चुनावी रणनीति बनाउँदै साना वाम दल

0
Shares

काठमाडौं । देश र प्रतिनिधिसभा निर्वाचनका लागि साना वामपन्थी दल पनि रणनीति बनाउनमा व्यस्त छन् । कुनै दलले चुनावी तालमेल गर्ने रणनीति बनाएका छन् भने कुनै दल एक्लै निर्वाचन लड्ने तयारीमा छन् । राष्ट्रिय जनमोर्चाले गणतन्त्रवादी दलहरूसँग तालमेल गरेर जाने निर्णय गरिसकेको छ । स्थानीय तह निर्वाचनमा जनमोर्चाले माओवादी केन्द्रसँग तालमेल गरेको थियो । प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तालमेलका लागि छलफल भइरहेको रािष्ट्रय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बताए । ‘तालमेलका लागि एमाले, कांग्रेस र माओवादी केन्द्रलगायतका दलसँग कुरा गरिरहेका छौँ,’ उनले भने, ‘केही दिनभित्र टुंगो लगाउनेछौँ ।’ जनमोर्चाले आफूले जित्ने क्षेत्रमा एक्लै निर्वाचन लड्ने तयारी गरेको छ भने जित्न नसक्ने क्षेत्रमा तालमेल गर्नेछ ।

नेपाल मजदुर किसान पार्टीले भने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कसैसँग पनि तालमेल नगर्ने भएको छ । सिद्धान्त र विचारविनाको तालमेल पुँजीवादी अवसरवाद भएकाले तालमेलको अर्थ नहुने नेमकिपा नेता प्रेम सुवालले बताए ।

दुई साना दल माओवादी चुनाव चिह्नमा भाग लिँदै
प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा दुई साना वाम दलले माओवादी केन्द्रको चुनाव चिह्न प्रयोग गर्ने भएका छन् । गणेश शाह नेतृत्वको नेकपा संयुक्त र प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता पार्टीले गोलाकारभित्रको हँसिया हथौडा चिह्न लिई निर्वाचनमा भाग लिने भएका छन् ।

वैद्य माओवादी एक्लै निर्वाचनमा जाने
नेकपा क्रान्तिकारी माओवादीले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एक्लै भाग लिने भएको छ । निर्वाचन उपयोग गर्ने नीतिअनुरूप भाग लिन थालेको नेता सिपी गजुुरेलले बताए । गजुरेलको संयोजकत्वमा गठित जनगणतान्त्रिक मोर्चाले कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपासँग तालमेल नगर्ने यसअघि नै निर्णय गरिसकेको छ । तर, क्रान्तिकारी शक्तिसँग भने तालमेल हुन सक्ने माओवादीले जनाएको छ । कुन–कुन जिल्लामा उम्मेदवारी दिने भन्ने विषयमा छलफल भइरहेको नेता गजुरेलले बताए । मोर्चाले चुनाव चिह्न मुठ्ठी पाएको छ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भने प्रदेश र प्रतिनिधिसभा निर्वाचन बहिस्कार गर्ने भएको छ । नेकपाले संसदीय व्यवस्थाको विरोध गर्दै स्थानीय तह निर्वाचन पनि बहिस्कार गरेको थियो ।

माले एमाले–माओवादी गठबन्धनमा सहभागी हुने
नेकपा मालेले एमाले–माओवादी गठबन्धनसँग तालमेल गर्ने भएको छ । प्रदेश र प्रतिनिधिसभाका लागि कति सिट लिने भन्ने विषयमा छलफल भइरहेको माले अध्यक्ष सिपी मैनालीले बताए । माले चुनाव चिह्न हँसिया तारा लिएर जाने भएको छ । ‘पार्टी एकताको विषयमा भने निर्वाचनपछि मात्र छलफल गर्छौँ,’ मैनालीले नयाँ पत्रिकासँग भने, ‘एजेन्डा, विचार, भावना र कार्यदिशा मिलेमा एकता पनि हुन सक्छ।’
नयाँपत्रिकाबाट