किन इन्काउण्टर ? प्रहरीको असफलता कि बहादुरी ?भिडियोसहित

-कमलमणि पोख्रेल
सोमबार प्रहरीले इन्काउन्टर दावी गरेको घटनामा दुई जनाको ज्यान गयो । घटना इन्काउन्टर थियो कि थिएन भन्ने विषयमा प्रश्न उठ्न थालेको छ । प्रहरीले यसअघि गरेका केही इन्काउन्टरहरुमा पनि विरोध र समर्थन भएकै हो । प्रहरीले इन्काउण्टर गरेसँगै एकथरी मान्छेले वावाही गर्छन भने, अर्कोथरीले प्रहरीको गुण्डाराजको संज्ञा दिन्छन् । यसअघिका इन्काउण्टरमा परेकाहरु केहीको प्रोफाइल हेर्ने हो भने उनीहरु राजनीतिक छहारीका गुण्डा छन् । तर, यो पटकको इन्काउण्टरमा भने कुनै नेता वा पार्टीसँग आवद्ध नभएका अपहरणकारी परेका छन् । गएको आइतबार भक्तपुरको काँडाघारीबाट अपहरणमा परेका ११ वर्षीय बालक निशान खड्काको हत्यारालाई प्रहरीले मारिदिएको हो । उनीहरुलाई भाग्ने क्रममा गोली चलाएको प्रहरीले बताएपनि त्यसको स्थानीयले नै खण्डन गरेका छन् । प्रहरीले उनीहरुलाई पक्रिएर जंगलमा लगेर गोली हानेको उनीहरुले बताएका छन् । योसँगै निशान हत्या प्रकरण र इन्काउण्टरको विषय विस्तारै राष्ट्रिय बहसको विषय बनेको छ ।

भक्तपुरको काँडाघारीबाट अपहरणमा परेका ११ वर्षीय बालक निशान खड्काको हत्या भयो । उनलाई अपहरणपछि हत्या गरेर भाग्दै गरेका दुई जना सूर्यविनायकको पाइलटबाबा जंगलमा प्रहरी इन्काउन्टरमा मारिएको प्रहरीले दाबी गर्यो । तर स्थानीयबासीले भने खड्काको हत्यामा संलग्न अजय तामाङ र गोपाल तामाङलाई प्रहरीले उनीहरुको कोठाबाट नै पक्राउ गरेको दाबी गरेका छन् । स्थानीयबासीको भनाई मान्ने हो भने अपहरणकारी र प्रहरीबीच भिडन्त भएको थिएन ।

प्रहरीले पक्राउ गरेर जंगलमा लगेर उनीहरुको हत्या गरेको हुन सक्छ । यो घटनामा मात्रै होइन, विगतमा पनि प्रहरी र अपराधिक समुह तथा गुण्डाहरुसँगबीच भिडन्त नभै प्रहरीले जानजान इन्काउन्टरको नाममा अपराधीको हत्या गरेको आरोप लाग्दै आएको छ । जसका बिषयमा बहालवाल प्रहरी अधिकारी प्रहरीकै पक्षमा बोलेपनि महानगरीय अपराध महाशाखाका पूर्वअनुसन्धान अधिकारीनै इन्काउण्टर गलत तवरले भइरहेको आरोप लगाउँछन् । एउटा स्वतन्त्र छानविन समिति बनाएर घटनाको सत्यतथ्य बाहिर ल्याउनुपर्ने उनीहरुको भनाई छ । राष्ट्रिय अनुसन्धान विभागमा लामो समय अनुसन्धान अधिकृतको रुपमा काम गरेका वसन्तकुमार राई पनि अपराधीलाई गरिने इन्काउन्टर गर्नुभन्दा पक्राउ गरेर अनुसन्धानपछि कानुनी कारबाही गर्नुपर्ने बताउँछन् ।

प्राइम टाइम्स टेलिभिजनसँग कुरा गर्दै राइले एउटा हत्याको बदला अर्को हत्या गरेर समस्या समाधान नहुने बताए ।

इन्काउन्टरको श्रृंखला
इन्काउन्टरको शृङ्खला सुरु भएको थियो २०७१ सालमा दिनेश अधिकारी ‘चरी’ को इन्काउन्टरबाट । चरीभन्दा अघि रमेश बाहुन उर्फ सुजन पौडेलको इन्काउन्टर गर्न खोजिएको थियो । रमेश बाहुनलाई हालका प्रधानमन्त्री केपी शर्मा ओलीले टीका लगाएर तत्कालीन एमालेमा प्रवेश गराएका थिए । रमेशमाथि हत्या, अपहरण, फिरौती लगायतका दर्जनौँ आरोपहरु थिए ।

