालको राष्ट्रियता, राष्ट्रिय अखण्डता र सुरक्षामा कसैसँग सम्झौता गर्दिनँ। यसैगरी लोकतन्त्र, मानवअधिकार, प्रेस–स्वतन्त्रता र जनताको मौलिक हकलगायतका विषयमा म स्पष्ट छु। विदेशी मित्रहरुले मेरो अडानलाई नै समर्थन गरिरहनुभएको छ। उहाँहरुले नेपालका आन्तरिक शक्तिहरु मिलेरै समस्या समाधान गर्नुपर्छ, भनिरहनुभएको छ।
Q.
भारतको कस्तो सहयोग छ त?
A.
नेपालको शान्तिप्रकृयामा भारतको विशेष सहयोग रहेको छ। बाह्र बुँदे समझदारीदेखि अहिलेसम्म भारतको सकारात्मक र उल्लेखनीय सहयोग पाएका छौं। मधेश समस्या समाधानदेखि लिएर निर्वाचनका लागि भारतले विशेष सहयोग गरेको छ। भारतीय मित्रहरु नेपालमा लोकतन्त्र, दिगो शान्ति र विकासको पक्षमा हुनुहुन्छ। निर्वाचन सफल बनाउन भारतले हर तरहले सहयोग गरिरहेको मैले पाएको छु।