Rishi Dhamala with Jhala Nath Khanal
वाइसिएल बिघटन नगरे माओवादीसँग सहयकार्य हुदैन
झलनाथ खनाल, नेता नेकपा एमाले ।
नेकपा एमालेका बौद्धिक र प्रभावशाली नेता झलनाथ खनाल पार्टीको महासचिवका दाबेदार हुनुहुन्छ । एमालेको युवापंक्तिबाट रुचाइनुभएका नेता खनाल २०४६ सालको जनआन्दोलन अघि तत्कालिन नेकपा मालेको महासचिव भइसक्नुभएको छ । २०६२।६३ सालको जनआन्दोलनमा पनि कार्यवाहक महासचिव रहनुभएका उहां तर्कशील र कुटनीतिक दक्षता हासिल गर्नुभएको नेताका रुपमा परिचित हुनुहुन्छ । आजबाट शुरु हुने एमालेको बहुप्रतिक्षित केन्द्रीय समिति बैठकमा छलफलको विषय के हो ? एमाले सरकारमा जान्छ जादैन ? सरकारको नेतृत्व परिवर्तनको पक्षमा एमाले छ या छैन - र एमालेको भावी महासचिव को बन्छ भन्ने विषयमा स्मार्ट नेताका रुपमा चिनिने खनालसंग रिपोर्र्टर्स नेपाल डट कमका लागि ऋषि धमलाले गर्नुभएको कुराकानी ः
Q.
अबको सरकाररको नेतृत्व कसले गर्ला ?
A.
संविधानसभाको निर्वाचनमा जसले ठुलो संख्यमा जनमत प्राप्त गरेको छ त्यसैले सरकारको नेतृत्व गर्नुपर्छ ।
Q.
भनेपछि माओवादी नेतृत्वमा नै सरकार बन्नुपर्छ भन्नुभएको हो ?
A.
जनताको म्याण्डेड माओवादीले प्राप्त गरेको छ । जनताको आदेश अनुरुप माओवादीकै नेतृत्वमा सरकार बन्छ । तर निश्चित शर्तहरु पुरा भएनन् भने सरकार बन्न धेरै अप्ठ्याराहरु छन् ।
Q.
सरकार बन्न के-के शर्त पुरा हुनुपर्छ ?
A.
माओवादी भातृसंगठन वाईसियलको तत्काल बिघटन हुनुपर्छ । माओवादीले अन्य दलका नेता कार्यकर्तामाथिको आक्रमण र धम्की दिने प्रवृत्ति त्याग्नुपर्छ । संविधानमा उल्लेख भएका केही प्रावधानहरुमा पनि परिमार्जन हुनुपर्छ र बहुमतको सरकार गठन हुनुपर्ने अवस्था सृजना हुनुपर्छ ।
Q.
यो संविधान अनुरुप संसदको दुइ तिहाई सदस्यको समर्थनबाट प्रचण्ड प्रधानमन्त्री भएर सत्ता छाड्नुभएन भने तपाईहरु के गर्नुहुन्छ ?
A.
अन्तरिम संविधानमा प्रधानमन्त्रीलाई हटाउन दुइ तिहाइको प्रावधान राख्नु नै ठूलो गल्ति थियो । हाम्रो पार्टी गरेको विरोधका बाबजुद पनि यो प्रावधान राखियो । सरकार गठन र विघटन गर्नका लागि सामान्य बहुमत नै रहनुपर्ने हो, अब सबैको सहमतिमा संविधानमा सामान्य बहुमतबाट नै सरकार बनाउने र हटाउने प्रावधान राख्नुपर्छ ।
Q.
प्रधानमन्त्रीलाई संविधानअनुरुप बहुमतले नै हटाउनसक्ने प्रावधान राखेर प्रचण्डलाई नेतृत्व गर्न दिने पक्षमा हुनुहुन्छ ?
A.
