
डा. जगदीशचन्द्र पोखरेलका लागि २०३६ सालमा गणेशमान सिंहले योगप्रसाद उपाध्यायकी जेठी छोरी उषा मागिदिनुभयो र त्यसमा सहमति जुटाइदिनुभयो कृष्णप्रसाद भट्टराईले। संयोग के भने, किसुनजीका भानिज धु्रवजीको घरमा टीकाटाला भएकै दिन कांग्रेसका अधिकांश नेताहरु पक्राउ परे। उषा त्यतिबेला नुवाकोटमा एनडीएस गर्दै हुनुहुन्थ्यो। विवाह नहुने अवस्था पनि देखियो। तर, नेताहरुले जसरी पनि विवाह गर्ने सन्देश पठाउनुभयो। सुखद कुरा के भने, विद्यार्थी आन्दोलनको प्रभावले राजा वीरेन्द्रबाट जनमतसंग्रह घोषणा भइहाल्यो।
'हाम्रो विवाहलाई राजनीतिकभन्दा पनि हुन्छ,' डा. जगदीश भन्नुहुन्छ, 'बुबा र ससुरा सँगै नभएको भए तथा निवार्सन नगएको भए सायद हाम्रो विवाह हुने थिएन।' नेपाली राजनीतिमा किसुनजी यस्तो उदाहरण हो, जो आफूले विवाह गर्नुभएन तर, अरुलाई विवाह गराउँदा रमाउनुहुन्छ। विवाह नगर्नेलाई जसरी पनि विवाह गर्न बाध्य तुल्याउनुहुन्छ। त्यतिबेला नेपाली कांग्रेसमा बेग्लै संस्कार थियो। नातेदार नभए पनि पारिवारिक सम्बन्ध हुन्थ्यो। त्यो क्रम अहिले टुटेजस्तो लाग्छ बहुआयामिक व्यक्तित्व धनी डा. जगदीशलाई विश्वबन्धु थापाले पञ्चायतबाट फर्केपछि भनेका थिए– कांग्रेसमा लाग्दा घरमै लगेर पारिवारिक सौहार्दता देखाउँथे, पञ्चायतमा लागेपछि होटलमा मात्र खुवाउने पियाउन थाले। उहाँ भन्नुहुन्छ– एकले अर्कालाई पारिवारिक हिसाबमा हेर्ने परिपाटी दोस्रो पुस्ताका नेतामा सरेन। कांग्रेस वास्तवमा संस्कारयुक्त ठूलो परिवार हो।
त्यसो त युवा आर्किटेक्ट इन्जिनियर जगदीशसित बिहेवारीका लागि लामै लागेको थियो। वनारसमा योगप्रसाद उपाध्यायको घर थियो। तर, उषालाई उहाँले देख्नुभएको थिएन। वास्तवमा उषा छोराका रुपमा हुर्किनुभएको थियो। त्यसैले कतिपय स्वभाव नेपाली परिवेश अनुकूल छैन। तर, सरलता र फ्रेन्कनेस अवश्य थियो उहाँमा। विवाहका लागि आठदसवटा सर्त राख्नुभएको थियो जगदीशले। एक– ब्युरोक्रेटको छोरी हुन नहुने, दुई– कम्तीमा ब्याचलर, तीन– राजनीतिक रुपमा चेतनशील ...........। विवाह गर्ने निर्णय गरेपछि उषासित उहाँले अन्तर्वार्ता नै लिनुभयो। पहिलो प्रश्न थियो, तिमीलाई गहना कति चाहिन्छ? जवाफ आयो– गहनाको कुरै नगरौं। त्यसमा नै लोभिनुभएन उहाँ। पत्नीसित ठाकठुक परिरहन्छ। व्यावसायिक र घरेलु द्वन्द्व भइराख्छ। सामानहरु छरिएको उहाँलाई मन पर्दैन। जुत्ता ठीकसँग राखेको छैन भने पनि उहाँको पारो चढ्छ। पोखरेल दम्पतीका जेठा छोरा अतुल वर्ल्ड बैंकको दिल्लीमा हुनुहुन्छ भने कान्छा अनुरोध अमेरिकामा बस्नुहुुन्छ। अहिले उहाँको साथी भनेकै श्रीमती हुनुहुन्छ। अंग्रेजीमा स्नातकोत्तर उषा बोस्टनबाट शिक्षामा पीएचडी गर्दै हुनुुहुन्छ।
