गृहराज्यमन्त्री रिजवान अन्सारीले आफूहरु च्यानल नेपालका अध्यक्ष जमिम शाहको हत्या गर्ने अपराधीको निकट पुगिसकेको दावी गर्नु भएको छ । उहांले एक दुइ दिनभित्रै अपराधी पक्राउ पर्ने दाबी समेत गर्नुभएको छ । रिपोर्टर्स क्लब नेपालको विषेश साक्षात्कार कार्यक्रममा बोल्दै राज्यमन्त्री अन्सारीले अपराधीहरु उम्किन नपाउन भनी सवै साधन स्रोतको परिचालन गरिएको र हत्याको छानविनका लागि आजै विशेष कार्यदल समेत बनाइने जानकारी दिनुभयो ।
अहिलेसम्मको अनुसन्धानले शाहको हत्या संगठीत आपराधिक गिरोहले गरेको देखिएको भन्दै उहांले त्यो गिरोह राष्ट्रिय वा अन्तर्राष्ट्रिय कुन हो भन्ने एकीन भईनसकेको बताउनु भयो । राज्यमन्त्री अन्सारीले घटना हुन नदिन राज्यको गुप्तचर एजेञ्सी असफल देखिएको स्वीकार गर्दै अपराधी पनि पक्राउ पर्न सकेनन् भने राजधानीको सुरक्षा व्यवस्था नै असफल भएको मानिने बताउनु भयो ।
पछिल्लो चरणमा भईरहेका आपराधिक घटनाक्रमले सरकारको सुरक्षा योजनामा अझै कमजोरी रहेको प्रष्ट भएको भन्दै उहांले राजधानी लगायत मुलुकभरको सुरक्षा व्यवस्थालाई मजबुत बनाउनुपर्ने महसुस भएको पनि बताउनु भयो ।
जमिम शाहलाई पाकिस्तानी गुप्तचर संस्था आइएसआइ वा अन्डरवल्र्ड डन दाउद इब्राहिमसंग जोड्ने गरिएको प्रसंगमा गृहराज्यमन्त्रीले उहांमाथिको आरोपको पाटो अर्कै हो भन्दै अहिले नेपाली नागरिकको हत्या भएको छ र सरकारले यसलाई गम्भीर रुपमा लिएको छ भन्नुभयो । उहाले जमिम शाहको कुनै पनि अन्डर वल्र्डहरुसंग सम्बन्ध भएको बारेमा कुनै तथ्य हालसम्म नभेटिएको जानकारी दिनुभयो । राज्यमन्त्री अन्सारीले संसारमा कोहि पनि पुर्ण सुरक्षित नरहेको भन्दै भारतमा माहात्मा गान्धी, ईन्दिरा गान्धि अमेरीकामा अब्राहम लिंकन लगायतको पनि हत्या भएको बताउनु भयो । तर अपराधी पातालमुनी गए पनि कानुनको कठघरामा ल्याएरै छोडने दावि गर्नु भयो ।