Rishi Dhamala with Prachanda
काङ्ग्रेस सरकारमा आउँछ, प्रधानमन्त्री प्रचण्ड
संयुक्त राष्ट्रसङ्घको साधारण सभामा भाग लिएर प्रधानमन्त्री प्रचण्ड मंगलबार स्वदेश फर्कनुभयो। महाशक्ति राष्ट्र अमेरिकाका राष्ट्रपति जर्ज डब्लु बुससँग भेटेर उहाँ प्रफुल्लित हुनुभएको छ। अब उहाँको भावी योजना, काङ्ग्रेससँगको सम्बन्ध र सरकारको आगामी योजनाबारे घटना र विचारका लागि ऋषि धमलासँग सङ्क्षित कुरा गर्दै प्रचण्डले भन्नुभयो, 'यो भ्रमणबाट नेपालले ठूलो उपलब्धि हासिल गरेको छ।'उहाँसँग भएका कुराकानीका मुख्य अंशहरू
Q.
तपाईंको अमेरिका भ्रमणबाट नेपालले के पाउने भयो?
A.
गणतान्त्रिक नेपालको पहिलो प्रधानमन्त्रीको हैसियतले मैले संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिए। त्यस अवसरमा अमेरिकाका राष्ट्रपति बुसलगायत विश्वका विभिन्न मुलुकका राष्ट्रप्रमुख र सरकार प्रमुखसँग नेपालको शान्ति प्रक्रिया, संविधानसभाको निर्वाचन, संविधान निर्माण प्रक्रिया, आर्थिक, सामाजिक र राजनीतिक विषयबारे अवगत गराए। यसले विश्वमञ्चमा नेपालको प्रतिष्ठा बढेको छ। नेपालले ख्याति पाएको छ। नयाँ नेपाल निर्माणमा हामीले चालेको कदमबारे विश्वजगत् जानकार भएको छ। यो आफैंमा ठूलो उपलब्धि हो। राष्ट्रसङ्घका महासचिव बान की मुन नेपाल आउने अर्को महत्त्वपूर्ण कुरा हो।
Q.
अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसलाई तपाईंले के भन्नुभयो?
A.
ऋषिजी, अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसले मलाई अमेरिका पुगेकै दिन रात्रिभोजमा निम्तो गर्नुभयो। मैले राम्रो सत्कार प्राप्त गरेँ। नेपालमा सम्पन्न भएको राजनीतिक क्रान्ति, संविधानसभा निर्वाचन र गणतन्त्र स्थापनालगायत भावी योजनाबारे कुरा गरेँ। नेपाल आर्थिक क्रान्तिको बाटोमा लागेकाले अमेरिकी सहयोगका लागि आग्रह गरेँ।
Q.
बुसले तपाईंलाई के भन्नुभयो?
A.
बुसले नेपालको अवस्थाबारे जानकार रहेको बताउनुभयो। नेपाल सरकारले शान्ति प्रक्रिया र आर्थिक क्रान्तिको दिशामा चालेको कदममा खुलेर सहयोग गर्ने बताउनुभयो। उहाँले नेपालको प्रगति, समृद्धि र दिगो शान्तिको कामनासमेत गर्नुभयो।
Q.
अमेरिकी राष्ट्रपतिसँगको भेटमा तपाईंले कस्तो महसुस गर्नुभयो?
A.
अमेरिका अझै नेपालको पछिल्लो अवस्थामा पर्ख र हेरको नीतिमा रहेको पाएँ। मलाई राष्ट्रपति बुसले रात्रिभोजमा बोलाएर सद्भाव देखाउनुभयो त्यसले हाम्रो पार्टी र त्यसको नेतृत्वलाई स्वीकार गरेकोजस्तो लाग्यो। मैले बुसलाई भेट्दा नेपालबारे निकै चासो राख्नुभएको पाएँ। बुसको सङ्केत निकै सकारात्मक छ। उहाँ नेपालले आर्थिक क्रान्तिका लागि चालेको कदमप्रति निकै सकारात्मक देखिनुभएको छ।
Q.
अमेरिकाले माओवादीलाई स्वीकार गरेकै हो?
A.
– मैले अमेरिकामा राष्ट्रपतिका अलावा उच्चसरकारी अधिकारीसँग भेट्दा हाम्रो पार्टीबारे सकारात्मक हुँदै गएको पाएँ। हामीलाई हेर्ने दृष्टिकोणमा व्यापक परिवर्तनको पक्षमा छन्।
Q.
आतङ्ककारीको बिल्ला हटाउनेबारे पनि कुरा गर्नुभयो?
A.