जीवनमा धेरै प्रेमपत्र लेख्नुभयो उहाँले। जीवनका प्राइम टाइम युरोपमा बिताएकाले त्यस्ता सम्बन्ध हुनु स्वाभाविक कुरा हो। सम्बन्ध छैन भन्नेहरुको कुरा उहाँलाई त्यति पत्यार लाग्दैन। २७ वर्षमा उहाँको विवाह भयो। उषासित विवाह पहिले प्रेम नभएकाले विवाहपछि प्रेम बढेको उहाँको भनाइ छ। युरोपमा उहाँ आठ वर्ष बस्नुभयो। युरोपको लत छाड्ने निर्णय लिन डेढ वर्ष लाग्यो।
डा. जगदीशका अनुसार प्रेम किन हुन्छ भन्ने छैन, प्रेम त यसै हुन्छ। प्रेमीसित कुनै कुरा गोप्य रहँदैन। प्रेम डिजाइन होइन। सेक्सलाई गोप्य राख्नुहुँदैन। नेपाली समाजमा अझै सेक्सको 'एस' पनि उच्चारण गरिंदैन। युवाहरु तनावमा छन्। घरमा एउटा कुरा हुन्छ, बाहिर अर्कै। फरक फरक परिवेश। परिवारमा राजनीतिको कुरा हुन छाडेको छ। स्वस्थ छलफल हुन पनि छाडेको छ। घरबाहिर निराश युवाहरुको कुनै एजेन्डा छैन। लभ, सेक्स र सेन्टिमेन्टका कुरा मात्र हुन्छ। उहाँको विचारमा विवाहअघिको सेक्स नेचुरल हो। विवाह अघि सेक्स भएको कुरा उहाँ सहर्ष स्वीकार गर्नुहुन्छ र भन्नुहुन्छ– विवाहअघि म तन्नेरी थिए, ७–८ बर्ष अघि म सेक्स नगरी बसिन तर विवाह पछि श्रीमती बाहेक कोहीसँग पनि सेक्स भएको छैन। मेरा धेरै केटी साथीहरु थिए, अहिले पनि भेटिन्छन् तर साथीको रुपमा।
बौद्धिक व्यक्तित्व डा. जगदीशको जन्म सन् १९५३ मा तनहँूको राम्चे गाउँमा भएको थियो। गोवर्द्धन शर्मा पोखरेल र द्रौपदा शर्माका चार छोरामध्ये डा.जगदीश साहिंला हुनुहुन्छ। उहाँका दाजुहरु रामचन्द्र पोखरेल र कृष्णचन्द्र नेपाली (पोखरेल) कांग्रेस राजनीतिमा सक्रिय हुनुहुन्छ भने भाइ सुवासचन्द्र पोखेलको पनि आफ्नै पेसा छ। बाल्यकालको ९/१० वर्ष पोखरेल फाँट र राम्चेका गामबेसीमा बिताउनुभयो उहाँले। जगदीशको अक्षरारम्भ इन्द्रवदना मिडिल स्कुलमा भएको थियो। उहाँका पिताले हजुरबुबा र हजुरआमाको नाममा स्कुल खोलेको त्यो तनहँूकै दोस्रो विद्यालय थियो। चार कक्षासम्म त्यहाँ पढेपछि उहाँको परिवार २०१६ सालमा काठमाडौंतिर लाग्यो। उहाँ जुद्धोदय स्कुलमा भर्ना हुनुभयो। तर, २०१७ मा राजा महेन्द्रले कू गरेपछि काठमाडौंको बसाइ छाड्नुपर्यो।
पिताजी निर्वासनमा गइहाल्नुभयो। लेखपढका निम्ति वनारसतिर नलागी सुखै भएन। गाउँमा अराष्ट्रिय तत्वको छोरा भनिन्थ्यो। बिहार स्कुल बोर्डबाट उहाँले एसएलसी दिनुभयो। इलाहावाद बोर्डबाट दुईवर्षे आईएस्सी गरेपछि उहाँ काठमाडौं फिर्ता हुनुभयो। त्यो सन् १९७० को कुरा थियो। त्यतिबेला उहाँलाई बीपी कोइराला र गणेशमान सिंहले प्लान पढ्न पठाउने हिसाबले पठाउनुभएको थियो। समय घर्किसकेपछि त्रिचन्द्र कलेजमा बीएस्सी पढ्न थाल्नुभयो।
