Rishi Dhamala with K P Sharma Oli
राष्ट्रिय सहमतिको सरकारको विकल्प छैन,केपी शर्मा ओली, वरिष्ठ नेता नेकपा एमाले
Q.
सरकारको सय दिनको मूल्यांकन कसरी गर्नुहुन्छ?
A.
सरकारको सय दिनको गतिविधिप्रति म सन्तुष्ट छैन। माओवादी गतिविधिमा अझै सुधार हुन सकेको छैन। माओवादीले सरकारको नेतृत्व पनि गर्ने र विद्रोहीको चरित्र पनि गर्ने जस्तो दोहोरो भूमिका देखाएको छ। शान्तिसुरक्षा दिनुपर्ने ठाउामा माओवादी कार्यकर्ता व्यक्तिहत्यामा उत्रिएको देखिन्छ। सरकारले प्राथमिक काममा सफलता हासिल गर्न सकेन। संविधान निर्माण र सेना समायोजन प्रक्रियालाई अगाडि बढाउन सकेको छैन।
Q.
शान्ति प्रक्रियाको मुख्य एजेण्डामा सरकार किन अगाडि बढ्न सकेन?
A.
नेतृत्व लिने माओवादी उग्रवामपन्थी भड्कावबाट ग्रस्त छ। हामीले उसको उग्रवामपन्थी भड्कावलाई हटाउन भरमग्दुर पहल गरिरहेका छौं। तर ऊ पुरानै सशस्त्र द्वन्द्वकालित मानसिकताले ग्रस्त छ। युद्धकालिन मानसिकता राखेर शान्तिको बाटोमा अगाडि बढ्न सकिदैन। माओवादीको मानसिकताका कारणनै मुख्य एजेण्डा अगाडि बढ्न सकेको छैन।
Q.
नेकपा एमाले पनि त सरकारमा छ नि?
A.
एमाले सरकारको नेतृत्व गरिरहेको छैन। माओवादीले सरकारको नेतृत्व गरिरहेकाले शान्ति प्रक्रियालाई अगाडि बढाउनुपर्ने मुख्य दायित्व उसैको हो। माओवादीलाई हामी बारम्बार युद्धकालिन मानसिकता त्याग्न दबाब दिइरहेका छौं। तर माओवादी लागेको बानी छाड्नैचाहदैन। एमालेले उसको बानी सुधार्न अन्तिमसमयसम्म पहल गरेर शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन खोजिरहेको छ।
Q.
माओवादी नेतृत्वकै सरकारबाट शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुग्नेमा एमाले विश्वस्त भएको हो?
A.
हामीले एउटा प्रयास गरेका हौं। माओवादी सुधि्रएला र देशले पनि शान्तिको मार्ग भेट्ला भनेरै सरकारमा सहभागी भएका हौं। तर माओवादीको व्यवहारबाट आशा गर्ने ठाउा थोरै मात्र बााकी छ। माओवादीले हिंसा, अपहरण, चन्दा आतंक छाडेको छैन। दिनानुदिन जनता माओवादीको आतंकबाट त्रस्त छन्। यस्तै हो भने एमाले टुलुटुलु हेरेर बस्दैन।
Q.
एमाले सरकारबाट बाहिरिन्छ त?
A.
लोकतान्त्रिक मूल्यविपरितकको कामलाई एमालेले सहेर बस्दैन। शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुर्याएर लोकतन्त्र सुदृढ गर्नकै लागि एमाले सरकारमा गएको हो। हामी चाहन्छौं कि माओवादी सुधि्रयोस्। हामीले आग्रह गर्दा गर्दै बेवास्ता भयो भने सोच्ने कुरा आउाछ। तत्काल भने सरकारबाट बाहिरिनेबारे सोचेका छैनौं।
Q.
एमाले लामो समय सरकारमा बस्दैन भनिन्छ नि?
A.
एमाले सधै सत्तामा टाासिरहनुपर्छ भन्ने ठान्दैन। जनताले र देशले चाहेको अवस्थामा सरकारको नेतृत्व पनि लिएको थियो र सरकारमा पनि सहभागी भएको थियो। अहिले पनि संविधान बनाउने बाटो सजिलो बनाउनका लागि सरकारमा सहभागी भएको हो। माओवादी नेतृत्वको सरकारमा बस्ने नबस्ने त माओवादी व्यवहारमा निर्भर गर्छ। माओवादी सुधि्रएर अगाडि बढ्न चाहे सहयोग जारी रहनछ। हैन भने त सरकार धेरै समय टिक्न सक्दैन। सरकारलाई लामो समय टिकाउनका लागि माओवादीले विगतको सहमति पालना गर्नुपर्छ। उसले हिंसात्मक गतिविधि त्याग्नैपर्छ।
Q.
तपाईं राष्ट्रिय सहमतिको सरकार निर्माणमा जोड दिदैआउनुभएको छ नि?
A.
