
काठमाडौं, माघ २४ । स्पेसटाइम नेटवर्क एवं च्यानल नेपालका अध्यक्ष जमिम शाहको आइतबार दिनदहाडै राजधानीको ब्यस्त सडक लाजिम्पाटमा अज्ञात समूहले गोली हानी हत्या गरेको छ ।
विपरीत दिशाबाट मोटर साइकलमा आएका दुईजनाको अज्ञात समूहले लाजिम्पाटबाट पानीपोखरीस्थित घरमा जाँदै गरेका शाह चढेको गाडीमा दिउँसो २ः ४५ बजे अन्धाधुन्ध गोली चलाएको थियो ।
शाहको गर्धन र छातीमा तथा चालक मथुरामान मालाकारको तिघ्रामा गोली लागेको थियो । घटना गोली लागी घाइते भएका ४७ वर्षीय शाहको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको थियो । चालक मानन्धरको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
उनको शवको आइतबार साँझ पोस्टमार्टम गरिएको छ । मृतक शाहकी पत्नी र छोरा मुलुक बाहिर रहेको परिवार स्रोतले जानकारी दिएको छ । घटना सम्बन्धमा प्रहरीले विशेष टोली गठन गरेर अनुसन्धान अगाडि बढाएको छ । गोली प्रहारमा प्रयोग गरिएको मोटर साइकलको नम्बरको पहिचान भइसकेकाले हत्यामा संलग्न समूह छिट्टै पक्राउ पर्ने प्रहरी बताएको छ । घटनाका प्रत्यक्षदर्शी चालक मालाकार स्वयं रहेकाले अनुसन्धानमा थप बल पुग्ने र अपराधीलाई पक्राउ गर्न मद्दत पुग्ने प्रहरीको विश्वास रहको छ ।
यसैबीच, रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले एक विज्ञप्ति प्रकाशित गरी मिडिया सञ्चालक शाहको हत्याप्रति दुःख ब्यक्त गर्दै घटनाको घोर निन्दा गरेका छन् । विज्ञप्तिमा हत्याराको खोजी गरी कारबाही गर्न सरकारसँग माग गरेका छन् ।