Logo

भारतले अतिक्रमण गरेको ५० हेक्टरभन्दा बढी जग्गा नेपाललाई फिर्ता



काठमाडौं ७ बैशाख । भारतले उपभोग गर्दै आएको ५० हेक्टरभन्दा बढी भूभाग नेपालले फिर्ता पाएको छ । नेपालको कपिलवस्तु र भारतको बलरामपुर जिल्लाको सिमाना साँध मानिएको अर्ररा नदीपारिको भूभाग नेपालको भएको पुष्टि भएपछि भारतले फिर्ता गरेको हो ।

नेपाल–भारतको सिमाना नापजाँच संयुक्त टोलीले उक्त क्षेत्रमा गरेको नापी तथा सर्वेमा नेपाली भूभाग भारतद्वारा मिचिएको प्रमाणित भएको थियो । अर्ररा नदीपारिको वन क्षेत्र, नदी तथा खेतसमेत नेपालको भूमिमा परेको छ । विजयनगर गाउँपालिका–१ जबाबैराठ छोएर बग्ने अर्ररा नदी पारिसमेत नेपाली भूमि बढेपछि संयुक्त सर्वे टोलीले स्तम्भ निर्माण गरी सिमाना छुट्याएको छ ।

नेपाल पक्षका टोली प्रमुख तथा नापी विभागका प्रमुख अधिकृत निर्मल आचार्यले करिब ५० हेक्टर जमिन नेपालमा गाभिएको बताए ।

सिमानासँग जोडिएको कपिलवस्तुको गौतम बुद्ध साझेदारी वनको १३ हेक्टर वन क्षेत्र भारतमा परेको थियो । विगतमा भारतले चर्चिंदै आएमध्येको २० हेक्टर क्षेत्रफलमा भारतीय पक्षले संरक्षण गर्दै आएको वन क्षेत्रसमेत रहेको छ ।

भारतको बलरामपुर जिल्लास्थित शुहेलवा आरक्षण वन क्षेत्र नेपालमा परेको कार्यालयले जनाएको छ । हालसम्म अर्ररा नदीले नेपालतर्फ कटान गरी नेपाली क्षेत्र साँघुरिँदै जाँदा भारतीय पक्षले अर्ररा नदीलाई सीमा मान्दै नेपाली भूमिको उपभोग गर्दै आएको थियो ।

इलाका प्रशासन कार्यालय चन्द्रौटाका उपसचिव मेघनाथ पाध्याले दुवैको सहमतिमा भारतीय पक्षले उपभोग गर्दै आएको अधिकांश जग्गामा पिलर निर्माण गरिसकिएको जानकारी दिए । सीमा क्षेत्र जबाबैराठका नेपालीहरू भूमि बढेकोमा निकै खुशी देखिएका छन् । –गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्