Logo

जुन बटन थिच्दा पनि मोदीलाई नै भोट !



काठमाडौं २० चैत । भारतीय निर्वाचन आयोगले प्रयोगमा ल्याएको इलेक्ट्रोनिक भोटिङ मेशिनमा भोट हालेपछि कागजको बिल निस्कन व्यवस्था अर्थात भोटर भेरिएबल पेपर अडिट ट्रेल (भीभीपीएटी) शंकाको घेरामा परेको छ । मध्यप्रदेशका निर्वाचन अधिकारी सलिना सिंहले विधानसभाको दुई क्षेत्रमा हुने उपचुनावमा प्रयोग गर्न लागेको मेसिनको प्रदर्शन गरेको थियो ।

प्रदर्शनका क्रममा दुई अलग अलग बटन थिच्दा समेत भारतीय जनता पार्टीको चुनाव चिन्ह कमलको नै पर्चा निस्किएपछि मेशिनमाथि नै शंका उत्पन्न भएको हो । गत मार्च ११ मा सार्वजनिक मतपरिणाममा भारतको उत्तर प्रदेशमा भाजपाले अप्रत्यासित रुपमा दुई तिहाईभन्दा बढी मत ल्याएको थियो ।

प्रदर्शनका क्रममा उपस्थित पत्रकारलाई निर्वाचन अधिकारी सलिना सिंहले यसको खबर नछापिदिन आग्रह गरेकी थिइन् । तर काँग्रेसले तत्काल यसलाई मुद्दाको रुपमा लिएर शनिबार निर्वाचन आयोगमा हुन लागेको राजनीतिक दलको बैठक समेत बहिस्कार गरेको छ । यसपछि बहुजन समाजवादी पार्टीले समेत बैठक बहस्कार ग-यो ।

यस प्रकरणबारे मुख्य निर्वाचन आयुक्त सिंहले भने यसलाई पत्रकारलाई नयाँ व्यवस्था जानकारीका लागि मात्रै प्रदर्शन गरिएको भन्दै त्यसलाई ढाकछोप गर्ने प्रयास गरेकी छन् । उनले मेशिनलाई ठीक ढंगले जाँचेर नल्याई केबल पत्रकारको जिज्ञासालाई शान्त पार्नका लागि मात्रै प्रदर्शन गरिएको जिकिर गरिन् ।

उनले यसबारेमा सम्पूर्ण जानकारी केन्द्रीय निर्वाचन आयोगमा पठाएको समेत जानकारी दिएकी छन् । काँग्रेसका प्रदेश अध्यक्ष अरुण यादवले समेत निर्वाचन आयोगलाई पत्र लेखेर प्रदेशमा प्रयोग हुने भोटिङ मेशिनमा गडबढी रहेकोले मतपत्रको आधारमा निर्वाचन गराउँन माग गरेका छन् ।

यादवले भने, ‘अहिले मुख्य निर्वाचन आयुक्तको अगाडि त मेशिनले कलम चुनाव चिन्ह देखाईरहेको छ भने साँच्चै चुनावमै के हालत होला ?’ उनले सलिना सिंहलाई बर्खास्त गर्न पनि माग गरेका छन् ।

यसअघि भारतको उत्तर प्रदेशमा निर्वाचनमा पराजित भएपनि बहुजन समाजवादी पार्टीकी अध्यक्ष मायावती र दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले समेत इलेक्ट्रोनिक भोटिङ मेशिनमाथि प्रश्न उठाएका थिए ।

उत्तर प्रदेशमा अघिल्लो विधानसभाको निर्वाचनमा तेस्रो भएको भारतीय जनता पार्टी यो निर्वाचनमा अप्रत्यासित रुपमा दुई तिहाईभन्दा बढी सिटसहित सत्तामा पुग्न सफल भएको छ । अघिल्लो निर्वाचनमा जित हासिल गरेर सत्ताको नेतृत्व गरेको समाजवादी पार्टी यसपटक नराम्ररी पराजित भएको छ । भाजपा नेता किरिट सोमैया र सुब्रमन्यम स्वामीले समेत भोटिङ मेशिनमाथि गडबडीको आशंका जनाएका थिए ।

के हो भीभीपीएटी ?

भोटर भेरिएबल पेपर अडिट ट्रेल (भीभीपीएटी) को व्यवस्था अनुसार भोटरले भोट हाल्ने वित्तिकै एउटा कागजको टुक्रा (पर्ची) आउँछ । जसमा जुन उम्मेदवारलाई भोट दिइयो, उसको नाम र चुनाव चिन्ह छापिएको हुन्छ ।

यो व्यवस्था कुनै प्रकारको विवाद आएमा ईभीएममा परेको भोटका साथ पर्चीलाई तुलना गर्न सकियोस भन्नका लागि गरिएको हो । ईभीएममा लगाएको सिसाको स्क्रिनमा यो पर्ची ७ सेकेन्डसम्म देखिन्छ ।

भारत इलेक्ट्रोनिक्स लिमिटेड र इलेक्ट्रोनिक कर्पोरेशन अफ इण्डिया लिमिटेडले यो मेशिनको डिजाइन् सन् २०१३ मा गरेका थिए । सबैभन्दा पहिले यसको प्रयोग नागाल्यान्डको निर्वाचनमा सन् २०१३ मा नै गरिएको थियो । यसपछि सर्वोच्च अदालतले भीभीपीएटी मेशिन बनाउने र यसलाई रकम उपलब्ध गराउन केन्द्र सरकारलाई दिइएको थियो ।

निर्वाचन आयोगले सन् २०१४ जुनमा सन् २०१९ को निर्वाचनमा सबैस्थानमा विद्युतीय भोटिङ मेशिनको प्रयोग गर्ने जनाएको थियो । त्यसका लागि आयोगले सरकारसँग ठूलो रकम समेत मागेको थियो । राजधानी दैनिकमा खबर छ ।



प्रतिक्रिया दिनुहोस्