रुसबाट सेनिटेसन इन्जिनियरिङका लागि स्कलरसिप आयो। त्यसमा उहाँको नाम प्रतीक्षा सूचीमा राखियो। त्यसपछि ग्रिसबाट आएको आर्किटेक्चर इन्जिनियरिङमा सफल हुनुभयो। तर, सन् १९७१ मेमा बल्ल कन्फरमेसन आयो। उहाँसन् १९७१ देखि १९७८ सम्म ग्रिसमा रहनुभयो। त्यहाँबाट फर्केपछि पुल्चोकको इन्जिनियरिङ इन्स्टिच्युटमा पढाउन थाल्नुभयो। त्यतिबेला पुल्चोकमा डिग्री र डिप्लोमा थिएन। उहाँ आठमहिने तालिमका लागि बेलायत जानुभयो। त्यसपछि सन् १९८३ मा हवाईको इस्टवेस्ट सेन्टरको छात्रवृत्तिमा रिजनल डेभलपमेन्ट प्लानिङका निम्ति मास्टर्स गर्न जानुभयो। त्यसको दुई वर्षपछि फेरि पीएचडीको तरखरमा लाग्नुभयो। युएसको म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीमा जानुभयो। सन् १९९१ मा पीएचडी सकेर नेपाल आएपछि जल तथा शक्ति आयोगमा सल्लाहकार रहनुभयो। त्यसपछि पोस्ट डक्टर फेलोसिपका निम्ति जानुभयो अमेरिका। सन् १९९३ मा अमेरिकाबाट १० वर्ष १ दिनपछि सपरिवार नेपाल फर्कनुभयो। अमेरिका बस्न उहाँलाई कुनै समस्या थिएन। कंग्रेसका सदस्य रोवर्ट केनेडीका छोराले उतै बस्न भनेका थिए। 'त्यतिबेला मैले नेपाल नल्याएको भए छोराहरु पर्यटकमात्र हुन्थे,' उहाँ भन्नुहुन्छ, 'फाइदा के भएको छ भने, उनीहरु अहिले नअल्भि्ककन नेपाल आइरहेका छन्।'
अमेरिकाबाट फर्केपछि युएनडीपी, वर्ल्ड बैंक, युन सिस्टम, एडीबी, नेपाल सरकारका जलस्रोत र वातावरण मन्त्रालयको सल्लाहकारका रुपमा काम गर्नुभयो उहाँले। त्यसो त उहाँलाई गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा प्रथमपटक गठित सरकारमा जलस्रोत र सूचना मन्त्री वासुदेव रिसालले सल्लाहकारको प्रस्ताव राख्नुभएको थियो। तर, उहाँले स्वीकार गर्नुभएन। बरु, पुल्चोक क्याम्पसमा रिजनल प्लानिङ विषय पढाइरहनुभयो। सन् १९९७ मा पृथ्वीराज लिगल उपाध्यक्ष हुँदा उहाँ पहिलोपटक राष्ट्रिय योजना आयोगको सदस्य हुनुभयो। त्यतिबेला उहाँले स्थानीय विकास, विकेन्द्रीकरण र पूर्वाधार क्षेत्र हेर्नुभयो। त्यसपछि शेरबहादुर देउवाको सरकार बन्यो। डा. नारायण खड्का उपाध्यक्ष हुनुभयो। त्यसमा अनि दोस्रोपटक सदस्य हुनुभयो। लोकेन्द्रबहादुर चन्दको सरकार आएपछि उहाँहरुले एकमुष्ठ राजीनामा दिनुभयो। मुलुकमा लोकतन्त्र बहाली भएपछि उहाँ फेरि राष्ट्रिय योजना आयोगको अध्यक्ष हुनुभएको छ। राजनीतिमा सक्रिय नभए पनि पोखरेलमा देश विकासका प्रशस्त योजनाहरु छन्, सादा जीवन र उच्च विचारका धनी पोखरेल राजनीतिबाट कहिल्यै टाढा रहनुभएन। २०१८ सालमा सुवर्णजीको नेतृत्वमा भएको सशस्त्र क्रान्तिको प्रत्यक्ष देख्नुभयो उहाँले। कलकत्तामा कांग्रेस केन्द्रीय समितिको