
चर्चित नायिका मेलिना मानन्धर यतिखेर योग्य वरको खोजीमा छिन्। विवाहपछि सुहागरात र हनिमुनको प्रसंग आउँछन् नै। मेलिनाले हनिमुन कहाँ मनाउलिन् त? उनले योजना बनाइसकेकी छन्। 'विवाह भएपछि हनिमुन त मनाइन्छ नै। सके नर्वे नसके जोमसोम जाने विचार छ,' उनी भन्छिन्। म्युजिक भिडियो छायांकनका बेला गएको जोमसोमले उनलाई मोहनी नै लगाइसकेको छ।
सहरमा मेलिनाको विवाहको चर्चा भइरहन्छ। विवाहका लागि सयौ एसएमएस र लभ लेटरबाट प्रस्ताव आउँछन् देशविदेशबाट। मेलिना भन्छिन्, मेरो विवाहका बारेमा कसैले भविष्यवाणी गर्नैपर्दैन। टाउको दुखाउनुपर्दैन। खुट्टा तान्नुपर्दैन। हुन्छ, कुनै केटासित। मेेरो जिम्मेवारी ठेक्का कसले लिएको छ?
नेपाली सिने आकाशमा हँसिली, सुन्दर अनि मिलनसार नायिकाका रुपमा चम्केकी छिन् मेलिना। उनको करिस्मेटिक व्यक्तित्वबाट कोही अप्रभावित भइरहन सक्दैन। त्यसो त मिडियामा मेलिनाका बारेमा प्रेम र विवाहका अनेक अफवाह आइरहन्छन्। 'पत्रिकाको क्वालिटी छैन। कलम चलाउने पत्रकारमा ज्ञान छैन। मलाई त्यस्ता पत्रिका र पत्रकारदेखि घृणा छ। त्यस्ता घिनलाग्दा पत्रिका र पत्रकारलाई समाजबाटै हटाउनुपर्छ। तिनीहरुको बारेमा कुरा गरेर समयमात्र खेर जान्छ। म त कसैलाई दुःख दिने मान्छे होइन। मलाई औंला उठाउनुभन्दा अघि त्यस्ता घटिया पत्रकारले छातीमा हात राखेर सोच्नुपर्छ।'
त्यसो त उनको नाम फोटोग्राफर राजीव श्रेष्ठसित पनि जोडिएको छ। 'राजीवले मेरो फोटो सेसन गराएका हुन्, उनैले खिचेको फोटोबाट निर्देशकसँग सम्पर्क भएको हो तर क्षमता नभइकन कसरी हिरोइन बनाउन सकिन्छ? सिनेमा क्षेत्रमा जसको जोसित पनि नाम जोडिदिने कस्तो चलन हो?' मिडियामा आइरहेका अफवाहबारे दिक्क हुँदै मेलिनाले भनिन्, 'बरु राजीवका कारण निर्मातानिर्देशकहरुसित मेरो काम बिग्रियो। मेलिनाले मेरो स्वीकृतिविना खेल्दिन भनेर करिअर नै बिगारिदियो। राजीवसित फोटोग्राफर र कलाकारको सम्बन्ध जति चाहिन्छ, त्यति मात्र हो।'
पछिल्लो समय त महेन्द्र बुढाथोकीसित मेलिनाको विवाह भयो भन्ने खबर नै छापियो। 'मैले महेन्द्रलाई भने, अब त अति भयो, हामी काम नगरौं समेत भन्नुपर्यो,' उनी भन्छिन्, 'महेन्द्र र मेरा बारेमा तथानाम लेख्नेहरुले सिने उद्योगलाई नै बदनाम गराएका छन्।' विवाहको प्रसंग आउनेबित्तिकै भनिहाल्छिन् मेलिना। भन्छिन्, सबैले मेरो विवाहको चिन्ता गर्नुभएको छ, यसपालि जुर्छ कि क्या हो?
