काठमाडौं २५ भदौं । एकीकृत नेकपा माओवादी शीर्षतहका नेताहरुबीच केन्द्रीय समितिमा दिने जवाफ र प्रधानमन्त्री चुनाव बारे विवाद देखिएको छ । प्रतिवेदनको विवाद मिलाउने तयारी नपुगेको भन्दै आज बस्ने भनिएको केन्द्रीय समिति बैठक स्थगित भएको छ । बिहान तीनवटै प्रतिवेदनको साभा प्रस्तावका रुपमा जवाफ दिने वा छुट्टा छुट्टै जवाफ दिने भन्ने विषयमा मतभेद देखिएकोले आजको केन्द्रीत समिति बैठक भोलि सम्मका लागि स्थगन गरिएको हो ।
तीन शीर्ष नेताले छुट्टाछुट्टै प्रतिवेदन पेश गरेपछि उत्पन्न विवाद मिलाउनका लागि आवश्यक तयारी नपुगेकाले विहीबारको बैठक पनि स्थगित गरिएको हो । माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले तयारी नपुगेको र अरु विषयमा पनि छलफल गर्नुपर्ने भएकाले बैठक स्थगन गर्नुपरेको बताउनुभयो ।
यसैविच एकीकृत नेकपा माओवादीले बर्तमान सरकार कामचलाउ मात्रै भएकाले सदनमा कुनै विधेयक ल्याउन नपाउने ठहर गर्दै वैकल्पिक बाटोबाट समस्याको समाधान खोज्न आग्रह गरेको छ ।
काठमाडौंको नयाँ वजार स्थित अध्यक्ष पुष्कमल दाहालको निवासमा बसेको माओवादी पदाधिकारीबैठकले यस्तो ठहर गर्दै समस्या समाधानका लागि वृहत छलफल गरी वैकल्पिक बाटो अपनाउन आग्रह गरेको छ । बैठकले माओवादीमाथि लगाएको आरोप गलत भएको भन्दै काम चलाउ सरकारको हैसियत र वैधानिकता नभएकाले सदनमा त्यस्ता विधेयक ल्याउन विरोध मात्र गरेको बैठक पछि माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रस्ट पार्नु भयो ।
बैठकले अनमिनको कार्यादेश कटौती नगरी म्याद थप्नु पर्ने अडान दोहरयाउँदै सरकारसँग थप छलफल गर्न निर्णय गरेको उपाध्यक्ष श्रेष्ठको भनाइ थियो ।
पदाधिकारीहरुको वैठकमा उपाध्यक्षद्धय मोहनवैद्य र डाक्टर बाबुराम भटराई लगायतले उम्मेदवारी फिर्ता लिई नयाँ प्रकृयामा जानुपर्ने बताएपनि वैठकमा एकमत हुन नसकेको स्रोतको भनाई छ ।