काठमाडौं, असार १७ । नेपाली कांग्रेसका सहमहामन्त्री तथा प्रवक्ता अर्जुननरसिंह केसीले माधवकुमार नेपाल नेतृत्वको सरकारको विकल्प नरहेको भन्दै एकीकृत नेकपा माओवादीलाई वर्तमान सरकारमा सहभागी भई राष्ट्रि्य सहमतिको स्वरुप दिन आग्रह गरेका छन् । रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै सरकार बनाउने र ढलाउने खेलमा लाग्नुभन्दा संविधान निर्माणमा केन्द्रित हुन आग्रह गरे ।
माधवकुमार नेपाल नेतृत्वको सरकारको विकल्प छैन, केसीले भने, यही सरकारमा माओवादी समेत सहभागी भई राष्ट्रि्य सहमतिको सरकार बनाउनुपर्छ । माओवादीले भनेजस्तो राष्ट्रि्य सहमतिको सरकार बनाउने हो भने यही सरकारमा सहभागी हुनुपर्ने बताए । सबै पक्षलाई समेटेर वर्तमान सरकारलाई बलियो बनाई संविधान निर्माणमा लाग्नुपर्नेमा उनको जोड थियो ।
रिपोर्र्टर्स क्लब नेपालमा अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा केसीले माओवादीकै कारण उसको नेतृत्वको सरकार ढालेकाले फेरि सरकार बनाउछु भन्नु तर्कसंगत नहुने बताए । उनले भने, कांग्रेस र एमालेले सरकार ढालेको होइन, माओवादीकै कारण ढलेको हो । सरकारमा सहभागी भएर नयां ढंगबाट अगाडि बढ्न पटक पटक आग्रह गरे । सेनापति प्रकरण टुंगो लागिसकेकाले त्यसैमा विवाद झिक्नुको कुनै अर्थ नभएको बताए । माओवादीले नागरिक सर्वोच्चताका नाममा सदन अवरुद्ध गरेर नागरिक अधिकार हनन गरेको आरोप लगाए । उनले भने, सदन अवरुद्ध गरेर माओवादीले वाइसिएलको सर्वोच्चता खोजेको देखिन्छ । विधिलाई उल्लंघन गरेर नागरिक सर्वोच्चताको सवाल उठाउनुको कुनै अर्थ नरहेको बताए ।
कांग्रेसभित्र आन्तरिक लोकतन्त्र सुदृढ हुदै गएको बताए । संसदीय चुनावको प्रक्रियाबाट पार्टीभित्र एकता बलियो भएको बताए । उनले भने, दलको एकता मात्र भएको थियो, संसदीय चुनावबाट दिलको एकता भयो । पार्टीभित्र सरकारमा जानेहरु चयन गर्दा त्रुटी भएको भन्दै असन्तुष्टि व्यक्त गर्दै । त्रुटीहरु सच्याएर अगाडि बढ्नुपर्नेमा उनको जोड थियो । सरकारमा जानेहरुलाई फिर्ता नबोलाइने बताए ।
नेकपा माओवादीका सचिवालय सदस्य देव गुरुङले आफ्नो दलको नेतृतवमा राष्ट्रि्य सहमतिको सरकार बन्ने बताए । वर्तमान सरकार विदेशीको इशारामा बनेकाले टिक्नुको कुनै आधार नरहेको बताए । उनले भने, यो सरकारमा माओवादी सहभागी हुन्छ भन्नु हास्यास्पद हो । सेनापति प्रकरणमा राष्ट्र्पतिको कदम नसच्याइएसम्म नागरिक सर्वोच्चता कायम नहुने बताए । उनले भने, राष्ट्र्पतिको कदममाथि सदनमा छलफल हुनुपर्छ । विगतमा राजाको विषयमा पनि सदनमा छलफल गर्न नपाउने परम्परा रहेको उल्लेख गर्दै अहिले राष्ट्र्पतिलाई राजाकै शैलीमा निरंकुश बनाइन लागिएको बताए ।
दलहरुबीच नयां ढंगको सहमतिमा गुरुङको जोड थियो । आपसी असहमति बढ्दा विदेशी चलखेल बढेकाले सचेत हुन आग्रह गरे । उनले भने, दलहरुबीच असहमति बढ्दा देशको अस्मितामाथि खेलवाड हुने खतरा बढ्यो । सहमतिका लागि सबै दल लचक भएर प्रस्तुत हुनुपर्ने बताए । राष्ट्र्पतिको कदमबाट समस्या आएकाले समाधानको खोजी त्यहीबाट हुनुपर्ने बताए । उनले भने, जहाँबाट समस्या आयो त्यहीबाट समाधान खोजौं । राष्ट्र्पतिको कदम नसच्चिए भविष्यमा यस्ता प्रवृत्ति दोहोरिई लोकतन्त्रमाथि प्रहार हुनसक्ने टिप्पणी गरे ।
रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले सहमतिबाटै अगाडि बढ्न आग्रह गरे । सहमति, सहकार्य र एकता बनाएर नयां संविधान निर्माणमा लाग्नुपर्नेमा जोड दिए ।