मेलिनाको हुनवाला बेहुला कस्तो होला? धनाढ्य वा गरिब? प्रसिद्ध वा गुमनाम? अन्तर्जातीय र सजातीय? प्रेम विवाह वा मागी विवाह? जे पनि हुन सक्छ। पहिले त मेलिनासित सोचाइ मिल्ने चाहियो। नामै कमाएको जरुरी छैन। 'पत्रपत्रिकाले विनाप्रमाण लेखिरहेका छन्, जापान बस्नेसित मेरो कुरा भएको छैन। भाग्यमा जे लेखिएको छ, त्यही हुन्छ,' उनी भन्छिन्। प्रेम नि? 'विवाह गरेपछि आफ्नै श्रीमान्सित प्रेम गर्ने विचारमा छु,' उनी भन्छिन्। उनको विचारमा प्रेम दुई आत्माको मिलन हो। प्रेम प्रस्तावहरु धेरै आए तर खेर गए। ऋषिजी प्रेम शब्द सुन्दा नै अनुभूतिको छुट्टै संसारमा हराएजस्तो लाग्छ मलाई। उनको विचारमा प्रेम अनुभव हो। सेक्स भन्नेबित्तिकै लजाउँछिन् मेलिना। भन्छिन्, सेक्स मानवीय आवश्यकता हो। विवाह नगरी या एकभन्दा बढीसित यौन सम्बन्ध राख्नुलाई हाम्रो समाजले मान्यता दिंदैन। विवाहमा देखेको पाइँदैन लेखेको पाइन्छ रे। तर कसैको अँगालोमा नबाँधिई सुखै छैन। म जसलाई चाहन्छु, उसलाई मनमुटु सुम्पुन्छु। युवायुवतीमा प्रेमको आकर्षण क्षणिक भएको उहाँको धारणा छ। भविष्य सोचेर विवाहपछि मात्र सेक्स गर्नु राम्रो हुन्छ। तपाईले सेक्सको अनुभव गर्नुभएको छ कि छैन भनी सोध्दा उनी प्रतिवाद गर्दै यस्तो प्रश्न किन सोध्दै हुनुहुन्छ हँ तपाईं 'सेक्स आवश्यक छ त्यो मेरो व्यक्तिगत कुरा हो मन मिलेपछि मात्र सेक्स हुनसक्छ केवल एक जनासँग। तपार्इंको सेक्स भएको कुनै एक जनाको नाम बताउन सक्नुहुन्छ। स्पष्टवक्ता मेलिना त्रु्कद्ध हुँदै भन्छिन्–सेक्सको कुरामात्र कति गर्नुहुन्छ।
मेलिनाको उमेर कति भयो, थाहा छैन। जन्मदिनचाहिं पुस १७ रहेछ। मोहनकृष्ण र ललिता मानन्धरका छोरीका रुपमा काठमाडौंमा जन्मेकी हुन्। उनका तीन दिदीबहिनी र तीन दाजुभाइ छन्। नन्दकृष्ण, सरिता, संगीता, अम्बरकृष्ण, सुवर्णकृष्णमध्ये चर्चामा मेलिनामात्रै छिन्।
मेलिनाको बाल्यकाल काठमाडौं सहरमा नै बित्यो। ढल्कोको स्कुल पढि्न उनले। तर, कलेज गइनन्। त्यसो त स्कुल पढ्दापढ्दै उनी सिनेमामा आएकी होइनन्। लगातार पढेको भए पढाइ सकिने थियो सिनेमामा नलाग्दै। 'पहिलेदेखि नै पढाइमा रुचि भएन, अहिले समय गइसक्यो,' उनी भन्छिन्, "अरु कलेज गएको देख्दा मेरो समय गयो जस्तो लाग्छ।'
मेलिनाको पुर्ख्यौली नै कलाकारहरुको हो। कोही रंगमञ्चमा खेल्ने, कोही बजाउने त कोही गाउने। बुबा मोहनकृष्ण नाटक खेल्नुहुन्थ्यो। नातापाताहरु कलाकार हुनुहुन्थ्यो। बाजेबराजुमा समेत सांगीतिक चिनारी थियो। केटाकेटीदेखि नै सिनेमा खेल्ने इच्छा थियो उनको। होस सम्हालेदेखि नै सिनेमा आइन् नै।
मेलिना मानन्धर २०४८ सालमा फिल्मी उद्योगमा आएकी हुन्। प्रेयसी सिनेमामा नै उनले नायिकाको भूमिका निर्वाह गरिन् उनले। उनका नायक थिए, किरणप्रताप केसी। भन्छिन्, 'कलाकार हुने खालको चनाखो म थिइन, सोझी थिएँ। तर, मेरो रगतमा नै कलाकारिता थियो।' न्यु कमर भए पनि प्रेयसीमा खेलेलगत्तै मेलिनाको क्रेज बढ्यो। धेरैबाट स्याबासी पाइन् उनले। प्रेयसीमा नायिकाको भूमिका खेल्न पाउनुलाई नै जीवनको बिर्सन नसक्ने क्षणका रुपमा पाएकी छिन् उनले। सुटिङ भएको थियो, पर्यटकीय क्षेत्र नगरकोटमा। घरबाट पहिलोपटक टाढा पुगेको ठाउँ नै लोभलाग्दो थियो। उनी भन्छिन्, 'तर, सिने क्षेत्रमा मैले राम्रो बाटो देखाउने कुशल अभिभावक पाइनँ। सिनमोका प्रस्ताव धेरै आएका हुन् तर तिनलाई बुझेर लिन सकिनँ। आएजति काम सबै गरिन, धेरै फिल्म छाडें।'
