काठमाडौ २५ भदौ । अमेरिकी राजदुत स्कट एच डिलिसिले दलहरुबीच सहमती भए मात्र अनमिनले प्रभावकारी ढंगले काम गर्नसक्ने अन्यथा अनमिनको नेपालको शान्ति प्रकि्रयामा काम प्रभावकारी हुन नसक्ने बताएका छन् । हिजोमात्र अनमिनको भूमिकाको विषयमा उत्पन्न विवादको विषयमा प्रधानमत्री माधवकुमार नेपाल र माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भेटेका अमेरिकी राजदूत डिलिसीले शुक्रवार एक वक्तव्य प्रकाशित गर्दै अन्य भूमिकाको बहसमा नअल्मलिई शान्ति सम्झौताको पूर्णरुपमा पालना गर्न आवश्यक पर्ने कठोर राजनैतिक निर्णय लिन नेपालका राजनीतिक दल र सरकारलाई सुझाव दिएका छन् ।
राजदुत डिलिसीले विज्ञप्तिमा भनेका छन-अनमिनको अनुगमनकारी भूमिकाको विषयमा पार्टीहरुबीच छलफल तथा सहमति जरुरी छ । तर त्योभन्दा महत्वपूर्ण विषय शान्तिप्रकि्रयाको पूर्णताका लागि बाधक रहेका मूलभूत मुद्दाहरुलाई सम्बोधन गर्नु रहेको पर्छ । अनमिनको भूमिकाको बहसमा अल्मलिनु भन्दा शान्ति सम्झौताको पालनामा ध्यान दिनु पर्ने राजदुतको सुझाव रहेको छ ।
अनमिनको म्याद थप्न सरकारले पठाएको पत्रमा नेपाली सेना अनुगमन बारे मौन रहेपछि हिजो बिहीबार माओवादीले राष्ट्रसंघलाई अलग्गै पत्र लेखेको थियो । अनमिनको भविष्य बारे सरकार र माओवादीबीच विवाद चुलिएपछि अमेरिका फ्रान्स तथा वेलायतका राजदूतले हिजो प्रधानमन्त्री माधवकुमार नेपाल तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग सो विषयमा कुराकानी गरेका थिए ।