नाडा शो हेर्न आउने दर्शकले निराश भएर फर्कनु पर्दैन

post-advert

भोली भदौं २६ देखि ३१ गतेसम्म नाडा अटोमाबाइल्स एसोसिएन अफ नेपाल (नाडा) ले अटो मेला आयोजना गर्दैछ । नेपालमा हुने हरेक खालका प्रदर्शनीहरूमा कारोबारका हिसाबले प्रत्येक बर्ष हुने यो मेला मध्ये यो सबैभन्दा ठूलो हो । गत वर्षको मेलामा मात्रै झन्डै साढे तीन अर्ब रुपैयाँको कारोबार भएको थियो । यस मेलालाई गाडीहरुको ’कुम्भ मेला’ को रुपमा समेत लिइन्छ । मेलाकै विषयवस्तुमा केन्द्रित रहेर नाडा अटोमोवाइल एशोसिएशनका कार्यबाहक अध्यक्ष कृष्ण प्रसाद दुलालसँग कुराकानी गरेका छौँ । उनीसँगको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।
कृष्ण प्रसाद दुलाल, अध्यक्ष, नाडा अटोमोवाइल एशोसिएशन

नाडा अटो शो भोली देखि सुरू हुँदैछ । तयारी कसरी गर्दै हुनुहुन्छ ?
नाडा शोको तयारी भव्य रूपमा भइरहेको छ । स्टलहरू बनिरहेका छन् । अर्थमन्त्री युवराज खतिवडाले उद्घाटन गर्ने कार्यक्रम छ । हामीले निकै मेहेनत गरेर नाडा शोको तयारी गरेका छौं । नाडा शो अवलोकन गर्दा केही न केही नयाँ कुरा जान्न सकिन्छ । हामी अवलोकलकर्तालाई जानकारी दिन चाहन्छौं र उहाँहरूको सुझाव लिन चाहन्छौं । नाडा शो हेर्न आउने दर्शकले निराश भएर फर्कनु पर्दैन ।

यो वर्षको विशेष आकर्षण के हुन्छ?
यो वर्ष विद्युतीय सवारी साधन प्रमुख आर्कषण हुन्छन् । नाडा शो जहिले पनि नयाँ नै हुन्छ किन भने यहाँ नयाँ गाडी लन्च हुन्छ। डिस्काउन्ट हुन्छ । नयाँ अफर तथा स्किम हुन्छ । त्यसैले प्रत्येक वर्षको नाडा अटो शो नयाँ हुन्छ नै । यो बर्ष सार्वजनिक भएका बिभिन्न कम्पनीहरुको नयाँ मोडलको गाडीहरु पनि मेलामा हुन्छन ।

तपाईहरुले विदेशी गाडीको मात्रै प्रचार गर्ने र बेच्ने गर्दै आउनुभएको छ । नेपालमै गाडी उत्पादन गर्ने सम्भावना कस्तो छ ?
नेपालमा नै गाडी उत्पादन गर्ने योजनामा छौँ । मोटरसाइकल उत्पादन गर्ने काम सुरु भईसकेको छ । दशवटा भन्दा बढी लुब्रिकेंट कम्पनीहरु नेपालमा छन् । टायर पनि उत्पादन सुरु भईसकेको छ । ब्याट्रीको उद्योग पनि सुरु भईसकेको छ । हामीले हाम्रो तर्फबाट गर्ने कामहरु गरिरहेका छौँ तर अब नेपालमा नै गाडी उत्पादन गर्ने बिषयमा सरकार गम्भीर बन्न सकेको छैन । उद्योग खोल्ने बातावरण अहिले नै बनिसकेको छैन ।

सरकारले चाहिं तपाईंहरूलाई के सहयोग गर्यो भने नेपालमै गाडी उत्पादन गर्न सकिन्छ ?
सरकारले ल्याएको नीति तथा कार्यक्रममा उद्योगमा लगानी बढाउने भनिएको छ तर, त्यसअनुसार नीति निर्माण गर्न सकको छैन । बैंक व्यवस्था गर्न सकको छैन । देशमा तरलताको अभाव भइरहन्छ । बैंकलाई परेको असरले उद्योगीलाई पनि प्रभव पार्दछ ।

मेलामा के कस्ता स्टलहरुको हुन्छन् ?
६ दिनसम्म चल्ने मेलामा ७१ वटा संस्थाहरूको साना ठूला गरि लगभग १३५ वटा ब्लक तथा स्टलहरू छन् । प्रदर्शनीमा १९ वटा ब्राण्डका ४–पाङग्रे, २० वटा ब्राण्डका २–पाङग्रे सवारी साधनहरू छन् । ठाउँको अभाबले गर्दा हेभी कमर्सियल गाडीहरु यस बर्ष प्रदशनीमा राखेका छैनौँ ।

सामान्य बेला भन्दा मेलामा गाडी किन्नेले कति प्रतिशतसम्म छुट पाउँछन ?
मेलामा सबै कम्पनीले सामान्य बेला भन्दा बढी छुट दिन्छन् । बिभिन्न स्किमका प्याकेज पनि हुनेछन् । सामान्य बेला भन्दा मेलामा धेरै नै छुट र सेवा सुविधा हुनेछ ।

नाडा अटो शो सूचना दिने भन्दा पनि धेरै व्यापारमा केन्द्रीत भयो भन्ने गुनासो आउँछ नि ?
नाडा अटो शोको मुल उद्देश्य व्यापार मात्र नभइ सूचना दिने, रिसर्च गर्ने, जनचेतनाको कार्यक्रम गर्ने पनि हो । योसँगै हाम्रो व्यवसाय प्रवर्द्धन हुनेमा पनि दुई मत छैन । व्यवसायको प्रवर्द्धन भएपछि स्वतस् देश विकास हुन्छ ।

यो अटो शोमा कति अवलोकनकर्ता आउँछन् भन्ने आशा गर्नुभएको छ ?
हामीले ६० हजार भन्दा धेरै दर्शकले अवलोकन गर्नुहुन्छ भन्ने आशा गरेका छौं । धेरैजसो अवलोकनकर्ता अटोमोबाइलको ज्ञान लिनको लागि आउनु हुन्छ । कतिपय ग्राहक अटो शोमा छुट पाइन्छ भनेर आउनु हुन्छ । मेचीदेखि महाकालीसम्मका ग्राहकले गाडी किन्दा छुट हुने भएकोले नाडा शोमार्फत् बुकिङ गर्ने गरी आउनु हुन्छ ।

तपाईं त लुब्रिकेन्ट्स उद्योगी पनि भएको नाताले यसको बजारको अवस्था कस्तो छ ?
नेपाली लुब्रिकेन्ट्स उद्योगहरूलाई अलिकति प्रोत्साहित गर्ने हो भने कुल बजारको ८० प्रतिशत हिस्सा नेपाली लुब्रिकेन्ट्सले लिन्छ । त्यति मात्र भयो भने वार्षिक २० अर्ब रुपैयाँभन्दा बढीको बजार नेपाली उत्पादनले लिन्छ । अहिले पनि त्यसको बजार नेपाली उत्पादनले ४५ प्रतिशतको हाराहारीमा लिइरहेको छ । अहिले विद्युती गाडीले ठाउँ लिंदै गएको छ । त्यसले लुब्रिकेन्टको मागमा केहि कमि आउछ कि भन्ने लागेको छ ।

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

धेरैले पढेको

Loading...