
शनिवारको काठमाडौं, अझ होलीको काठमाडौंमा सडकमा गाडीको चहलपहल थिएन । एकाधबाहेक सडक सुनसान थियो । तर, मध्यान्हको साढे १२ बजेको आसपास मन्त्री, राजनीतिक दलका नेताहरु, नागरिक समाजका प्रतिनिधि, कलाकार एवं पत्रकारहरुचाहिँ होली मनाउँदै थिए । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको सामूहिक होली कार्यक्रममा एकअर्कामा रंगमार्फत सद्भाव साटासाट गर्दैथिए कलिउडकी ब्यस्त नायिका रेखा थापादेखि माओवादी नेता सीपी गजुरेलसम्म ।
हरियो टी सर्ट र कालो जिन्समा सजिएकी रेखाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रदीप ज्ञवालीको हातबाट रातो टीका थापिन् । होलीलाई 'मायाको रंगीन पर्व' का रुपमा परिभाषित गर्न चाहने उनले नेता पत्रकारहरुसित नेपाली चलचित्र उद्योगको ध्यानाकर्षण गराइन् । 'यसपालिको होलीमा पहिलोपटक मैले पनि लोला हानें,' उनले भनिन्, 'यस पर्वले नेपालीबीचको कटुता अन्त्य गरोस् ।'
होली खेल्न आइपुगेका नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितचाहिँ त्यति खुसी थिएनन् । 'देशको अवस्था खराब छ,' बिरामी देशको चिन्ता गर्दै डाक्टरसाहेब भनिरहेका थिए, 'रिपोर्टर्स क्लब होलीको माहोल बनाइरहेको छ ।'
मधेसको होली २१ फागुनमा भए पनि अघिल्लै दिन होली मनाउँदै थिए नेपाल सद्भावना पार्टी आनन्दीदेवीका नेता अनिल झा । 'होलीमा बूढो पनि देवरजस्तै हुन्छ,' मैथिल लयमा उनले भने, 'तर, मधेसमा अहिले रंग र अविरको होली भइरहेकै छैन ।' होलीको मुखमा जनअधिकार फोरमले बन्द गरेकोमा पनि उनमा असन्तोष थियो । होली उत्सवमा सामेल हुन शनिबारको हिन्दुस्थानी कमेडी छाडेर क्लब आइपुगेका नेता मनमोहन भट्टराईले चाहिँ 'सुगरकोटेड' शेर सुनाए । भयको रजाइँ चलिरहेका बेला होली मनाउनुपरेको भन्दै भट्टराई डाक्टरसाहेवलाई कटाक्ष गर्न पछि परेनन् । उनले पहाडमा एक दिन होली थप्नुपर्ने विचार पनि पोखे ।
आप
\mना सहोदर जेठान भट्टराईसित मञ्चमा थिए अर्का नेता डा. मीनेन्द्र रिजाल । पहिचानको संस्कृतिका लागि आवाज बुलन्द भएको भन्दै डा. रिजालले होलीले नेपालीलाई नयाँ सूत्रमा आबद्ध गर्न सक्ने धारणा राखे । 'एउटा होली मनाउन नपाउँदै आत्तिनुपर्दैन,' 'उनले भने, 'संघीय लोकतान्त्रिक गणराज्य बनेको दिन साँच्चै होली मनाउँला ।'क्लबका अध्यक्ष ऋषि धमलाले मन्त्री ज्ञवालीलाई टीका लगाएर सुरु भएको होली उत्सव माओवादी नेता गजुरेललाई टीका लगाएर सकिएको थियो । गजुरेलले पनि मन्त्रीलाई रातो अबीर लगाइदिए । होलीलाई विजयको उल्लास मान्ने गजुरेल सापेक्ष खुसियाली मनाउने मुडमा प्रस्तुत भए । कलाकार जितु नेपालचाहिँ होलीका नाममा भित्रिएको विकृतिबाट दिक्क रहेछन् । होलसेलमा बन्द, हडताल गरेर सधैंका लागि बन्द गर्नुपर्ने उनको धारणा थियो । 'होलीका अवसरमा नयाँ नेपालको बनी गर्नुपर्यो,' पहिलोपटक सार्थक होली मनाएको बताउने नेपालले भने, 'नेताहरु गफाडीमात्र हुनुभएन ।'
चलचित्र निर्देशक तीर्थ थापाले राजनीतिक मञ्चका रुपमा उभिएको रिपोर्टर्स क्लबले कलाकारलाई पनि यथोचित् स्थान दिएको भन्दै प्रशंसा गरे भने मन्त्री ज्ञवालीले होलीका सात रंगजस्तै नेपालमा सप्तरंगी समाज भएको बताए । होली कार्यक्रममा क्लब अध्यक्ष धमलाले होलीको विशिष्ट सांस्कृतिक विशेषता भएको जनाउँदै होलीबाट दलहरुले हातेमालो र सहकार्यको संस्कृति विकास गरी समयमै संविधानसभाको निर्वाचन गराउनु सबैलाई शुभकामना दिए ।