कार्यालय थियो। सुवर्णसमशेर, योगप्रसाद उपाध्याय, शशीसमशेर, परशुनारायण चौधरी, अच्युतराज रेग्मीलगायतका नेताहरु कलकत्तामा हुनुहुन्थ्यो। ठाउँठाउँमा क्याम्प थियो। उहाँका पिता गोवर्द्धन शर्मा कास्की, लमजुङ र तनहुँका इन्चार्ज हुनुहुन्थ्यो। त्यतिबेला तनहँू, चितवन, धादिङ, मकवानपुर र कास्कीको क्याम्प ठोरीबाट पुगिने नकटियागन्ज थियो। त्यो क्याम्पमा केही समय रहनुभयो जगदीश। त्यहाँ अधिकांश समय राजनीतिक कुरामा बित्थ्यो। राजनीतिक शिक्षा दिने थलो त्यही भयो। किसुनजीहरुले जेलभित्र लिने कक्षाजस्तै। राजनीतिक इतिहास पढ्नै परेन। त्यहीं सुन्नुभयो उहाँले। नेल्सन मन्डेला र सुहार्तोका बारेमा त्यतिबेला नै थाहा पाउनुभयो। उहाँलाई सम्झना छ, रक्सौलमा तेजबहादुर अमात्य र रोहिणीदेव भट्टलगायतका नेताहरु खट्नुभएको थियो। उहाँको घरमा बन्दुक थियो। बन्दुक बोेक्नेहरुलाई खानेकुरा पुर्याउन जंगलसम्म जानुहुन्थ्यो। एक प्रकारको मिसनजस्तो थियो जीवन।
तर, बनारस बसाइमा उहाँ राजनीतिभन्दा पढाइमा संलग्न हुनुभयो। बनारसमा पश्चिमेली प्रजातन्त्रवादीको अभिभावक ढुण्डीराज शास्त्री हुनुहुन्थ्यो भने वामपन्थीतिरका बलराम उपाध्याय। राजनीतिमा सक्रिय नभए पनि घरायसी वातावरणले उहाँलाई विद्रोही बनाएको थियो। तर, उहाँमा नेता बन्ने चाहना भएन। यति हुँदाहुँदै पनि विशुद्ध बौद्धिक भएर मात्र बस्ने उहाँको इच्छा छैन। राजनीतितिर अज्ञात आकर्षण छ। उहाँसित सक्रिय हुने उमेर छ अझै १५/२० वर्ष। जतिसुकै व्यावसायिक नभनिए पनि उहाँलाई धेरैले नेपाली कांग्रेसकै रुपमा चिन्छन्। 'मेरो आस्था कांग्रेस हो, यसमा यताउता लाग्ने कुरा आउँदैन, यसमा मलाई गौरव लाग्छ,' उहाँ भन्नुहुन्छ,
इमान्दार र मिलनसार 'डा. जगदीशचन्द्र पोखरेलका प्रिय नेता बीपी कोइराला, गणेशमान सिंह र सुवर्णसमशेरलगायत हुनहुन्थ्यो। उहाँले सबै नेतालाई फरक फरक हिसाबले सम्मान गर्नुहुन्छ। उहाँको विचारमा बीपीमा बौद्धिकता थियो भने लौहपुरुष भनिए पनि गणेशमानजी करुण र भावुक हुनुहुन्थ्यो। त्यसो त उहाँ किसुनजी र गिरिजाबाबु दुवैलाई पूज्य नेता मान्नुहुन्छ। आजीवन संघर्षशील नेता गिरिजाबाबु कहिल्यै झोक्राएर बस्नुभएन। अनावश्यक तर्क र वितर्क नगरेर एक्सनमा गइहाल्ने एकलब्य नेता हुनुहुन्छ उहाँ। एक ठाउँमा टिक्ने मात्र मान्छेले केही गर्न सक्दोरहेछ भन्ने उदाहरण उहाँ हुनुहुन्छ। उहाँ भन्नुहुन्छ, 'किसुनजीमा बौद्धिक कम्प्लेक्स छ भने गिरिजाबाबुमा फाइटिङ स्पिरिट।' दुवै नेताको सान्निध्य उहाँलाई पारिवारिक लाग्छ। दुवै नेता पिताजीका साथीहरु हुन्।
