Rishi Dhamala with Bamdev Gautam
माओवादीले भन्दैमा त्यो सम्भव हुन्न -वामदेव गौतम, गृहमन्त्री
नेकपा एमालेका वरिष्ठ नेता एवम् उपप्रधानमन्त्री र गृहमन्त्री वामदेव गौतमले शान्ति प्रक्रियालाई निष्कर्शमा पुर्याउने सवालमा काङ्गे्रस आउँदैन भने पनि चुप लागेर बस्न नसकिने विचार व्यक्त गर्नु भएको छ। तर, उहाँले सेनाको समायोजन प्रक्रियामा काङ्गे्रस सामेल हुने पूर्ण विश्वास भने व्यक्त गर्नुभएको छ। गौतमले आफ्नो मुख्य मिसन आगामी दुई वर्षभित्र दुई कम्युनिस्ट पार्टी (माओवादी र एमाले) लाई एकिकृत गर्नु रहेको खुलासा पनि गर्नुभएको छ। ऋषि धमलासँग मङ्गलबार कुरा गर्दै गौतमले भन्नुभयो– 145यो छ महिनाभित्र शान्ति सुरक्षाको स्थितिमा अनुभव गर्न सकिने गरी सुधार नभएमा म गृहमन्त्री पदबाट राजीनामा दिनेछु।146 समसामयिक ज्वलन्त विषयहरूमा गौतमसँगर् भएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ–
Q.
सेना समायोजन प्रक्रिया कसरी अगाडि बढाउनुहुन्छ?
A.
प्रक्रिया अगाडि बढिसकेको छ। काङ्ग्रेसलाई विशेष समितिमा सहभागी गराउन समय लागेकाले समितिको बैठक बसेको छैन। काङ्ग्रेस सहभागी भइसकेपछि बैठक बसेर तोकिएको समयमै सेना समायोजन प्रक्रिया पूरा गर्नेछौं।
Q.
काङ्ग्रेस समितिमा आउला?
A.
काङ्ग्रेस सेना समायोजनको समितिमा आउनैपर्छ। मुलुकका लागि महत्वपूर्ण अवसर आएको छ। त्यसबाट काङ्ग्रेस पन्छन मिल्दैन। मैले थाहा पाएअनुसार काङ्ग्रेस समितिमा आउँछ। कुराकानी अन्तिम चरणमा पुगेको छ।
Q.
काङ्ग्रेसले समान सहभागिता खोजेको छ नि?
A.
समान सहभागिता ठूलो कुरा होइन। समितिमा आउँछ भने त्यसबारे छलफल गर्न सकिन्छ। सङ्ख्यामा तलमाथि गरेर जान सकिन्छ।
Q.
काङ्ग्रेस नआए सेना समायोजन प्रक्रिया अगाडि बढ्छ?
A.
काङ्ग्रेस नआउने कुरा कल्पनासमेत गरेको छैन। शान्ति–प्रक्रियालाई निष्कर्षमा पुर्याउने सवालमा पछि हट्नुहुँदैन र जिम्मेवारीबोध गर्नुपर्छ।
Q.
काङ्ग्रेस आउँदै नआए काम गर्न सक्नुहुन्छ?
A.
शान्ति–प्रक्रियालाई निष्कर्षमा पुर्याउने सवालमा काङ्ग्रेस आउँदैन भने पनि चुप लागेर बस्न सकिँदैन। ऊ नआए पनि काम अगाडि बढ्छ। सेना समायोजन हुन्छ।
Q.
सेना समायोजनको मापदण्ड के?
A.
अनमिनले योग ठहर्याएका साढे १९ हजारलाई सुरुमा कुन स्थानमा जान चाहेको हो प्रश्न सोधिनेछ। चाहनाअनुसार जान चाहेको स्थानमा मापदण्ड हेरेर काम थालिनेछ। नेपाली सेनाको हालको मापदण्ड पुगेका माओवादी छापामारलाई मात्र सेनामा प्रवेश दिइनेछ। सेना बन्नका लागि योग्यलाईबाहेक अन्यलाई अन्यत्र पुनर्व्यवस्थापन गरिनेछ। प्रहरी बन्नका लागि पनि मापदण्ड त पुग्नैपर्छ। छाती, उचाइ, तौल सबै हेरिन्छ। त्यसमा कुनै सम्झौता हुँदैन। मापदण्ड नपुगेकालाई औद्योगिक सुरक्षा बल, सीमा सुरक्षा बल बनाएर हुन्छ या समाजका अन्य क्षेत्रमा समायोजन गरिन्छ।
Q.
माओवादीले त जनसेनाको मुख्य फोर्सलाई नेपाली सेनामा प्रवेश गराउनुपर्छ भनेको छ नि?
A.
त्यो सम्भव छैन। सबैको मापदण्ड र योग्यता पुग्दैन भन्ने कुरा माओवादीका नेताहरूलाई पनि थाहा होला। त्यसैले मापदण्ड नपुगेकालाई कुनै पनि हालतमा नेपाली सेना या प्रहरीमा प्रवेश दिइनेछैन।
Q.
पासाङलाई प्रधानसेनापति बनाउने सवाल उठाइएको छ नि?
A.
