काठमाडौं २३ भदौ । संयुक्त राष्ट्रसंघीय राजनीतिक मिसन अनमिन प्रमुख करिन ल्यानग्रेनले नेपालको शान्ति प्रकृया असफल नभएपनि अपेक्षकृत रुपमा ज्यादै सुस्त र अनियमित तवरले अघि बढिरहेको आरोप लगाउनुभएको छ ।
नेपालमा अनमिनको म्याद थप्ने कि नथप्ने विवाद कायमै रहेको बेला अनमिन प्रमुख ल्यानग्रेनबाट यस्तो आरोप आएको हो । सुरक्षा परिषदमा नेपाली समय अनुसार गएराती नेपाल सम्बन्धी प्रतिवेदन पेश गर्दे अनमिन प्रमुख ल्यानग्रेनले अवरुद्ध नेपालको शान्ति प्रकृयालाई अविलम्ब सही मार्गमा ल्याउनु पर्ने भन्दै सरकार गठन सम्बन्धी समस्या र अविश्वासको वातावरण तत्काल हटाउन राजनितिक दलहरुलाई आग्रह समेत गर्नुभयो ।
उहाँले समयमा नयाँ संविधान जारी गर्न र सेना समायोजन सम्बन्धी समस्या सुल्झाउनु शान्ति प्रकृयाको प्रमुख कार्यभार बताउँदै नेपाल जारि असुरक्षा र दण्डहिनताको अवस्था शान्ति प्रकृयाको प्रमुख चुनौती र बाधक भएको भनाई थियो । अनमिनको म्याद यही भदौ ३० गतेदेखि सकिदै छ ।