Logo

निर्मला पन्तका बुवाले रुँदै भने : ‘छोरीले न्याय नपाउने हो भने हामीलाई गोली ठोकिदिए हुन्छ, प्रधानमन्त्रीको अभिव्यक्तिले बम दिदीबहिनीको मनोबल बढायो’



काठमाडौं, २८ भदौ । बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका आमा–बुवाले आफ्नी छोरीको वास्तविक हत्यारा पत्ता लगाई दोषीलाई कडाभन्दा कडा कानुनी कारबाही नगरेसम्म आफूहरु गृहजिल्ला नफर्किने बताएका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै बुवा यज्ञराज पन्तले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिले बम दिदीबहिनीको मनोबल बढाएको गुनासो पोखे ।

https://www.youtube.com/watch?v=gGWmjup0Xt0

उनले भने,‘उहाँको अभिव्यक्तिले बम दिदीबहिनीको मनोबल बढाउने काम भयो । तर, हजारौं छोरीहरुको मनोबल गिराउने काम भएको छ । प्रहरीले प्रमाण किन नष्ट गर्यो ? म नेपाली नागरिक हो कि होईन ? निर्मलाको हत्याको दोषीलाई कारबाही गर्न माग गर्दै आन्दोलन गर्दा प्रहरीले उल्टै गोली चलायो । गोली चलाउने प्रहरीलाई कडाभन्दा कडा कानुनी कारबाही गर्नुपर्छ ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै बुवा यज्ञराजले आफूहरुले प्रधानमन्त्रीबाटै सौतेलो व्यवहार खेप्नुपरेको गुनासो पोखे । उनले न्याय पाउनको लागि नै आफूहरु अधिकारकर्मीसहित काठमाडौँ आइपुगेको स्पष्ट पारे ।

छोरी निर्मलाको हत्या भएको घट्नाबारे सुनाउने क्रममा बुवा यज्ञराज क्लबको साक्षात्कारमै भावविह्वल भए । छोरीको साइकल भेटिएपछि उसकी साथीकी दिदी बबिता बमले साइकल भेटिएको भए लाश पनि त्यतै होला भनेको प्रसंग सुनाउँदै गर्दा पत्रकार सम्मेलनमै बुवा यज्ञराज रोए ।

रुमालले आँसु पुछ्दै उनले भने,‘उसलाई कसरी थाहा भयो ? त्यति प्रमाण मिल्दामिल्दै पनि सरकारले उल्टै त्यसलाई संरक्षण गरिरहेको छ। हामीलाई त प्रहरीमाथि नै शंका लागेको छ । हत्या भएको घट्नास्थललाई सिल गरिएन। प्रहरीले वास्तविक अनुशन्धान गर्ने काम गरेन । दिलिप सिंह विष्ट समातेर झुठो अपराधी खडा गर्ने काम गर्यो । मलाई विष्टविरुद्ध किटानी दिन जबरजस्ती गरिएको थियो । तर, मैले मानिन।’

प्रहरीले छोरी हराएकै दिन सहयोग गरिदिएको भए आफ्नी छोरीलाई जिवितै भेट्न सकिने थियो भन्ने उनको विश्वास थियो ।

बास्तविक अपराधीलाई जोगाउन चक्र बडू र दिलीपसिंह विष्टलाई प्रहरीले फसाउन खोजेको उनको आरोप छ । उनले भने,‘सुरुमा चक्र बडूलाई समातेर उसैविरुद्ध किटाणी जाहेरी दिन भनियो, त्यसपछि दिलीपसिंहलाई मुख्य अभियुक्त भन्दै सार्वजनिक गरेर हामीमाथि दबाब दिईयो । तर, हामीलाई विश्वास नै थिएन, उनीहरुबाट यस्तो काम हुने कुरामा । रोशनी र बबिता बम बस्ने घरबाट अनुसन्धान थालेर तत्कालीन् एसपी डिल्लीराज विष्टसहितमाथि छानबिन गर्ने हो भने सबै कुरा बाहिर निस्किन्छ ।’

प्रधानमन्त्रीले निर्मला हत्याकाण्डको छानबिन गर्न नदिएर सरकारलाई अवरोध गरेको भनी सञ्चारमाध्यममा दिएको अभिव्यक्तिले आफूहरुको चित्त दुःखेको उनको गुनासो छ । उनले थपे,‘प्रधामन्त्रीले नै यसरी झुटो बोल्नुहुन्छ भन्ने लागेको थिएन, प्रधानमन्त्रीबाटै हामीले सौतेले व्यवहार भोग्नुप¥यो । हामीले न्याय पाउनै नहुने हो ? हामी पनि यही देशका नागरिक हौँ त ।’



प्रतिक्रिया दिनुहोस्