प्रचण्डका लागि नै भन्ने कुरा होइन । यो एउटा सिस्टमको करा हो । लोकतान्त्रिक व्यवस्था स्थापना गर्नका निम्ति सामान्य बहुमतले सरकार बनाउने र सामान्य बहुमतबाट नै सरकार हटाउने प्रावधान विश्वभरनै छ । हामलिे पनि त्यसैलाई अंगिकार गरेर जानुपर्छ भनेका हौं ।
Q.
माओवादीको नेतृत्वमा बन्ने सरकारमा तपाईहरु सहभागी हुनुहुन्छ ?
A.
जनताले दिएको म्याण्डेड सिरोपर छ । जनताले किन दिए यस्तो भन्नेकुरा अध्ययनको विषय हुनसक्छ । जनमत विपरित हामी जान सक्दैनौं । एमाले लोकान्त्रिक मुल्य र मान्यतालाई दृढतापूर्वक मान्ने पार्टी हो । उसले जनताको आदेशलाई सर्वोपरी ठानी आफ्नो नीति तथा कार्यक्रम तर्जुमा गर्छ र गर्दै आएको छ ।
Q.
भनेपछि एमाले सरकामा जाँदैन ?
A.
हामी सरकारमा जान्छौं कि जाँदैनौं भन्ने विषयमा केन्द्रीय समितिले निर्णय गर्छ । तर यथावस्थामा त सरकार बन्ने सम्भावना नै छैन । सरकारमा जाने प्रश्नै आउँदैन ।
Q.
सरकार बन्नका लागि संवैधानिक जटिलता छ ?
A.
सरकार बन्नका लागि अवश्य पनि संबैधानिक समस्याहरु र आपसी विश्वासको खाँचो छ । अब सातदलीय एकतालाई परिवर्तित परिपे्रक्ष अनुरुप सबै दलको एकताको रुपमा रुपान्तरित गर्नुपर्छ । यी चुनौती हल गरेपछि मात्र सरकार बन्छ ।
Q.
माअेवादीले निरंकुशता लाद्छ भन्ने शंका किन गरिदैछ ?
A.
निरंकुशताको पक्षमा कोही जान खोज्यो भने नेपाल धर्तिमा त्यो व्यवस्था टिक्न सक्दैन । राजतन्त्र र समाप्त हुंदैछ भने अरु कुनैपनि शक्तिले निरंकुशता लाद्न खोज्यो भने त्यसको इतिश्रीको कारण नै त्यहि हुन्छ ।
Q.
माओवादीले वाइसिएल विघटन गर्ला ?
A.
यदि वाइसिएलको विघटन भएन भने त सकारात्मक वातावरण बनाउन नै गाह्रो पर्छ । सहकार्य र सहमतिका लागि माओवादीले वाइसिएल विघटन गर्नैपर्छ । अन्यथा माओवादीसंग सहकार्य हुनै सक्दैन ।
Q.
माओवादीको पछिल्लो गतिविधिलाई कसरी विश्लेषण गर्नुहुन्छ ?
A.
माओवादी ज्यादती कायमै छ । यी ज्यादै दुर्भाग्यपूर्ण कुराहरु हुन् । ज्यादती अविलम्ब रोक्न र शान्तिपूर्ण वातावरण बनाउन माओवादी साथीहरुले मेहनत गर्नुपर्छ ।
Q.
एमाले केन्द्रीय समितिको बैठकले के सन्देश दिन्छ ?
A.
केन्द्रीय समितिको बैठकले विगतको समिक्षा गर्छ । निर्वाचन अभियानको समिक्षा गर्छ, अनि पार्टीको नेतृत्वका सम्बन्धमा निर्णय गर्छ । केन्द्रीय समितिले आठौं महाधिवेशनको सन्दर्भमा छलफल गरी आगामी दिनमा एमालेले खेल्नुपर्ने भूमिका तय गर्छ ।
Q.
एमालेभित्र नेतृत्व परिवर्तन होला ?
A.
महासचिवले राजीनामा दिइसकेको अवस्थामा पहिला केन्द्रीय समिति एउटा निष्कर्षमा पुग्छ । र केन्द्रीय समितिले स्विकृत गर्यो भने नयाँ नेतृत्वको विषयमा छलफल हुन्छ ।
Q.
