स्वास्थ्यमन्त्री बन्न पाएँ भने विश्व स्वास्थ्य संगठनको सबै मापदण्ड पूरा गराउन सक्छु : डा. अधिकारी

प्रदेश नम्बर ३ मा पाँच वर्षको स्थिर सरकार बन्न नसक्ने अवस्था आयो भने म सासंद पदबाट राजिनामा दिन्छु ।

 

धादिङको प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेशसभा १ मा नेकपा एमालेका उम्मेदवार डा. रामकुमार अधिकारी विजयी भएका छन् । पब्लिक हेल्थमा पिएचडी गरेका डा. अधिकारी प्रदेशसभाको चुनाव जितेसँगै समाजको सेवा र विकास कसरी गर्ने भन्ने खाका बनाउँन व्यस्त छन् । महाराजगंज मेडिसिन क्याम्पसबाट जनस्वास्थ्य विषयमा पिएचडी गरेका अधिकारी पढाई अनुसार स्वास्थ्य क्षेत्र सुधारकै अभियानमा लाग्ने गरी अघि बढेका छन् ।
राजनीतिमा २०३७ सालदेखि लागेका अधिकारी अहिले चुनाव जितेपछि उत्साहित बनेका छन् । अध्ययनका क्रममा अमृत साइन्स क्याम्पसबाट नै राजनीतिक गतिविधिमा संलग्न भएको उनले बताए ।
अमृत साइन्समा पढाई सकेपछि उनी तत्कालिन भूमिगत मालेको चैनपुर गाउँ समितिको सदस्यसमेत बने । पञ्चायती व्यवस्थाको ध्वंश गरी गणतन्त्र नेपालको स्थापना गरौँ भन्ने नारा अंगालेर उनी सदस्य बनेका थिए । “जनयुद्ध नै गर्ने भनेर लागिएको हो ।” अधिकारीले भने ।
“प्रचण्डले ढाडमा टेकेर टाउकामा हान्ने भने झैँ पहिले नै मदन भण्डारीले पञ्चायतमा छिरेर पञ्चायतलाई नै ध्वंश गर्ने नीति लिनुभएको थियो ।” अधिकारीले स्मरण गरे । तर कतिपयले नबुझेर आफूहरुलाई पञ्चको रुपमा नै लिएको उनको दाबी छ । नेकपा मालेले २०४३ सालमा पञ्चायतलाई उपयोग गर्ने नीति लिएको थियो ।
त्यसबेला अधिकारीलाई धादिङको निलकण्ठ क्षेत्रको एरिया कमाण्डर बनाइएको थियो । युद्ध नै गर्ने तयारीस्वरुप अगाडि बढेका बेला उनी कमाण्डर बनेका हुन् ।
अधिकारीले पढाईका लागि काठमाण्डौ र राजनीतिका लागि धादिङ जिल्लाको प्रयोग गरेका थिए । “काठमाण्डौ बसिबसि पनि धादिङको राजनीति गरेको मान्छे हुँ ।” उनले भने ।
५४ सालको एमालेको छैठौँ महाधिवेशन नेपालगञ्जमा भएको थियो । त्यसबेला बामदेव गौतम र सिपि मैनालीको लाइनमा रहेका अधिकारी पार्टी फुट्दा मालेतिर गएका थिए ।
पछि पार्टी एकीकरण भएपछि अहिले नेकपा एमालेको प्रदेश नम्बर ३ का सदस्य हुन् । त्यसैगरी एमाले निकट वृद्धिजीवी परिषदको केन्द्रिय सदस्य हुन् ।
अब बन्ने प्रदेश नम्बर ३ को सरकारमा अधिकारीलाई योग्य स्वास्थ्यमन्त्रीको रुपमा हेरिएको छ । उनै अधिकारीसँग शिव लामिछानेले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।
नेपालकै स्वास्थ्य क्षेत्रलाई समृद्ध बनाउन केके गर्नुपर्छ ?
सबैभन्दा पहिला समृद्धिको परिभाषा स्पष्ट हुनुपर्छ । प्रति दशहजार मान्छेका लागि २४ जना डाक्टर चाहिन्छ । यसो हुन सक्यो भने विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड पूरा हुन्छ । अहिले नेपालमा २४ जना चाहिनेमा ६ जना मात्रै छन् । त्यसैगरी प्रति एक हजार मान्छेका लागि एक दशमलब नौ क्षमताको बेड भएको अस्पताल चाहिन्छ । संगठनको यो मापदण्ड पूरा गर्नका लागि नेपालमा ५६ हजार बेड चाहिन्छ । नेपाल सरकारसँग जम्मा ८ हजार बेड छ । त्यसैले पहिलो यस्ता कुरा जान्नुपर्छ । तर नेपालमा विकास गर्छु भन्नेहरुलाई नै नेपालमा के आवश्यकता छ भन्ने नै थाहा छैन ।