भारतमा लुकेर बसेका रमेशलाई गोप्य रुपमा नेपाल ल्याइयो । उनलाई इन्काउन्टर गर्ने प्रहरीको तयारी थियो । रमेश बाहुन प्रहरीको नियन्त्रणमा रहेको खबर सार्वजनिक भएपछि प्रहरीलाई अप्ठेरो पर्योह र अन्ततः समातिएको १२ औँ दिनमा प्रहरीले प्रेस रिलिजमार्फत् उनी पक्राउ परेको सार्वजनिक गर्यो । अन्तत उनको इन्काउण्टर गर्ने प्रयास असफल भयो । पहिलो इन्काउन्टर प्रयासमा असफल भएपछि गुन्डाहरुलाई संरक्षण दिने राजनीतिक नेतृत्वलाई चेताउनै पर्ने ध्येयमा लागेको प्रहरी नेतृत्वले दोस्रो टार्गेट यसअघि नै तयार पारिसकेको थियो । त्यसैमध्येका एक थिए दिनेश अधिकारी ‘चरी’ ।

२०७१ साल साउन २१ गते ‘चरी’ एसएसपी पुष्कर कार्की अपराध महाशाखा प्रमुख हुँदा चरी धादिङ र काठमाडौंको सिमाना पर्ने भीमढुङ्गामा मारिएका थिए । मोटरसाइकल चलाइरहेका उनले प्रहरीमाथि गोली हानेको र आत्मरक्षाका लागि प्रहरीले गोली चलाउँदा उनी मारिएको दावी प्रहरीको थियो । तर उनलाई प्रहरीले पहिल्यै हत्या गरेर इन्काउण्टरको नाममा सार्वजनिक गरेको आरोप लाग्यो । एसएसपी सर्वेन्द्र खनाल अपराध महाशाखाका प्रमुख रहँदा कुमार घैँटे इन्काउन्टरमा मारिए । २०७२ साल भदौ ३ गते कुमार श्रेष्ठ ‘घैँटे’लाई काठमाडौंको कपुरधारामा गोली हानिएको थियो ।

८ गोली लागेका घैँटेको उपचारको क्रममा शिक्षण अस्पताल टिचिङमा मृत्यु भएको भनिएको थियो । घैँटेले एक महिनाअघि नै राष्ट्रिय मानवअधिकार आयोगमा आफ्नो हत्या गर्ने नियोजित षड्यन्त्र भइरहेको भन्दै उजुरी दिएका थिए । न त उनको उजुरी सुनुवाई भयो न त ज्यान जोगियो । २०७४ साउन २३ गते ललितपुरको कुसुन्तीमा प्रविण खत्रीको इन्काउन्टर भयो । प्रहरीले लागू औषधका कारोबारी भएको दावी गरिएका खत्री ठूलै कारोबारी नभएर शूरुमा लागुऔषधको सेवन गर्ने र पछि ललिपुरमा सानोतिनो कारोवार गर्दै आएका व्यक्ति थिए । प्रहरीले यस घटनालाई इन्काउन्टर नभएर खत्री आफैंले सुसाइड गरेको दाबी गर्दै आएको छ ।

तर प्रत्यक्षदर्शीको अभावमा यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन । २०७४ असोज २३ गते निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्या भयो । राजधानीमै भएको हाइ प्रोफाइल मर्डर केसले धेरैको ध्यान तान्यो । घटनाको केही दिनमा नै प्रहरीले यो हत्या मनोज पुनले गराएको दावी गर्यो । यही वर्षको फागुनको एक बिहान एकाएक प्रहरीको फरार सूचीमा रहेका मनोज पुनको प्रहरीसित मुठभेडमा मृत्यु भएको सार्वजनिक भयो । मनोजको शरीरमा १२ गोली लागेको थियो ।

अपराधिक व्यक्तिलाई कानुनी कारबाही गर्नुपर्छ भन्नेमा दुई मत छैन । तर राजनीतिक संरक्षणका कारण कारबाही गर्न नसक्ने अवस्था आएपछि प्रहरीले बाध्य भएर इन्काउण्टर गर्ने गरिएको विश्लेषण गरिन्छ ।

