Logo

मोर्चासँग कुनै सहमति भएको छैन : बृषेशचन्द्र लाल



काठमाडौं, २० चैत । मधेशी मोर्चाका शीर्ष नेता बृषेशचन्द्र लालले मधेशी मोर्चासँग सहमति भयो भनेर हल्ला गरिएपनि त्यस्तो सहमति नभएको जिकिर गरे । उनले भने,‘मधेसले अहिले परिणाम खोजी रहेको छ, कुनैपनि सहमति भएको छैन्।’

आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले संविधान संशोधन नभएसम्म मोर्चाले कुनैपनि निर्वाचन प्रक्रियामा भाग नलिने र निर्वाचनको अवरोध गर्ने चेतावनी दिए । उनले सदनमा दर्ता भएको संविधान संशोधन प्रस्ताव आफुहरुको नभएर सरकारको भएको समेत आरोप लगाए ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले मुलुकको समस्याको समाधान गर्नुपर्ने बेला निर्वाचनको बखेडा झिकेर सरकारले झनै द्वन्द्व बढाउने रणनीति लिएको आरोप लगाए । मधेसी मोर्चा अहिले पेश भएको संशोधन परिमार्जनसहित पास भए मात्रै चुनावमा भाग लिने उनको भनाई थियो ।

अहिले संविधान कार्यान्वयन हुन नदिने र परिवर्तनलाई उल्टाउन नेताहरु लागि रहेको समेत उनले आरोप लगाए । संविधान संशोधन गरेर चुनावको सुनिश्चितता गर्नुपर्ने आफूहरुको अडान रहेको लालले बताए ।

मोर्चाले चुनावको मिति सार्ने कुरा कहीँकतै नगरेको बरु संशोधनपछि सार्ने वा नसार्ने टुंगो लाग्ने समेत उनले स्पष्ट पारे । यद्यपी उनले नेपालमा जेठमा पनि चुनाव भएको ईतिहास भएकोले संशोधन प्रस्ताव प्रक्रियामै टुँगो लगाउदा समय लाग्ने भएकोले त्यतिवेला निर्वाचनको मिति सार्नुपर्ने जिकिर गरे । उनले अहिले फाष्ट ट्र्याकबाट समेत संशोधन गर्ने कुरा आएको जनाए ।



प्रतिक्रिया दिनुहोस्