
जाङ्वु शेर्पा
----- ३२ विद्यार्थीको ज्यान जाने गरी अमेरिकाको भर्जिनिया राज्यस्थित टेकु विश्वविद्यालयमा भएको गोलीकाण्डमा नेपाली विद्यार्थी सकुशल रहेको पुष्टि भएको छ । विश्वविद्यालयको व्यवस्थापन संकायका नेपाली प्राध्यापक देवी ज्ञवालीले त्यस्तो जानकारी दिएका हुन् । विश्वविद्यालयका विभिन्न संकायमा २६ हजारमध्ये नेपाली विद्यार्थीको संख्या १६ छ । अज्ञात बन्दुकधारीले चलाएको गोलीबाट १५ जना घाइते छन् । मारिने अधिकांश अमेरिकी विद्यार्थी छन् ।स्थानीय समयअनुसार सोमबार ७ वजेर १५ मिनेट जाँदा इन्जिनियरिङ भवनमा दोस्रोपटक भएको आक्रमणमा ३० भन्दा बढीको ज्यान गएको विश्वविद्यालयका प्रमुख चार्ल्स स्टेन्जरले वताएको छ । कति विद्यार्थीले झ्यालवाट फाल हानेर ज्यान जोगाएको प्रहरीलाई उद्धृत गर्दै स्रोतले जनाएको छ । यद्यपि अमेरिकी रक्षा मन्त्रालयले भने घटनामा आतंककारीको संलग्नता नरहेको जनाउँदै गहिरो अनुसन्धान भइरहेको बताएको छ । विश्वविद्यालय राजधानी वासिङटन डिसीवाट ३ सय किलोमिटरको दूरीमा छ । आक्रमणकारीले घटनास्थलमा नै आत्माहत्या गरेको प्रहरीले जनाएको छ । आक्रमणकारीको गोजीमा विश्वविद्यालयकै परिचयपत्र फेला परेको प्रहरीले बताएको छ ।
घटनामा संलग्न थप व्यक्तिहरुको भने प्रहरीले हालसम्म खासै केही खुलाएको छैन । अमेरिकीहरुले आक्रमणको दिनलाई कालो दिनको संज्ञा दिएका छन् । मारिनेको नाम समेत र्सार्वजनिक भएका छैन । यसले अमेरिकाबाहिर रहेका विद्यार्थीका अभिभावकहरुमा अन्योल सिर्जना भएको छ । घटना के कति कारण भयो भन्ने सर्न्दर्भमा भने प्रहरीले व्यापक अनुसन्धान भइरहेको वताएको छ सञ्चार माध्यमले अज्ञात बन्दुकधारीले इञ्निनियरिङ भवनको कक्षाकोठामै प्रवेश गरी दोस्रो आक्रमण गरेको उल्लेख गरेका छन् । घटनालाई अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसले आक्रमणको घोर निन्दा गरेका छन् । घटनाले अमेरिकाभरि शोक छाएको छ । यसअघि सन् १९९६ मा अमेरिकाकै टेक्सासको एक विश्वविद्यालयमा भएको आक्रमणमा १३ जना विद्यार्थीको हत्या भएको थियो ।