पार्टी नेतृत्व खनाल, ओली, वामदेव कि अमृत बोहराले गर्ने ?
A.
एमाले नेताहरुको खानी पार्टी हो । सबै नेताले पार्टीलाई हाँक्न सक्नुहुन्छ भन्ने मलाई लाग्छ ।
Q.
पार्टी हाँक्ने जिम्मेवारीबाट तपाई पछि हट्नुहुन्न ?
A.
म त एमालेको एउटा सिपाही हुँ । सिपाहीलाई पार्टीले जे आदेश दिन्छ त्यही गर्छ । म जुनसुकै जिम्मेवारी दिएपनि पूरा गर्न तयार छु ।
Q.
माधवकुमार नेपाल पुनः महासचिव बन्ने संभावना छ ?
A.
यो तत्काल मैले भन्ने कुरा भएन । महासचिवले राजीनामा दिनुभएको छ । महासचिव बन्नसक्ने ढोका जोकुनै एमाले नेताका लागि खुल्ला छ । अहिले त उहाँले राजीनामा दिनुभएको छ । त्यसैले उहाँ महासचिव बन्ने वा नबन्ने भन्ने प्रश्न नै होइन । केन्द्रीय समिति बैठकले पुरानो नेतृत्वको निरन्तरता या नयां नेतृत्वको टुंगो लगाउँछ ।
Q.
कांग्रेसले फेरि सकारको नेतृत्व गर्नसक्छ ?
A.
संविधानसभामा ठूलो दलपनि नभएको अवस्थामा सरकार गठन गर्छु भन्यो भने बहुलठ्ठीपन बाहेक के हुन्छ ।
Q.
प्रधानमन्त्रीले सरकार सहमतिमा बन्नुपर्छ भन्नुभएको छ नि ?
A.
सरकार त सहमतिमै बन्नुपर्छ । उहाँको भनाई ठिक छ ।
Q.
माओवादीले सहमति जुटाउन सकेन भने अर्को पार्टीले नेतृत्व लिन सक्दैन ?
A.
सहमति जुटाउनै सकेन भने त त्यतिबेला विकल्प खोज्न सकिन्छ । सहमति जुटाउन सबैभन्दा ठूलो दलले अधिकतम प्रयास गर्नुपर्छ । पहिले त्यो प्रयत्न हेरौं न ।
Q.
प्रचण्डलाई राष्ट्रपति या प्रधानमन्त्री बन्नबाट स्वदेशी तथा विदेशी शक्तिहरुले रोक्ने संभावना कत्तिको छ ?
A.
जनताको म्याण्डेडलाई कसैले पनि रोक्छ जस्तो मलाई लाग्दैन । प्रचण्ड राष्ट्रपति बन्ने कुरा त मलाई थाहा छैन तर अहिलेको प्रकृया अनुरुप सहमती निर्माण गरी प्रधानमन्त्री बन्ने संभावना भने छ ।
Q.
सहमति बनेन भने राजनीति के होला ?
A.
यतातिर अहिले नजाउ\" । तर देशलाई निकास दिन सहमती र सहकार्य आवश्यक छ । जनताको भविष्य निर्माण गर्ने संविधान बनाउन नकारात्मक सोचबाट होइन, सकारात्मक ढंगले सोच्दै अगाडि बढ्नुपर्छ ।
Q.
जनमुक्ति सेनाका कमाण्डर रहनुभएका प्रचण्डलाई प्रधानमन्त्री बन्न के कस्तो अड्चन छ ?
A.
यो प्रश्न एकदमै विचारणीय हो । माओवादीले प्रचण्ड र नेकपा माओवादीका बारेमा पनि गम्भिरतापूर्वक सोच्नुपर्छ । सेनाप्रमुख रहिरहने कि नरहने भन्ने विषयमा अब प्रश्न उठ्छ । केही यस्ता कुराहरु छन् जसलाई माओवादीले अदली-बदली नगरीकन नया\" सहकार्य बन्न सक्दैन ।