त्यो असम्भव कुरा हो। म त्यसबारे कुरै गर्न चाहन्न। भर्खर त समायोजनको प्रक्रिया अगाडि बढाइँदैछ। प्रधानसेनापति बन्ने कुरा धेरै टाढाको कुरा हो।
Q.
सेना समायोजनको विषयले गठबन्धन धरापमा पर्दैन?
A.
सेना समायोजन शान्ति–प्रक्रियाको अभिन्न अङ्ग हो। गठबन्धनले समायोजन गरेरै छाड्छ। आपसी सहमति र समझदारीबाट समायोजन हुन्छ। गठबन्धन झन् बलियो हुनेछ।
Q.
उपेन्द्र यादवले त सेनामा छापामारलाई प्रवेश दिइए सरकार छाड्ने चेतावनी दिनुभएको छ नि?
A.
कसले के बोलेको छ भनेर प्रतिक्रिया दिन चाहन्न। मेरो एउटा मिसन छ, त्यस्तै प्रधानमन्त्री प्रचण्डको पनि मिसन छ। हामी सबै मिलेर चुनौतीको सामना गर्नेछौं। समायोजन प्रक्रिया सफलता र सोचेभन्दा छिटो हुन्छ। सेना समायोजनले गठबन्धनको आयु लम्ब्याउनेछ।
Q.
गठबन्धन सरकारको आयु कति हो?
A.
गठबन्धन सरकारको आयु भनेको संविधान निर्माण नगरुञ्जेलसम्मका लागि हो। जबसम्म शान्ति–प्रक्रिया निष्कर्षमा पुग्दैन, संविधान निर्माण हँुदैन तबसम्म सरकारलाई कसैले ढाल्न सक्दैन।
Q.
वाईसीएल र युथफोर्स विघटन नभए सरकार छाड्छु भन्नुभएको छ नि?
A.
मैले पार्टीमा वाईसीएल र युथफोर्सका गतिविधिका कारण शान्तिसुरक्षामा समस्या आएको स्पष्ट कुरा राखेको छु। देशमा शान्तिसुरक्षा र अमनचयन राख्ने हो भने वाईसीएल र युथफोर्स विघटन हुनैपर्छ।
Q.
विघटन नभए सरकार छाड्नुहुन्छ?
A.
वामदेवको जिम्मेवारी छ। त्यसलाई पूरा गर्न सरकारमा सहभागी भएको हो। म कमजोर मानसिकताबाट काम गर्दिनँ। बोलेको कुरा पूरा गराएरै छाड्छु र मुलुकमा शान्तिसुरक्षा कायम गरेर छाड्छु। यसमा मलाई नेपाली जनता, प्रधानमन्त्री प्रचण्ड र मेरो पार्टीको पूर्ण सहयोग र समर्थन छ। ६ महिनासम्म पनि शान्तिसुरक्षा प्रभावकारी बनाउन सकिनँ भने छाड्छु भनेको हुँ।
Q.
तपाईं पार्टीभन्दा पनि प्रचण्डसँग नजिक हुनुहुन्छ रे नि?
A.
म नेपालका सबै कम्युनिस्टहरू एक बनाउन लागेको हुँ। एमाले र माओवादी एकीकरणको अभियानमा छु। दुई वर्षभित्र कम्युनिस्ट एकता हुनुपर्छ भन्ने मेरो मिसन हो। मेरो पार्टीले सरकारमा पठाएको हो। पार्टीप्रति पनि मेरो जिम्मेवारी छ र सरकार सफल बनाउन नेतृत्वकर्तासँग मिलेर काम गर्नुपर्ने र पार्टीको निर्देशन मान्नुपर्ने दायित्व पनि छ। पार्टीले दिएको दायित्व पूरा गर्न कुनै हालतमा पछि हट्दिनँ।
Q.
प्रचण्डजीलाई सफल बनाउन तपाईं लाग्नुहुन्छ?
A.
प्रधानमन्त्री प्रचण्ड सफल बन्नुहुन्छ भन्नेमा म विश्वस्त छु। सरकारलाई सफल बनाउन म लागेको छु।
Q.
एमालेको महाधिवेशनमा तपाईंले महासचिवमा उम्मेदवारी दिनुहुन्छ?
A.
एमालेको महाधिवेशनले मुलुकको राजनीतिलाई नै दूरगामी प्रभाव पार्नेछ। एमाले नयाँ ढङ्गबाट अगाडि बढ्छ। सामूहिक नेतृत्वमा जान्छ। मलाई अहिले महासचिव बन्ने कुनै रहर छैन। पार्टीले दिएको जिम्मेवारी पूरा गर्ने मेरो दृढसङ्कल्प हो र म त्यसैअनुरूप काम गर्नेछु।
Q.
एमालेको भावी महासचिव को?
A.
भावी महासचिवबारे चर्चा गर्ने बेला आइसकेको छैन। महाधिवेशन आउन दिनुहोस् एमालेले सक्षम नेतृत्व छान्नेछ।
Q.
प्रहरीमा व्यापक फेरबदल हुन्छ?
A.
प्रहरीमा व्यापक फेरबदल हुनेछ। सुरक्षा निकाय सञ्चालनका लागि गृह मन्त्रालयमा टास्क फोर्स बन्दैछ। प्रहरीमा आमूल परिवर्तन हुनेछ। त्यसका लागि प्रक्रिया अगाडि बढिसकेको छ।