
राष्ट्रसंघीय महासचिव बान की मुनका स्वकीय प्रतिनिधि एवं नेपालका लागि राष्ट्रसंघीय राजनीतिक मिसन अनमिन प्रमुख इयान मार्टिनले राजनीतिक सहमतिमा विलम्ब भए निर्धारित समयमा संविधानसभा निर्वाचन असम्भव रहेको बताएका छन् । 'नेपालका राजनीतिक दल अझै पनि संविधानसभा निर्वाचनको आवश्यक तयारीमा केन्दि्त हुन सकेका छैनन्,' नेपालको शान्ति प्रक्रियाका विषयमा छलफल गर्न न्युयोर्क पुगेका मार्टिनको भनाइ उर्द्धत गर्दै युएन डट ओरजीले लेखेको छ, 'निर्वाचनको मुखैमा मधेस आन्दोलनलगायतका अवरोधले निर्धारित समयमा निर्वाचन हुन नसक्ने अवस्था सिर्जना भएको हो ।'
साथै मार्टिनले माओवादीले दर्ता गराएको हतियार संख्या र छापामारको अनुपात आश्चर्यलाग्दो भएको टिप्पणी गरेका छन् । 'यस्तो गम्भीर विषयमा समेत नेपाल सरकारले औपचारिक प्रतिक्रिया जनाएको छैन,' उनले भने । छापामारले शिविर छाडेर हिँडेको घटनाप्रति पनि उनले आपत्ति जनाएका छन् । माओवादीका गतिविधिले निर्वाचन बिथोलिने खतरा रहेको उनको धारणा थियो ।