विद्यार्थीकालमा हिन्दी चलचित्र खुब हेर्नुभयो उहाँले। तिनै चलचित्रले उहाँले पढ्न प्रेरित गरे। त्यतिबेला टिन एजको बहलिने माध्यम चलचित्रमात्रै थिए। दिलीपकुमार, मिनाकुमारी, बैजयन्तीमाला र अमिताभ बच्चनलाई मन पराउनुभयो उहाँले। नेपाली चलचित्रमा गम्भीर भूमिका गर्ने कलाकार मिथिला शर्मा उहाँलाई राम्रो लाग्छ। ग्रीसमा विद्यार्थी छँदा मासु र रक्सी खुब खानुभयो उहाँले। खान्कीमा भात कमै खानुहुन्थ्यो। ग्रिस छाडेपछि पनि उहाँले साथीभाइसित पिउनुभयो। तर, पछिल्लो समय उहाँ ऐनमौकामा मात्र पिउनुहुन्छ।
उहाँले सिगरेट छाडेको १०/१२ वर्ष भएछ। प्रोफेसरसितै चुरोट पिउन सिक्नुभएको रहेछ उहाँले। त्यतिबेला आर्किटेक्चर पढ्ने विद्यार्थी आफूलाई अलि प्रगतिशील र सामाजिक बन्धनबाट मुक्त ठान्थे। लामा लामा कपाल पाल्थे। फोहोरी बस्न मन पराउँथे। उनीहरु रक्सी र चुरोट खान स्वतन्त्र थिए। कक्षामा प्रेाफेसरसितै सिगरेट खान्थे। तर, जगदीशले प्याकेट किनेर र बोेकेरचाहिं खानुभएन।
हल्का नीलो कपडा उहाँलाई मन पर्छ। घरमा बस्दा चाहिं उहाँ सेतो कपडा लगाउनुहुन्छ। दालभात, तरकारी, खसीको मासु, करेला र भेंडीको अचार मनपर्छ उहाँलाई। आमाले बनाएको अचार र मकै खुबै मिठो लाग्थ्यो उहाँलाई। सम्पत्ति थुप्र्याउन उहाँलाई त्यति मन लाग्दैन। परिवारमा पहिलोपटक काठमाडौंका सामाखुसीमा घडेरी उहाँले नै किन्नुभएको थियो। अहिले त्यो जग्गा दुईतीन टुक्रा भएको छ। उहाँको नाममा पाँच आना छ। घर पनि छ। तनहँूको पोखरेलफाँटमा ४०/५० रोपनी पाखो पनि छ। तर, द्वन्द्वका कारण त्यो जमिन प्रयोगमा आएको छैन। उहाँको केही जग्गा व्यास नगरपालिकामा पनि छ। त्यहाँ बुढेसकालमा बस्ने, पढ्ने, सोच्ने र घर बनाउने उहाँको सोचाइ छ। तर, उहाँलाई काठमाडौं छाड्न सजिलो छैन।
थुपै्र ठाउँमा छन् उहाँको बैंक खाता। तर, सबै खातामा यथेष्ट पैसा छैन। पैसा जम्मा भएपछि लगानी गर्ने सोच उहाँले राख्नुभएन। आर्थिक र सामाजिक परिवेशअनुसार आँटेर काम गर्दै जानुभयो। उहाँ मन्दिर जानुहुन्छ। त्यो धार्मिकभन्दा पनि शान्तिका लागि हो। ध्यान पनि गर्नुहुन्छ उहाँ। त्यो पनि भगवान्कै लागि नभनेर आफूलाई आत्मकेन्द्रित गर्न हो। मन पर्यो भने उहाँ नदी किनारमा या डाँडाको एक कुनामा बसिहाल्नुहुन्छ। जनावरमा उहाँलाई बाघ र कुुकुर मन पर्छ।
उहाँका कपाल र जँुगा सेताम्मे भइसकेका छन्। भतिजीहरु रंगाउन भनिरहन्छन्। तर, उहाँ नेचुरल कलर नै मन पराउनुहुन्छ। २०१८ सालमा आमालाई प्रहरीले पक्डिएर लगेको, एसएलसी पास भएपछि बुबाले ११ बजे राति ढुण्डिराज शास्त्रीलाई चिठी लेखेेर टे्रनको टिकट काटेर पठाइदिएको, बीपीको मृत्यु, जनआन्दोलनको सफलता, २०१८ सालमा भरतपुर कब्जा गर्दाको क्षण उहाँले जीवनमा कहिल्यै भुल्न सक्नुभएको छैन। ००
ऋषी धमला