अनेरास्ववियुका महासचिवले भने–नविना लामाले सांसद पदबाट राजिनामा दिनुपर्छ

असोज २०, काठमाण्डौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठनले निर्मला पन्त हत्या प्रकरणमा प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालको बर्खास्ती माग गर्दै गृहमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएपछि विवाद उत्पन्न भएको छ ।

अनेरास्ववियुका महासचिव ऐन महरले नेपाल प्रहरीका प्रमुख सर्वेन्द्र खनालको राजिनामा नमागिएको स्पष्ट पारेका छन् ।

बिहीबार अनेरास्ववियु अध्यक्ष नविना लामा र क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ नेतृत्वको टोलीले गृहमन्त्रीलाई भेटेर आईजिपीलाई बर्खास्त गर्न माग गरेको थियो ।

“संस्थागत र औपचारिक निर्णय भएको छैन । जसले राजिनामा माग्नुभयो, त्यो उहाँहरुको व्यक्तिगत माग हुन सक्छ ।” महरले भने ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै अनेरास्ववियुमा पनि विभिन्न निकाय रहेको भन्दै उनले खनालको बर्खास्तीको मागको विषयमा कुनै पनि निकायमा छलफल नगरिएको स्पष्ट पारे ।

लामा र तामाङको मागप्रति आपत्ति जनाउँदै महरले महत्वपूर्ण निर्णय गर्दा सल्लाह गर्नुपर्नेमा त्यसो नगरेर हतार गरेको आरोप लगाए ।

“किन हतारिनुभयो, किन यस्तो निर्णय गर्नुभयो, म जान्दिन । तर यो विषयमा पहिला संगठनमा छलफल चलाउनुपथ्र्यो ।” महरले भने ।

आफ्नै पार्टीको सरकार भएका बेला प्रहरी प्रमुखको राजिनामा माग्नु लज्जास्पद र अनेरास्ववियुको हैसियतबाहिरको कुरा भएको महरले बताए ।

लामा र तामाङको कदमले सरकारलाई कमजोर बनाएको उनले गुनासो गरे । सरकारविरुद्ध षडयन्त्र र घेराबन्दी भइरहेका बेला सत्तारुढ दलकै साथीहरुले असहयोग गरेको भन्दै महरले आपत्ति प्रकट गरे ।

“नेविसंघ र तरुण दलका साथीहरु सडकमा गएर सरकारविरुद्ध नाराबाजी गर्ने, नेकपाकै साथीहरु गृहमन्त्रीकोमा गएर प्रहरी प्रमुखको राजिनामा माग्नु स्विकार्य हुन सक्दैन ।” उनले भने ।

नैतिकताका आधारमा कुरा गर्ने हो भने नविना लामाले पनि राजिनामा दिनुपर्ने महरको तर्क छ ।

“राजिनामा बेतुकको कुरा हो । नैतिकताका आधारमा आइजिपीले राजिनामा दिनुपर्ने भए गृहमन्त्री र प्रधानमन्त्रीले दिनुपर्दैन ? उहाँ पनि सरकार चलाइरहेको पार्टीको सांसद हो । उहाँले चाँही जिम्मेवारी लिनुपर्दैन ?” महरले प्रश्न गरे ।

निर्मला पन्त हत्या प्रकरणमा प्रहरीको अनुसन्धानमा कमजोरी भएको महरले बताए । पन्तलाई न्याय दिने कुरामा दुईमत नभएको र अनुसन्धानमा त्रुटी भएको कुरा सत्य भएको महरको भनाई छ ।

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...