राष्ट्रिय सहमतिको सरकारको विकल्प छैन। सहमतिको सरकार बनेमा संविधान निर्माण र सेना समायोजन र व्यवस्थापन सजिलो हुन्छ। सबै मिलेर जानुपर्छ भन्ने मान्यता एमालेको हो। माओवादीले सरकारको नेतृत्व गरेकाले सबैलाई मिलाएर जानुपर्ने दायित्व उसैको हो।
Q.
राष्ट्रिय सहमतिको सरकारको नेतृत्व कसले गर्छ?
A.
सहमतिको सरकारको नेतृत्व सहमतिबाटै टुंगो लाग्छ। प्रमुख दलहरु मिलेर निर्णय गर्नुपर्छ। राष्ट्रिय सहमतिको सरकारले समयमै संविधान निर्माण गरी शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउनसक्छ। एमाले सहमतिको सरकार बनाउन सक्रिय छ। नेपाली कांग्रेसलगायतका दलहरुलाई पनि सरकारमा सहभागी गराउने वातावरण निर्माण गर्नुपर्छ।
Q.
सहमतिको सरकार निर्माणका लागि नेपाली कांग्रेससाग कुरा गर्नुभएको छ?
A.
सहमतिको सरकार बनाउनका लागि एमाले सधै छलफल गरिरहन्छ। एमालेले नगरे अरु कसले गर्छ। माओवादी आफ्नै तालमा छ। सबैलाई सहमतिका साथ लान एमाले आफ्नो तर्फबाट भूमिका निर्वाह गर्न तयार छ। नेपाली कांग्रेसले पनि सहमतिको सरकार निर्माणमा गम्भीरता देखाओस्।
Q.
सेना समायोजन कसरी हुनुपर्छ?
A.
सेना समायोजन र व्यवस्थापन विगतको सहमतिअनुसार हुनुपर्छ। नेपाली सेनाको मापदण्ड पुगेका जो कोही प्रवेश पाउने स्पष्ट उल्लेख छ। त्यसमा कुनै विवादनै छैन। माओवादी छापमार जहाा जहाा उपयुक्त छन् त्यहाा समायोजन र व्यवस्थापन गरिनुपर्छ। सेनाबाहेक अन्य क्षेत्र पनि छन्। प्रहरीमा फिट भए प्रहरीमा नभए समाजका अन्य क्षेत्रमा व्यवस्थापन गर्नुपर्छ।
Q.
माओवादी जनसेनाका कमाण्डर पासाङ प्रधानसेनापति बन्ने चर्चा छ नि?
A.
कल्पना गर्दा जे पनि गर्न सकिन्छ। पासाङ प्रधानसेनापति बन्ने कल्पना हुनसक्छ। प्रधानसेनापति बन्नका लागि त सेनाको मापदण्ड तोकिएकै छ।
Q.
शान्तिसुरक्षाको अवस्थाबाट सन्तुष्ट हुनुहुन्छ?
A.
शान्तिसुरक्षा सुदृढ गर्नुपर्ने चुनौती त छनै। सरकारको नेतृत्व गर्ने माओवादीका वाइसिएलनै शान्तिसुरक्षामा चुनौती थपिरहेका छन्। व्यक्तिहत्या, घरजग्गा कब्जा, चन्दा अपहरणमा वाइसिएलनै अगाडि छन्। वामदेवजीले त हरप्रयास गरेर शान्तिसुरक्षा सुदृढ गर्न खोजिरहनुभएको छ। तर प्रधानमन्त्री रहनुभएका प्रचण्डजीका कार्यकर्ताले युद्धकालिन धङधङी देखाएर असुरक्षा बढाइरहेका छन्।
Q.
एमालेको महाधिवेशनको एजेण्डा के?
A.
एमाले अझ जुझारु र सशक्त हुनका लागि महाधिवेशनमा जादैछ। जनताको बहुदलीय जनवादलाई समयसापेक्ष कार्यान्वयन गर्नेबारे महाधिवेशनले नीति तय गर्नेछ। लोकतन्त्रलाई बलियो बनाउन, जनमुखी संविधान बनाउन महाधिवेशनमा एजेण्डा प्रस्तुत हुनेछ।
Q.
एमालेका भावी अध्यक्ष को?
A.
त्यो महाधिवेशनले निर्णय गर्छ।
Q.
तपाईं र झलनाथ खनाल महासचिवको उम्मदेवार भनिदैछ नि?
A.
मैंले महासचिवको उम्मेदवार बन्नेबारे सोचिसकेको छैन। समय आएपछि कार्यकर्ता, देश र जनताको मागबमोजिम त्यो आफै प्रकट हुने कुरा हो।
Q.
महासचिव झलनाथ खनाको कार्यशैलीबाट सन्तुष्ट हुनुहुन्छ?
A.
म आफ्नो सन्तुष्टि असन्तुष्टिबारे केन्द्रीय समिति र स्थायी समितिको बैठकमा राख्छु।