यो मापदण्ड पूरा गर्नु ठुलै चुनौति हो । यो चुनौति कसरी पूरा गर्न सकिन्छ त ?
यो लक्ष्य कोही एउटा व्यक्तिले पूरा गर्न सक्दैन । राज्यलाई मात्र दोष दिएर हुँदैन । सबै मिल्नुपर्छ । मैले प्रदेश नम्बर ३ मा भएका स्वास्थ्यसँग सम्बन्धित समस्याहरु पहिचान गरिसकेको छु । ति समस्या समाधानका लागि योजना पनि बनाइसकेको छु । मेरो योजना लागु गर्न पाएँ भने विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसारको स्वास्थ्य सेवा प्रदान गर्न सकिन्छ । मैले बनाएको योजनामा सबै कुरा उल्लेख छ ।

प्रदेश नम्बर ३ मा केकस्ता समस्या रहेछन् ?
यस प्रदेशभित्र पर्ने सिन्धुली जिल्लाको आय सबैभन्दा कम छ । त्यसपछि रामेछापको अवस्था कमजोर छ । मैले सबै जिल्लाको समस्या पहिचान गरेर समाधानका उपायसहितको खाका बनाएको छु ।

तपाई स्वास्थ्य क्षेत्रको विज्ञको रुपमा पनि चिनिनुहुन्छ । जनताले पनि यस प्रदेशको स्वास्थ्यमन्त्रीको रुपमा देख्न चाहेका रहेछन् । स्वास्थ्य मन्त्री बन्ने मौका पाउनुभयो भेन केके काम गर्नुहुन्छ ?
म प्रदेश नम्बर ३ को सरकारमा स्वास्थ्यमन्त्री बन्न पाएँ भने १३ वटा जिल्ला हेर्नुपर्छ । मेरो विशेषज्ञता जनस्वास्थ्य भएका स्वास्थ्य क्षेत्रको सुधारमा उल्लेख्य काम गर्न सक्छु भन्ने आत्मविश्वास छ । मैले नेपालबाहेकका अन्य देशमा गएर पनि धेरै काम गरेको छु । वास्तवमा स्वास्थ्य क्षेत्र भनेपछि मानिसले अस्पताल डाक्टर र नर्स भन्ने बुझेको पाइन्छ । तर स्वास्थ्य क्षेत्रसँग अन्य सबै क्षेत्र जोडिएको हुन्छ । सबैभन्दा बढि सडकसँग स्वास्थ्य जोडिएको हुन्छ । सडक भएन भने एम्बुलेन्स गुड्न सक्दैन । एम्बुलेन्स गुड्न नपाएपछि समयमा विरामीलाई अस्पताल लैजान सकिदैन । जसका कारण विरामीको मृत्यु हुन्छ ।
शिक्षा अर्को महत्वपूर्ण कुरा हो । रोगबाट बच्नका लागि केके गर्नुपर्छ भन्ने शिक्षा सबैलाई दिनुपर्छ । हात धोएर मात्रै खाना खानुपर्छ भन्ने सिकाउने हो भने पनि धेरै रोग नियन्त्रण हुन्छ । स्वास्थ्य क्षेत्रको सुधारका लागि कृषि क्षेत्रमा पनि परिवर्तनको आवश्यकता छ । कृषि भनेको त पोषणसँग सम्बन्धित हुन्छ नि । कृषिसँग सिँचाई, वन सबै जोडिन्छ । त्यसैले स्वास्थ्य क्षेत्रको सुधारका लागि धेरै काम गर्नुपर्छ ।

तपाई प्रदेश नम्बर ३ को स्वास्थ्यमन्त्री बन्न पाउनुभयो भने अबको पाँचवर्ष पछि यो प्रदेशको स्वास्थ्य अवस्था कस्तो बनाउन सक्नुहुन्छ ?
विश्व स्वास्थ्य संगठनको सबै मापदण्ड पूरा गराउन सक्छु भन्न त सक्दिन । तर बजेट र स्रोत साधनको उपलब्ध गराउने हो भने म सबै मापदण्ड पूरा गर्न सक्छु । मैले बनाएको योजनाअनुसार काम भयो भने यो प्रदेश सातवटा प्रदेशमध्ये सबैभन्दा राम्रो प्रदेश बन्न सक्छ ।

नेपालको स्वास्थ्य क्षेत्र सुधारका लागि लगानी कति महत्वपूर्ण छ ?
आर्थिक लगानीबिना त कुनै पनि क्षेत्रको सुधार हुन सक्दैन । नेपालमा अहिले स्वास्थ्य क्षेत्रका लागि जम्मा ६ प्रतिशत लगानी छ । जबकी माल्दिभ्सले २६ प्रतिशत लगानी गरेको छ । विश्व स्वास्थ्य संगठनको मापदण्ड पूरा गर्ने हो भने पनि कूल बजेटको १० प्रतिशत लगानी गर्नुपर्छ ।

