
अर्थमन्त्री डा. रामशरण महतले माओवादी गतिविधिका कारण संविधानसभा निर्वाचन बिथोलिने अवस्था आएको बताएका छन् । 'माओवादीले आप\mना गतिविधिमा सुधार नगरे संविधानसभा निर्वाचन असम्भव छ,' रिपोर्टर्स नेपालका लागि ऋषि धमलासित कुरा गर्दै अर्थमन्त्री डा. महतले भने, 'निर्वाचन नभए सम्पूर्ण जिम्मेवारी माओवादीले नै लिनुपर्ने अवस्था आउँछ ।
डा. महतले माओवादीले कानुनी शासनको सम्मान, फरक विचारको स्वीकार, घरजग्गा फिर्ता नगरेको आरोप लगाए । हतियारको संस्कृति नछाडेको र करकापमा चन्दा उठाइरहेकाले माओवादीप्रति जनमानसमा अविश्वास रहेको अर्थमन्त्रीको धारणा छ ।
अर्थमन्त्रीले राष्ट्रसंघीय राजनीतिक मिसन -अनमिन) मा माओवादीले दर्ता गराएका सेना एवं हतियारका बारेमा सरकार गम्भीर रहेको बताएका छन् । 'माओवादीले सार्वजनिक गरेको हतियार एवं सेनामा सरकार विश्वस्त छैन,' डा. महतले भने, 'सेनामा बालबालिका ज्यादा छन् भने हतियारको तथ्यांक पनि सही छैन ।' साथै उनले कालो सूचीमा रहेका बैंक ऋणीमाथि सरकारले निगरानी राखेको जानकारी पनि दिए ।