नेपाल प्रहरीले पछिल्ला वर्षमा अपराधी वा गुन्डालाई जहाँ देख्यो त्यहीं गोली हानेर मार्ने नीति लिए जस्तो देखिन्छ । नेताको संरक्षणमा कानुनको छिद्र प्रयोग गरेर सुरक्षित रहेका गुन्डालाई कानुनको त्यही कमजोरीमा खेलेर सफाया गर्ने प्रहरीको रणनीति हुन सक्छ । त्यसैले यस विषयमा राजनीतिक दलहरुले नै सोच्नुपर्ने बेला आएको छ ।।

गएको आइतबार भक्तपुरको काँडाघारीबाट अपहरणमा परेका ११ वर्षीय बालक निशान र हत्यामा संलग्न अभियुक्तको पनि हत्या भएसँगै उक्त अपहरण काण्डको प्रमाणहरु पनि नष्ट भएका छन् । यसले उक्त अपहरण घटनाको गहिराई सम्म पुगेर अनुसन्धान नै हुँदैन । अपराधीलाई इन्काउण्टरको नाममा मारिदिएपछि फाइल त बन्द भएको छ । तर, यसलाई लिएर चौतर्फी बहस र विश्लेषण उस्तै चर्को भएका छ । यसअघिका इन्काउण्टर घटनामा पनि यस्ता विषय नउठेका होइनन् ।

राजधानी शान्ति सुरक्षाको हिसावले सबैभन्दा सुरक्षित मानिन्छ । तर, काठमाडौंभित्रै अपहरण, हत्या र बलात्कारका घटना बढ्नुमा जिम्मेवारी लिएर बसेका सुरक्षा अधिकारीमाथि समेत ठूलो प्रश्न उब्जीएको छ । यसले शान्ती सुरक्षा दिन प्रहरी असफल हुदै गरेको कुरा प्रष्ट्याउछ । नेपाल प्रहरीमा लामो समय कार्यरत रहेका पूर्व एआइजी शुभचन्द्र झाको कुरालाई मान्ने हो भने नेपाल प्रहरी अपराधिक घटना नियन्त्रण गर्न सफल भएको छैन ।
प्राइम टाइम्स टेलिभिजनसँग कुरा गर्दै झाले प्रहरीलाई असफल नै भन्न नसकिए पनि प्रभावकारिता कम भएको बताए ।

अर्का पूर्व प्रहरी अधिकृत किवाङग हाङ्ग राई पनि प्राइम टाइम्स टेलिभिजनसँग कुरा गर्दै झाको कुरामा सहमति हुँदै नेपाल प्रहरीको अनुसन्धान फितलो हुने गरेको बताउँछन् । अपराधीलाई इन्काउन्टरको नाममा हत्या गर्नुको साँटा कानुनी दायरामा ल्याएर कारबाही गर्नुपर्नेमा राईको जोड छ ।


पछिल्लो समय इन्काउण्टर कल्चर नेपालमा मात्र होइन छिमेकी देश भारतमा पनि प्रचलनमा छ । उच्च राजनीतिक निकटता रहेका गुण्डा वा आपराधिक व्यक्तिलाई कानुनी तवरमा कार्वाही गर्न नसक्ने भएपछि प्रहरीले इन्काउण्टर गर्ने गरेको पाइन्छ । नेपालकै इतिहास हेर्दा पनि त्यसमा थप आधार मिल्छ । तर, हत्या, अपहरण, बलात्कारजस्ता विषयमा बिना कानुनी अनुसन्धान अभियुक्तलाई मारिदिने हो भने संविधान, कानून र न्यायालयको के अर्थ ? दोषीहरुले पुर्याएको सामाजिक, मानवीय क्षति हेर्दा उनीहरुमाथिको हदैसम्मको कार्वाही पनि जायज जस्तो लाग्छ । बलात्कार, अपहरणजस्ता अक्षम्य अपराधमा संलग्न भएका भनिएकाहरुलाई मार्दा तत्कालिन रुपमा चौतर्फी प्रशंसा भएपनि यो प्रवृत्ति मौलाउँदै जाँदा कानुन र विधिको शासनमाथि नै धावा हुने हो की भन्ने विषयचाहीँ सबैले सोच्न जरुरी छ ।


Loading...
Loading...

धेरैले पढेको

Loading...