तपाईले काम गर्ने मौका पाउनुभयो भने कहाँबाट कसरी काम सुरु गर्नुहुन्छ ?
स्वास्थ्य शिक्षा र संचारलाई पहिलो प्राथमिकता दिनुपर्छ । यि दुई कुरा हरेक व्यक्ति–व्यक्तिमा पु¥याउनुपर्छ । यसको महत्व कतिपयले बुझेकै छैनन् । बच्चालाई के कारणले निमोनिया भएको छ भन्ने नै थाहा छैन कतिपयलाई । यसका लागि स्वास्थ्य शिक्षा र संचार चाहिन्छ । त्यसैले स्वास्थ्य शिक्षा, सुचना तथा संचार मेरो प्राथमिकतामा पर्छ । बाँकी कामको कुरा गर्नुहुन्छ भने त प्रदेश नम्बर ३ को कुन ठाउँमा कति बेडको अस्पताल चाहिन्छ भन्नेसम्मको योजना तयार पारिसकेको छु ।

नेपालमा यस्ता मापदण्ड पूरा हुने गरी किन विकास हुन सकेन ?
नेपालमा २८ वर्षमा २३–२४ जना प्रधानमन्त्री बने । यो भनेको अस्थिर सरकारको प्रमाण हो । अस्थिरताले नै विकास हुन सकेन । अर्को कारण इच्छाशक्ति नै भएन । तेस्रो कारण भनेको पहिलो र दोस्रो कारणबाट निम्तिएको कमजोर योजना हो । राजा महेन्द्रले १ हजार २८ किलोमिटरको पूर्वपश्चिम राजमार्ग बनाउने योजना ल्याएका थिए । त्यसपछि यस्ता योजना नै आएका छैनन् । कमजोर योजनासँगै कमजोर कार्यान्वयन, अनुगमन, मूल्याङ्कन र दण्ड र पुरस्कारको व्यवस्था भएन । चौँथो कारण भनेको शुसाशनको अभावबाट चुलिएको भ्रष्टाचारका कारण नेपालमा विकास हुन नसकेको हो ।

आर्थिक समृद्धिका लागि यि समस्या पूर्ण रुपमा बाधक बनेर देखा परेकै हो त ? अरु केही कारण छैनन् ?
ठूला आयोजनाहरु लामो समयदेखि पूरा हुन सकेका छैनन् । मेलम्ची खानेपानी आयोजना होस् कलङ्की–वाणभञ्ज्याङ सडक अयोजना । उदाहरण धेरै छन् । यसको कारण राजनीतिक नेताप्रति जनताको विश्वास हुन नसक्नु हो । यसमा जनताको दोष छैन । जनताले विश्वास गर्ने गरी नेताले काम गर्न नसकेका हुन् । अरु देशमा प्रधानमन्त्रीले छोरोलाई पानीजहाजमा मजदुरी गर्न पठाउँछ । नेपालमा चाँही नेता वा मन्त्री भइसकेपछि तिनका आफन्त सबै कमाउधन्दामा लाग्छन् । यसले जनताको विश्वास जित्न पनि सकिदैन । देश विकास पनि हुँदैन ।

तपाई आफैँ पनि ३७ सालदेखि विकासका लागि भन्दै राजनीति गर्दै आउनुभएको छ । तपाईले चाँही के भूमिका खेल्नुभयो त ?
हामीले राजनीतिक अस्थिरता झेल्नुपर्यो । हामीले तल्लो तहको हैसियतमा राजनीति गर्ने मौका पायौँ । मैले जानेका कुरा नेतृत्व तहलाई बारम्बार भन्दै आएको छ । तर अस्थिर राजनीतिले गर्दा नै नेतृत्वले पनि सहजीकरण गर्न सकेन । त्यसैले हाम्रो भूमिका भनेको सुझाब दिने नै हो ।

अब तपाईहरुलाई जनताले विश्वास गरेका छन् । जनताले स्थिर सरकार पाउँछन् त ?
जनतालाई स्थिर सरकार दिनुपर्छ । स्थिर सरकार भएन भने विकासका काम पहिलाकै जसरी अलपत्र पर्छन् । त्यसैले म त प्रदेश नम्बर ३ मा पाँच वर्षको स्थिर सरकार बन्न नसक्ने अवस्था आयो भने म सासंद पदबाट राजिनामा दिन्छु ।

स्थिर सरकारका लागि माओवादी र एमालेको एकीकरण हुनुपर्ने होला । पार्टी एकता हुन्छ त ?
माओवादी र एमालेबिच पार्टी एकता भएन भने नेपालमा स्थिरता हुँदैन । फेरी ६–६ महिनामा सरकार ढल्नेवाला छ । वर्षमा ३,४ जना प्रधानमन्त्री बन्न बेर छैन । त्यसैले पार्टी एकता नहुने र स्थिर सरकार बन्ने अवस्था रहेन भने म संसदबाट राजिनामा दिन्छु ।


Loading...
Loading...

धेरैले पढेको

Loading...