Logo

संशोधनभन्दा निर्वाचनलाई प्राथमिकता दिऊँ : नेता नेपाल



वालिङ, १९ चैत । नेकपा (एमाले)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले संविधान संशोधनभन्दा पनि निर्वाचनलाई पहिलो प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।

“देशलाई संवैधानिक सङ्कटबाट जोगाउनका लागि पनि आगामी माघभित्र तीनवटै निकायको निर्वाचन सक्नुपर्ने बाध्यता छ”, नेता नेपालले भन्नुभयो–“अब बहाना गरेर निर्वाचनलाई अल्मल्याउनभन्दा तोकिएको समयमै निर्वाचन गर्नुपर्छ ।”

आज स्याङ्जाको गल्याङमा तुल्सीभञ्ज्याङ साना किसान कृषि सहकारी संस्थाको चौथो वार्षिक साधारणसभा तथा नवनिर्मित भवनको उद्घाटन समारोहमा बोल्दै नेता नेपालले लामो समयदेखि स्थानीय निकाय कर्मचारीको भरमा रहेकाले जनप्रतिनिधि छिटोभन्दा छिटो तयार गरी देशलाई आर्थिक समृद्धितर्फ लैजानु अबको समयको माग भएको उल्लेख गर्नुभयो ।

“वैशाख ३१ गते स्थानीय निकायको निर्वाचन हुन्छ यसमा ढुक्क हुनुहोस्”, नेता नेपालले भन्नुभयो –“अब सबै निर्वाचनको तयारीमा लाग्नुहोस्, गाउँ गाउँमा माहोल तताउनुहोस् ।”

नेपाल कृषि प्रधान देश भएको बताउँदै नेता नेपालले कृषि क्षेत्रमा आधुनिकीकरण गरी बढीभन्दा बढी उत्पादन लिई आर्थिक परिवर्तनतर्फ लाग्नका लागि योजनाहरु ल्याउनुपर्नेमा जोड दिनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्