त्यसबारे पनि कुराकानी भएको छ। अमेरिकी राष्ट्रपतिसँग मैले उभिएर केही समय कुराकानी गर्दा विस्तृत छलफल हुन पाएन। तर, अमेरिकी सहायक विदेशमन्त्री रिचर्ड बाउचरसँगको भेटमा त्यसबारे विस्तृत कुराकानी भएको छ। अमेरिकाले माओवादीलाई लगाएको आतङ्ककारीको बिल्ला हटाउने कुरामा मलाई विश्वास दिलाएको छ। बाउचर त्यसमा निकै सकारात्मक हुनुहुन्छ। मलाई विश्वास छ– हामीलाई आतङ्ककारीको सूचीबाट हटाउन अमेरिकाले छिट्टै कदम चाल्नेछ। अमेरिकाको सहयोग अझ वृद्धि हुनेमा हामी आशावादी छौं।
Q.
तपाईं थोरै समयमा धेरै देश घुम्दा आलोचना भइरहेको छ नि?
A.
मैले चीन, भारत हँुदै अमेरिकाको भ्रमण गर्दा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रतिष्ठा र कूटनीतिक छवि एक्कासि उक्कासिएको छ। अन्तर्राष्ट्रिय मञ्चमा मलाई धेरै मान्छेले रुचिका साथ हेरे। म र हाम्रो पार्टीप्रति सबैको जिज्ञासा थियो। जनयुद्धबाट शान्तिपूर्ण रूपमा मुलुकलाई रूपान्तरण गरेर सरकारको नेतृत्व गर्न कसरी पुगेको भनेर चासो देखियो। यो भ्रमण निकै उपलब्धिपूर्ण रह्यो। दाता राष्ट्रमाझ पनि हामीले प्रस्ट कुरा राखेका छौं। उनीहरू आर्थिक रूपान्तरण र शान्ति प्रक्रिया सफल बनाउन खुलेर सहयोग गर्न चाहेका छन्। मेरो एउटै लक्ष्य छ कि आर्थिक क्रान्ति गरेर मुलुकको कायापलट गर्ने। मैले अमेरिकी राष्ट्रपति बुसदेखि सबै देशका राष्ट्रप्रमुखलाई यही कुरा भनेको छु।
Q.
नेपालमा तपाईंको पहिलो प्राथमिकता के हो?
A.
मेरा तीनवटा मिसन छन्। लोकतान्त्रिक संविधान बनाउने, शान्ति–प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउने र आर्थिक क्रान्ति सम्पन्न गर्ने। यसका लागि सबै दललाई साथ लिएर अगाडि बढ्छु।
Q.
काङ्ग्रेसलाई कसरी सँगै लिएर जानुहुन्छ?
A.
नेपाली काङ्ग्रेस सरकारमा आउनैपर्छ। मेरो प्राथमिकतामा परेको विषय यो पनि हो। सहमति र सहकार्यका साथ जान म अविलम्ब प्रयास थाल्नेछु।
Q.
काङ्ग्रेस सरकारमा आउला?
A.
काङ्ग्रेसलाई सरकारमा ल्याउने मेरो पहिलो पहल हुन्छ। मुलुकमा सहमति र सहकार्यको राजनीति गर्ने र आर्थिक क्रान्ति, शान्ति प्रक्रिया निष्कर्षमा पुर्याउने र लोकतान्त्रिक संविधान बनाउने हो भने काङ्ग्रेस आग्रह पूर्वाग्रहभन्दा माथि उठेर सरकारमा सहभागी हुनुपर्छ।
Q.
गिरिजाप्रसाद कोइरालासँग यसबारे कुरा गर्नुभएको छ?
A.
म गिरिजाप्रसाद कोइरालासँग पनि मिलेर जाऊ भन्छु। संविधान निर्माणमा उहाँको महत्त्वपूर्ण भूमिका हुन्छ। संविधान निर्माणमा सत्तापक्ष र प्रतिपक्ष हुँदैन। सबै मिलेर जानुपर्छ। म त्यसबारे उहाँसँग कुरा अगाडि बढाउनेछु।
Q.
सरकार ढल्दैछ भन्छन् नि?
A.
सरकार ढल्दैन। यो सरकारले आफ्नो गन्तव्य तय गरेको छ। लक्ष्य पूरा नगरेसम्म रेलको रफ्तारमा जान्छ। काङ्ग्रेस पनि सरकारमा आउँछ।
Q.
गठबन्धनभित्रै विवाद छ नि?
A.
म ठोकुवाका साथ भन्छु कि यो सरकारले संविधान निर्माणको जिम्मेवारी पूरा गरेरै छाड्छ। गठबन्धन दलहरूभित्र कुनै विवाद छैन। साझा न्यूनतम कार्यक्रमको आधारमा हामी समझदारीका साथ काम गर्छौं। सरकार सञ्चालनको राजनीतिक संयन्त्र छिट्टै बन्नेछ। यसले केही असहमति आएमा पनि समाधान गर्छ।