मेलिनालाई लागेको थियो, सिनेमा बरु एउटै होस् तर राम्रो होस्। जानिजानी उनले सानातिना भूमिका अस्वीकार गरिन्। तर, उनले छाडेको ठाउँमा आएर नै धेरै नायिकाहरुको बजार ह्वात्तै बढ्यो। १ नम्बर नायिका बन्न पुगे। 'पत्रकारहरु मलाई सोध्छन्, तपाईंका धेरै सिनेमा छैनन्। नचलेर हो कि नपाएर हो?' उनी भन्छन्, 'चाहेको भए म १ नं नै हुन्थें। नेपालमा कामले होइन, संख्याले नं. १ भइँदो रहेछ। धेरै काम महान् भइँदो रहेछ, स्तरले होइन।'
३० को हाराहारीमा नेपाली सिनेमा खेलिन् उनले। तर, यो थोरैचाहिं होइन। प्रेमपिण्ड, सीमाना, दाइजो, मेरो हजुरजस्ता चलेका सिनेमाका नायिका भइन्। अभिनयका दृष्टिले नराम्रो सिनेमा भने उनले ठम्याउन सकेकी छैनन्। तर, छहारीमा राम्रो भूमिका निर्वाह गरेको उनको दाबी छ। पहिलो सिनेमा प्रेयसी पनि उनलाई राम्रै लाग्छ। पछिल्लो समय भने मेलिनाले त्यति धेरै सिनेमा खेलेकी छैनन्।
मुलुकको प्रतिकूल परिस्थितिले बजार खस्कँदा पनि उनले सिने क्षेत्र छाडिनन्। मेकअपका लागि भारत नै पुग्नुपर्ने बाध्यता बुझेकी थिइन् उनले। त्यसैले भारतबाट मेकअपको सामान ल्याएर काम थालिन्। तर, दुर्भाग्य के भने, देशको खराब अवस्थाले सिनेमा नै बन्न सकेन। त्यस्तै, मोडलिङ, दुईचारवटा फेसन सोमा पनि काम गरेकी छिन्। पानी पानी मेरो मन..... नामक उनको म्युजिक भिडियो विशेष चर्चामा छ। जोमसोममा उनका केही म्युजिक भिडियो सुटिङ भएको छ। भविष्यमा पनि सिने क्षेत्रमा नै काम गर्ने उनको इच्छा छ। तर, व्यापारतिर सोचेकी छैनन्।
महेन्द्र बुढाथोकीसित मिलेर टेलिफिल्म बनाइन् उनले। अब एक्सन फिल्म बनाउँदैछिन् मेलिना। सिनेमा अलिकति नारीवादी पनि होस् भन्ने उनको चाहना हो। राजनीतिमा उनको इच्छा छैन। बरु उनलाई कालजयी चलचित्र खेल्ने धोको छ। राजनीति उनलाई घिनलाग्दो खेलजस्तो लाग्छ। त्यसो त उनी फिल्म उद्योगको राजनीतिबाट समेत वाक्क भइसकेकी छिन्। भन्छिन्, 'सोझो मान्छेले राजनीति नगर्नु नै बेस। राजनीतिमा स्यालजस्तो छुट्टु बुद्धि चाहिन्छ। अरुलाई पेल्न सक्ने, जित्न सक्ने अथवा हिरै बन्न सक्ने हुनुपर्छ।' राजनीतिक चेतनामुखी सिनेमा बनाउन चाहने मेलिना गिरिजाप्रसाद कोइराला र प्रचण्डसित भेट्न चाहन्छिन्। 'कोइरालाले जे गरेका छन्, त्यो ठीक छ,त्यसैले नेतामा मलाई गिरिजाप्रसाद नै मन पर्छ' उनी भन्छिन्।
फरासिली नायिका मेलिनाका मनपर्ने राजारानी वीरेन्द्र र ऐश्वर्य रहेछन्। तर, उनी दरबारमा गएकी छैनन्। नेपिाली सिनेमामा शिव श्रेष्ठ, भुवन केसी, मिथिला शर्मा, करिस्मा मानन्धर र गौरी मल्ल उनलाई मनपर्छ। पाइन्ट, कुर्ता, साडी जुनसुकै पहिरन लगाउने मेलिना पारिवारिक जमघटबाहेक रक्सी पिउँदिनन्। सिगरेट त उनले सुटिङमा समेत पिउनुपरेको छैन। कुकुर र बाख्राको पाठा मन पराउने मेलिना रंगीचंगी चराहरु मन पराउँछिन्। उनलाई मनपर्ने फूल चमेली हो।
बुबाको मृत्यु उनको जीवनकै दुःखद क्षण हो। तर, उनी सुखदुःख दुवैलाई सामान्य रुपमा लिन्छिन्। पहिलो सिनेमा खेलेको क्षण बिर्सन सक्दिनन् मेलिना। उनले आफ्नो कमाइबाट घरजग्गा केही जोडेकी छैनन्। आमाले दिए बेग्लै हो। भन्छिन्, 'मलाई जिउन पाए पुग्छ,। चाहेको भए म जति पनि कमाउन सक्थे। मेरो इज्जत नै मेरो कमाइ हो, त्यसैमा सन्तुष्ट छु।' ०००